मधेशमा ५ वर्षमा ३७५ बलात्कारका घटना

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशमा पछिल्लो समय मानवअधिकार हनन् एवम् ज्यादतिका घटना बढोत्तरी भएको छ । यसको सिकार सबैभन्दा बढी महिला भइरहेका छन् । घरेलु हिंसाको सिकार बन्दै आएका मधेशका महिला पछिल्ला समय बलात्कारको सिकारसमेत हुन थालेका छन् । ग्रामीण भेगमा नाबालिका बढी बलात्कारको सिकार बन्दै आएका छन् । ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा हंसपुर नगरपालिका सोनिगामा घर भई सबैला नगरपालिका–९ कुसमाहाका ३१ वर्षीय विनोदकुमार राय र सोही ठाउँका २४ वर्षीय रोशनकुमार मुखियालाई मंसिर २८ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गर्यो । पीडित बालिका मंसिर २७ गते हराएकी थिइन् । उनको २८ गते सतोखर पोखरीनजिकै जमेको खाल्डोमा नग्न अवस्थामा शव फेला परेको थियो । यो घटनाले समेत उमेर पुगेका महिला मात्रै बलात्कारको सिकार भइरहेका छैनन्, नाबालिका पनि सिकार बन्दै आएको देखाएको छ ।

आफ्नै नातागोतासँग मधेशका महिला बढी असुरक्षित बन्दै आएका छन् । बलात्कारको घटना अहिले निकै बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकले देखाएको छ । मधेश प्रदेशमा पाँच वर्षमा ३ सय ७५ वटा बलात्कारका घटना भएको पाइएको छ । मानवअधिकार क्षेत्रको घटनाको अभिलेखिकरण गरेर प्रत्येक वर्ष पुस्तिका प्रकाशित गर्दै आएको इन्सेकको २०२० देखि २४ सम्मको तथ्यांकअनुसार मधेश प्रदेशमा ३ सय ७५ महिला बलात्कारको घटनाबाट पीडित भएको जनाइएको छ । सप्तरीमा ६३, सिरहामा ९१, धनुषामा ५१, महोत्तरीमा ३०, सर्लाहीमा १२, रौतहटमा ३७ , बारामा ३८ र पर्सामा ५३ महिला पीडित भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।

इन्सेक मधेश प्रदेश प्रमुख राजु पासमानले प्रविधिको प्रयोग बढेका कारण चिनजान गर्न सजिलो भएको र यसले महिलाहरु बढी हिंसाको सिकार हुने गरेको बताए । उनले विशेष गरेर आफन्त र नातेदारमाथि महिलाको बढी विश्वास हुने गरेको र उनीहरुको अपरािधक चिन्तनका कारण महिला बढी बलात्कारको सिकार हुने गरेका छन् । पसमानले भने, ‘मोबाइलमा सामाजिक सञ्जालको पहुँच बढेको र त्यसले महिलालाई चिनजान गर्न सहज बनाएको छ, तर आपराधिक चिन्तन हुनेहरुले महिलालाई सिकार बनाउने गरेका छन् ।’

मधेशमा कलिलै उमेरमा प्रेम र पछि अभिभावकको दबाबमा समेत बलात्कारको मुद्दा दर्ता गराउने गरेका कारणसमेत घटना बढेको देखिएको छ । तर अधिकारकर्मीहरु भने त्यो तथ्यांक थोरै रहेको दाबी गर्छन् । कानुनी जटिलता र सामाजिक दबाबका कारण कतिपय घटना गाउँमै मिलापत्रमा टुंगिने भएकाले थोरै मात्र घटना बाहिरिने गरेको छ । अधिकारकर्मी अभिवक्ता रेखा झाले ग्रामीण भेगमा बलात्कारका घटना बढी हुने गरेको तर कतिपय अवस्थामा महिलाले मुद्दा दर्ता गराउनसमेत आनाकानी गर्ने हुनाले समस्या हुने गरेको बताइन् । उनले भनिन्, ‘कतिपय घटना मेडिकल टेष्टमा प्रमाणितसमेत हुने अवस्था आउँदा पनि महिलाले सामाजिक दबाबमा मुद्दा दर्ता नगर्ने बरु सामाजिक रुपमा नै मिल्ने गरेका कारणसमेत बाहिर आएको तथ्यांक भन्दा घटना बढी हुने गरेको छ ।’

नेपालको मुलुकी अपराध संहिता–२०७४ मा बलात्कार कसुरबारे उजुरी हदम्याद तोकिएको छ । कानुनअनुसार हाडनाता करणीअन्तर्गतको कसुरमा मात्रै पीडितले कुनै पनि बेला उजुरी दर्ता गर्न पाउँछ । त्यसबाहेक अन्य सबै किसिमका यौनजन्य हिंसा र दुव्र्यवहारका हकमा अपराध भएको मितिले एक वर्षभित्र र पशुकरणीजस्ता अन्य कसुर भएको विषयमा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्दैन । थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्तिविरुद्ध अपराध भएको अवस्थामा थुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुरी लाग्दैन ।
‘पीडितले आफूलाई यौनजन्य हिंसा वा दुव्र्यवहार भएको रहेछ भन्ने थाहा पाएको बेला उजुरी गर्न पाउनुपर्छ भन्ने माग बढ्दो छ । किनकी जोकोहीविरुद्ध हुने यौन हिंसा मानसिक र भावनात्मक अवस्थासँग सम्बन्धित हुन्छ,’ अधिकारकर्मी झाले भनिन् । उनले कानुनी जटिलताका कारणसमेत पीडितले कानुनी उपचार खोज्न नचाहेको बताइन् ।

बलात्कारका घटना
सप्तरीः ६३
सिरहाः ९१
धनुषाः ५१
महोत्तरीः ३०
सर्लाहीः १२
रौतहटः ३७
बाराः ३८
पर्साः ५३
स्रोतः इन्सेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button