
मधेशदृष्टि
वीरगंज ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले मधेशदृष्टि राष्ट्रिय दैनिक, रेडियो वीरगंज र टिभी वीरगंजका कार्यकारी अध्यक्ष धुव्र साहसहित चार जनालाई सम्मान गरेको छ । बिहीबार बर्दीवासमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको पाँचौ प्रदेशसभाका अवसरमा अध्यक्ष साहसहित चार जनालाई सम्मान गरेको हो । मधेश प्रदेशको आर्थिक विकास र उद्योग वाणिज्य महासंघको हरेक गतिविधिमा समेत सहकार्य गरी पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै दोसल्ला र कदर पत्रसहित चारजनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा अध्यक्ष साहसहित सामुदायिक रेडियो नारायणी एफएमका सम्पादक तथा प्रेस सेन्टर नेपाल पर्साका ईन्जार्ज निरज पिठाकोटे, अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर रहेका छन् । सम्मानित चारै जनालाई मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन् ।
महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको प्रदेशसभाको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिाज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गरेका थिए । कार्यक्रममा अध्यक्ष वैद्यले महासंघले संगठनलाई थप बलियो बनाउन विधान संशोधन गरिएको जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य सुवोध गुप्ता, गणेश लाठ, अरूण प्रधान, हरि गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







