शासनमा व्यक्तिको परिवर्तन मात्र गणतन्त्र होइन : राष्ट्रपति

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र प्राप्त गर्नुलाई राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि भएको बताएका छन् । शनिबार मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि सहीद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै रहेको बताए । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र नभएको भन्दै उनले उनले भने, ‘यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो ।’

नेपाली जनताको ठूलो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको बताए । नेपालको संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयआर्जनका अवसरबाट वञ्चित नगरिने लक्ष्य लिएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले प्रशासनिकरूपमा राज्यको पुनः संरचनासँगै तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगेको र अब राज्यको चरित्रको पुनः संरचना हुन र केन्द्रीकृत अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँंकी रहेको बताए । संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन चाँडो निर्माण गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आफूले आग्रह गरेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button