मधेशकेन्द्रित दलले मधेशी हितमा काम गरेनन्ः लिङ्देन

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश केन्द्रित दलहरु पटकपटक मधेश सरकार र संघीय सरकारमा मन्त्री बन्दा उनीहरुले मधेशी जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाएका छन् । राप्रपाले सञ्चालन गरेको मधेशका कुरा सुन्ने आफनो कुरा भन्ने अभियानक्रममा जनकपुरमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मधेश केन्द्रित दलहरुले मधेशी जनताको हितमा कहिल्यै काम नगरेका कारण आफ्नो पार्टीप्रति जनताको विश्वास बढेको बताए । उनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक नेपाली जनताको भरोसा अर्को कुनै राजनीतिक शक्ति छैन, सबै राजनीतिक शक्तिहरु जनताको अग्निपरीक्षामा असफल भइसकेका छन ।’

लिङ्देनले गएको १५ वर्ष प्रधानमन्त्रीबाहेक मधेशकेन्द्रित दलहरु पटकपटक मन्त्री बने पनि उनीहरु मधेशी जनताका हितमा काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘गएको १५ वर्षमा मधेशका नाममा राजनीति गर्ने दलहरुबाट झण्डै ५० जनाले मन्त्री हुने मौका पाए, मधेशले प्रधानमन्त्रीबाहेक सबै मन्त्रालय प्राप्त गरे, मधेशका लागि करिब २ सय जनाले सहादत प्राप्त गरे तर आज मधेशको अवस्था कस्तो छ, सबैलाई थाहा छ । त्यसकारण राप्रपा जनताको भरपदो वैकल्पिक शक्ति बनेको छ ।’

उनले आउने निर्वाचनमा पार्टीलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले क्षेत्र र जातिका कुरा गरेर देश अगाडि जान नसक्ने बताए । उनले मधेशका जनताले समेत यस्ता शक्तिले मधेशको समस्या समाधान गर्छ भन्ने विश्वास नरहेको बताउँदै जनताको विश्वास जित्न पार्टी नेतालाई आग्रह गरे । लिङ्देनले पार्टीमा आउनेलाई सम्मानपूर्वक ल्याएर उनीहरुलाई पार्टीमा मानमर्यादा दिइनुपर्ने आवश्यकता रहेको बताउदै यसका लागि आआफ्नो तहका नेतालाई लाग्नसमेत आग्रह गरे ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टी मधेशसहित सबै ठाउँमा फरक ढंगले आएको बताउदै फरक ढंगले काम गर्न चाहेको बताए । उनले यसको लागि जनताको साथ र सहयोग आवश्यक रहेको बताउँदै जनताको विश्वास जित्न केन्द्रित रहन आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले मधेश, पहाड, हिमाल सबै मिलेर नेपाल बनेका कारण नेपालको हितको लागि आफ्नो पार्टीले उठाएको एजेण्डामा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको बताए । अब सबै एकजुट भएर यो अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाइ थियो । यसका लागि राजसंस्थासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनु पर्ने लिङ्देनले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button