
एसपी गौरब
सर्लाही ।
सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर ३ मा आइतबार भएको ट्याक्टर दुर्घटनामा ज्यान गएका चालकका आफन्तले शव बुझेका छैनन् । प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टरका धनी बसबरिया गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय सञ्जीव कुमार यादवले आफ्ना मान्छेलाई जबरजस्ती काममा लगेका कारण दुर्घटना भएको भन्दै चालक दीपेन्द्र माझी(पुजेरी)का आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन नमानेको आफन्तको भनाइ छ । माझीका आफन्तहरुले न्याय नपाउँदा सम्म शव नबुझ्ने बताएका छन् ।
आइतबार साँझ करिब ७ बजे खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका वडा नम्बर ३ कोठिहारस्थित नहरमा ट्याक्टर पल्टिदा ट्याक्टरका चालक बसबरिया गाउँपालिका वडा नम्बर ३ का अन्दाजी २५ वर्षीय दीपेन्द्र माझी(पुजेरी)को घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको थियो । ट्याक्टर धनी बसबरिया गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय यादव पनि ट्याक्टरमा सवार रहेका भएपनि उनी सकुशल रहेका थिए ।
विपन्न परिवारका माझीको ज्यान गएपछि आफूहरुको जीउने आधार नै गुमेको बताउँदै पीडित परिवारले ट्याक्टर धनी यादवका विरुद्धमा ईलाका प्रहरी कार्यालय बरथवामा जाहेरी लिएर गएका भएपनि प्रहरीले जाहेरी लिन नमानेको बताएका छन् । आफूहरुले न्यान नपाउँदा सम्म शव नबुझ्ने बताएपछि दुई दिनदेखि शव प्रादेशिक अस्पताल मलंगवा सर्लाहीको शव गृहमा रहेको र पोष्टमार्टमा पनि आफूहरु नगएको मृतक माझीका श्रीमती ललिता देवी माझीले बताइन् । आफ्ना श्रीमान घरमा बसीरहेको अवस्थामा पनि जबरजस्ती ट्याक्टर धनी यादवले आफ्ना मान्छेलाई ट्याक्टर चलाउन लगेको उनको भनाइ छ ।






