
महेश कठायत
वीरगंज ।
सरोकारवाला निकायहरुले नेपाल भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र राजस्व चुहावट रोक्नका लागि सबै निकायबीच सहकार्यको खाँचो औल्याएका छन् । शुक्रबार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अपराध नियन्त्रण र राजश्व चुहावट रोक्न सरोकारवाला निकायबीच सहकार्यको खाँचो औल्याएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले राजश्व चुहावट रोक्न र सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण भएकाले एक–अर्कासँग सहकार्यको आवश्यकता रहेको बताए । राजश्व अभिबृद्धिको सवालमा अर्थ मन्त्रालय र गृहमन्त्रालय धेरै संम्वेदनशील रहेको उल्लेख गर्दै उनले नीतिगत सुधारका लागि आफूहरुले सरकारलाई केही सुझाव समेत दिएको जानकारी समेत गराए ।
तस्करसँग प्रहरी कर्मचारीकै संलग्नता देखिने गरेको भन्ने सहभागीहरुले गरेको आशंकाको जवाफमा महानिरीक्षक अर्यालले अपराधीसँग संगठनमा आबद्ध कुनै कर्मचारी संलग्न देखिए कारबाही गरिने स्पष्ट पारे । सीमा क्षेत्र सुरक्षाको विषयमा सशस्त्र प्रहरीलाई बढी जिम्मेवारी भएको भन्दै उनले विगतमा भएका कमिकमजोरीलाई सुधार गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र प्रहरीले पछिल्लो समय सीमा क्षेत्रका जनताका लागि गर्दै आएको कामहरुका बारेमा समेत जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले विगतदेखि नै निरन्तर रूपमा विभिन्न रणनीति अप्नाएर काम गरिएको बताए । सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरीले स्थानीय जनतासँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । त्यस्तै, कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र साहले राजश्व चुहावट कम गर्न सके राजश्व संकलनमा सुधार हुने उल्लेख गर्दै त्यसका लागि सीमा क्षेत्रका जनता र उद्योगी तथा व्यापारीको सहयोगी भूमिका अपेक्षा गरे ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले देशभित्रका उद्योगहरु फस्टाउने वातावरण बनाउनका लागि अवैध कारोबार र सीमामा हुने अपराध नियन्त्रणमा आफू कटिबद्ध रहेको बताए । आफ्नो कार्यकालमा नतिजा देखिने गरी कामहरु गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सीमा क्षेत्रमा हुने मालसामान चोरी र मानिस आवतजावतको विषयमा विशेष ध्यानदिनुपर्ने सुझाव दिए ।
अन्तरक्रिया कार्यक्रममा मधेशदृष्टि राष्ट्रिय दैनिक, रेडियो वीरगंज एवम् टिभी वीरगंजका अध्यक्ष धुव्र साहले सीमा नाकामा तस्करीको सामान मात्रै बरामद हुने तर तस्करहरु नसमात्ने काम किन भइरहेको छ भन्दै प्रश्न उठाए । वीरगंजमा करोडौको लगानी गर्दा पनि व्यवसायीको व्यापार बोहनी हुन सक्ने अवस्था नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । नेपालको भारतसँग रोटीबेटीको सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष साहले सर्वसाधारणको थोरै सामान बरामद गर्ने प्रहरीले तस्करहरुलाई समात्न नसकेकोमा प्रश्न उठाए । वीरगंज भन्दा सस्तो सामान नारायणगढमा पाइने अवस्था किन आयो ? त्यसतर्फ पनि सरोकारवाला निकायले ध्यानदिनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा पत्रकार केसी लामिछानेले एउटा पोकामा बाधेर ल्याएको सामानलाई तस्करी हो भनेर ठान्ने प्रहरीले ‘नेपाली ढाका टोपी लगाएर ट्रकका ट्रक सामान पास गर्नेलाई’ किन खोजिदैन भन्दै प्रश्न गरे । साथै, अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी र सञ्चारकर्मीले राजश्व चुहावट र अपराध नियन्त्रणसम्बन्धी सुझावहरु राखेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष अनिल अग्रवाल, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, भन्सार कार्यालय वीरगंजका प्रमुख भन्सार अधिकृत केशवराज वली, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, पर्सा प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिरधर घिमिरे, बारा प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्ले, विभिन्न उद्योगी, व्यवसायी र सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।






