
मधेशदृष्टि
वीरगंज ।
माछापोखरीको ठेक्काको रकम हिनामिना गर्ने बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत र लेखा प्रमुख दोषी ठहर भएका छन् । दुवैजना विरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्दै अदालतले दोषी ठहर गरेको हो ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीलाई अदालतका न्यायाधीश टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार गरेको ठहर गरेको हो । अदालतले दुवै जनालाई जनही ४ लाख ६१ हजार २ सय ५० रपैयाँ जरिवाना र जनही ६ महिना कैद सजाय फैसला गरेको हो ।
अख्तियारले बितेको जेठ ३ गते उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मरासिनी र तत्कालीन लेखा अधिकृत चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५÷७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५ सय रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानीनोक्सानी पुर्याएको अख्तियारको दाबी थियो ।






