उपेन्द्र यादवसहित बसेको गठबन्धन बैठकमा के भयो ?

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशमा गठबन्धन दलभित्र तिक्तता रहेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मुख्यमन्त्री कार्यालयमा गठबन्धन दलको बैठक बस्यो । मंगलबार साँझ गठबन्धन दलको बैठक बसे पनि खासै केही सहमति भने भएन । जनमत पार्टी सरकारबाट बाहिरएपछि दुई वटा मन्त्रालयको भागवण्डा मिलाउन दलहरु गठबन्धन दलबीच बैठक बसेर सहमति गरिने तयारीमा सत्तागठबन्धन रहेको अवस्थामा बैठकलाई महत्वपूर्ण मानिएको थियो । तर कुनै प्रकारले सहमति भने हुन सकेन ।

मधेश प्रदेशमा सत्तामा सहभागी दलहरु नै मुख्यमन्त्री सरोजकुमार यादवप्रति आक्रोशित छन् । यसलाई सहज बनाउन यादवले नै प्रयास स्वरुप बैठक आयोजना गरेका थिए । बैठकमा गठबन्धनमा सहभागी दलका नेताहरु उपस्थित थिए । उपेन्द्र यादवले बैठकमा आएका नेतालाई चिया पिउन आग्रह गर्दै प्रदेशमा दुई वटा मन्त्रालय खाली रहेको र कसरी मिलाउनु हुन्छ, तपाईंहरु नै मिलाउनुस् भन्दै चिया पिएर बाहिरिएका थिए । त्यसपछि बैठकमा सहभागी सबै नेतासमेत बाहिरिएका थिए । स्रोतका अनुसार जसपा अध्यक्ष यादवले गबन्धन र मधेश सरकारबारे केन्द्रीय गठबन्धन नेतृत्वको धारणा ब्रिफ गरी त्यसैअनुसार सहमतिमा अगाडि बढ्न मधेशका नेताहरुलाई आग्रह गर्दै बाहिरएका थिए ।

बैठकमा सहभागी लोसपा नेता उपेन्द्र महतोले भने, ‘बैठकमा जसपा अध्यक्षले चिया पिउन बोलाउनु भयो, हामीहरु गयौँ, उहाँले सुन्दैछु, तपाईंहरु एकठाउँमा बस्नु हुन्न रे, बसेर समस्याको निकास खोज्नुहोस्, दुई वटा मन्त्रालय खाली छन्, त्यसलाई कसरी मिलाउनु हुन्छ, मिलाउनुहोस् भन्दै बाहिरिनु भयो र हामी पनि चिया पिएर निस्कियौँ ।’

महतोले जसपा अध्यक्ष यादवले तपाईंहरु नै एकापसमा बसेर समस्या समाधान गर्नु भन्दै काठमाडौँ जानु छ भन्दै निस्केको बताए । मुख्यमन्त्री यादवले विश्वासको मत लिनु एक दिनपूर्व गठबन्धनका दलका नेताहरुले नै असफल पार्ने योजना बनाएका थिए । तर अन्तिममा केन्द्रीय नेतृत्वको दबाबमा यादवलाई विश्वासको मत दिएका थिए । त्यसपछि उपेन्द्र यादव मधेश प्रदेशमा गठबन्धनमा देखिएको असन्तुष्टि मिलाउन क्रियाशील देखिएका छन् ।

बैठक अनिश्चितकालका लागि स्थगित
जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवले माफी नमागेसम्म मधेश प्रदेश सभा बैठक सञ्चालन गर्न नदिने अडान राखेपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार प्रदेश सभा बैठक सुरू हुनासाथ जनमत पार्टीका सांसद चन्दन सिंहले महेशप्रसाद यादवलगायत प्रदेश सभा सदस्यमाथि सप्तरी, राजविराजको कृषि विश्वविद्यालय भवन शिलान्यासक्रममा प्रहरीले लठ्ठी प्रहार गरेको र सोही घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका थिए ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरू गर्न आग्रह गरी खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई ‘प्रदेश बाल अधिकार ऐन, २०७७ संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । यसपछि जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले सभामुखकै अगाडि पुगेर नाराबाजी गरेका थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटका लागि स्थगन गरिएको थियो । बैठक स्थगित गरेर दलीय सहमति खोज्ने प्रयास गर्दा समेत जनमतले आफ्नो अडानबाट पछाडि हटेनन् ।

त्यसपछि सभामुखले अर्को सूचना नहुन्जेलसम्मका लागि बैठक स्थगित गरे । मधेश प्रदेश सभाका प्रदेश सभा सदस्य राम अशिष यादवले बुधबार दलीय बैठक बसेर जनमतले राखेको मागका विषयमा सहमति गरिने र त्यसपछि प्रदेश सभा बैठक सुचारु गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button