
मधेशदृष्टि
जनकपुरधाम ।
कहिले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफूअनुकुलका उपकुलपति ल्याउन मुख्यमन्त्रीलाई काठमाडौँमा पार्टी दिने त कहिले मधेश सरकारको स्वास्थ्य उपकरणमा आफूलाई मात्र टेन्डर पार्न सेटिङ गर्ने मेडिकल व्यवसायी विशाल पण्डितले काठमाडौँमा पनि सेटिङमा टेन्डर निकाल्न प्रयास गरेको खुलासा भएको छ । धादिङका पण्डित पछिल्लो समय काठमाडौँमा बसेरा होटलका सञ्चालक हुन् भने त्यही होटलमा उनले स्वास्थ्य क्षेत्रको टेन्डरका लागि शक्तिकेन्द्रलाई बैठक गराउने गरेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति आफूअनुकुलको ल्याउन उनले मधेश प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि काठमाडौँमा बैठक गरेका थिए भने पछिल्लो समय उनले फिलिप्स कम्पनीको १२ वर्ष पुरानो मोडलको सिटी स्क्यान मेसिन जडानका लागि आफूलाई मात्र टेन्डर पार्न गरेको चलखेल मधेशदृष्टि दैनिकले खुलासा गरेको थियो ।
मधेशमा आफूलाई मात्र टेन्डर पार्न चलखेल गर्ने शक्तिशाली मेडिकल व्यवसायी पण्डितले काठमाडौँमा पनि स्वास्थ्य सेवा विभागले अघि बढाएको एक्सरे मेसिन खरिद प्रक्रियामा अनियमितताका लागि सेटिङ गरेका छन् । झन्डै २५ करोड रुपैयाँ लागतअनुमानको टेन्डरमा ‘सेटिङ’ गरेको आरोप लागेको हो । सीमित फर्मले मात्र प्रतिस्पर्धा गर्न पाउने शर्त राखेर मिलेमतोमा स्पेसिफिकेसन तयार पारेको र यसमा पण्डितको संलग्नता पाइएको हो । पण्डितको बदमासीबारे एक आपूर्तिकर्ताले भने, ‘एलेन्जर कम्पनीको एक्सरे मेसिन र केयरस्ट्रिम कम्पनीको डिजिटल रेडियोग्राफी (डिआर) मेसिनले मात्र ठेक्का पाउने गरी स्पेकलक गरिएको छ, अन्य कतिपय शर्त यस्ता राखिएका छन्, जसका कारण विशाल पण्डित आसपासका बाहेक धेरैजसो आपूर्तिकर्ताले प्रतिस्पर्धामा भाग नै लिन पाउँदैनन् ।’
स्वास्थ्य सेवा विभागले माग गरेको एलेन्जर एक्सरे मेसिन आपूर्तिकर्ता नेसनल इलेक्ट्रोटेक (नेट)का सञ्चालक उमेश शर्मा हुन् । त्यसैगरी डिआरका लागि हस्पिटेक इन्टरप्राइजेज आपूर्तिकर्ता हो । हस्पिटेकका सञ्चालक विशाल पण्डित हुन् । पण्डितको हस्पिटेक र शर्माको नेटको संयुक्त जेभीले मात्र ठेक्का पाउनेगरी स्पेक लक भएको पाइएको छ ।
शर्माले भने ठेक्का नहाल्ने बताए पनि नेपालमा एलेन्जर कम्पनीको उनी नै प्रतिनिधि भएकाले अन्य कम्पनीलाई अख्तियारी दिएर जेभीमा ठेक्का भर्नेगरी मिलेमतो गरिएको छ र यसको नेतृत्व पण्डितले नै गर्न खोजेको पाइएको छ । विभागले तयार पारेको स्पेसिफिकेसनमा एक्सरे मेसिनका लागि अमेरिकन स्ट्यान्डर्ड (एफडिए) राखिएको छैन ।
स्वास्थ्य सेवा विभागले माघ ४ गते ठेक्काको सूचना प्रकाशन गरेको थियो । फागुन ४ गते प्रि–बिड तोकिएको थियो । फागुन २० गतेसम्म ठेक्काको म्याद छ । ठेक्काको धरौटी रकम अमेरिकन डलर ६५ हजार तथा ६५ लाख नेपाली रुपैयाँ तोकिएको छ । विभाग स्रोतका अनुसार स्पेक लक गर्ने काममा सुरेन्द्र प्रसाद चौरसिया र बायोमेडिकल इन्जिनियर पद्मा मिश्रा हुन् । मिश्रा विभागका कर्मचारी नै होइनन् । मधेशमा पनि पछिल्लो समय पण्डितले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपलकुपति आफूअनुकुल नियुक्तिका लागि दौडधूप गरेका थिए । यसका लागि उनले ५ करोड रुपैयाँसम्म खर्च गर्न तयार भएको बताएको समाचार बाहिरिइसकेको छ ।
पछिल्लो समय उनले सिरहा र सर्लाहीमा जडान गर्न लागेको रुमसहितको सिटी स्क्यान मेसिन प्रकरणमा आफूलाई मात्र मिल्ने गरी स्पेसलक सेटिङ गरेका थिए । यो काममा ८ करोड रुपैयाँ मुनाफा हुने र सबैलाई चित्त बुझाउनसक्ने उनको योजना थियो । पण्डितलाई मात्र टेन्डर पर्न सक्ने गरी टेन्डर भएको विरोधमा आवाज उठाउने मेडिकल व्यवसायीहरुलाई पण्डितका साझेदारहरुले काठमाडौँमा ‘सहयोग’ मागिरहेको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘८ करोड रुपैयाँ नाफा हुने केस हो, सहयोग गर्नुहोस्, अरु केसमा हामी सहयोग गर्छौँ ।’ स्रोतका अनुसार, पण्डितले साझेदारहरुलाई मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहसँग सेटिङ भइसकेका बताएका छन् । साझेदारहरुले यो काममा बाधा नपुर्याउन पटकपटक विरोध गरिरहेका मेडिकल व्यवसायीहरुसँग वार्ता गरेका थिए ।






