
मधेशदृष्टि
बारा ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बारामा नेता बढी र विकास कम भएको बताएका छन् । उच्चपदमा बाराका नेता पुगे पनि जिल्लाको विकासमा ध्यान नदिइएको उनले बताए । बारा–काठमाडौँ आमसम्पर्क मञ्चको काठमाडौँस्थित शान्तिनगरमा आयोजित भेलामा अध्यक्ष साहले ऐतिहासिक जिल्ला बाराको विकासका लागि स्थानीय नेताले ध्यान दिनुपर्ने बताए । ‘तिरहुत राज्यको राजधानी सिम्रौनगढ, विश्वप्रसिद्ध गढीमाई, कलैयाको धार्मिकस्थलको जुन रुपमा विकास हुनुपर्ने हो, त्यो हुन सकेन,’ अध्यक्ष साहले भने, ‘काठमाडौँ–तराई मधेश फास्ट ट्र्याक, बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिन सकिरहेको छैन । यी र यस्ता विकासका योजना समयमै पूरा गर्न र विकासका लागि बाराली नेता एकजुट भएर लाग्नुपर्ने भए पनि त्यसो हुन नसक्नु दुखद छ ।’
‘बाराबाटै उपराष्ट्रपति, उपप्रधानमन्त्री, मधेशको मुख्यमन्त्री, संघीय सरकारमा मन्त्री, सांसदलगायतका उच्चपदमा नेता पुगेका छन् । बाराको शिक्षा, स्वास्थ्य, यातायात, उद्योग, ऐतिहासिकस्थल, पर्यटकीय क्षेत्र, धार्मिकस्थललगायतको क्षेत्रको विकासले गति किन लिइरहेको छैन ?’ साहले प्रश्न गरे । जिल्लाको विकासका लागि बाराली जनता ढिला नगरी आजपामा गोलबन्द हुनुको विकल्प नभएको उनको तर्क थियो ।
पूर्वपश्चिम हुलाकी राजमार्ग, महेन्द्र राजमार्गलगायतका राजमार्ग अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्नुपर्ने र त्यसका लागि बाराली जनताले दबाब सृजना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराली जनता संघर्षमा उत्रिनुपर्ने बताउँदै उनले हुलाकी राजमार्गलाई चारलेनको बनाउँन दबाब दिनुपर्ने बताए । यी आयोजना सम्पन्न भए बाराको विकास अगाडि बढने उनले बताए ।
देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रविरुद्ध आजपाद्वारा चैत २४ गते काठमाडौँमा हुने जनप्रदर्शनमा सहभागी हुन अपिल गर्दै उनले दलीय भ्रष्टाचारविरुद्ध उत्रिन आग्रह गरे । देशमा व्यापकरुपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै उनले दलीय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।
आजपा नेता रामाशंकर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा वरिष्ठ उपाध्यक्ष एवम् संविधान सभाका सदस्य तिलक थापा मगर, उपाध्यक्ष रिता साह, महासचिव अमर साह, उपमहासचिव चन्द्रभूषण साह, सचिवद्वय उमेश कुशवाहा, बाबुराम कौशिक, स्थायी कमिटी सदस्य युवा नेता विजय यादव, मौलापुर नगरपालिकाका मेयर रिना साह, उद्योगी इच्छाबहादुर वाग्लेलगायतको सहभगिता थियो ।






