
मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । काठमाडौंँको सिभिल अस्पतालमा उपचारको क्रममा ६० वर्षको उमेरमा अन्सारीको आज (आइतबार) बिहान निधन भएको हो ।
जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनाएको थियो । यसअघि जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई सांसद बनाइएको थियो ।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । २०६४ सालमा भएको मधेश विद्रोहमा सहभागी भएकी अन्सारी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबाट २०६४, २०७० र २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा थिइन् । उनी मधेशी जनअधिकार फोरमको केन्द्रीय सदस्य हुँदै उनी हाल जनता समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य थिइन् ।
यसैबीच, अन्सारीको निधनमा प्रतिनिधिसभाको आइतबारको बैठकबाट शोक प्रस्ताव पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भने, ‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्य विक्रम संवत २०४६ सालको आन्दोलनबाट राजनीतिक यात्र शुरुवात गर्नुभएकी मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’
अन्सारीको निधनपछि सिभिल अस्पतालमा पुगेर सभामुख देवराज घिमिरेले परिवारजनमा शोक व्यक्त गरेका छन् । अन्सारीको निधनमा सांसदहरूले एक मिनेट मौनधारण पनि गरेका थिए । शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।






