
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. मनीष पाण्डे र एक महिना पुग्नै लागेका करारमा नियुक्त बायोमेड इञ्जिनियर बन्दना मिश्रलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीको कार्यालयमा उजुरी दर्ता भएको छ । केन्द्रले २२ फेब्रुअरीमा प्रकाशित गरेको टेन्डरमा ‘१२८ स्लाइस सिटी स्क्यान मेसिन’ लिने कार्यमा एक मात्र कम्पनी फिलिप्सको मात्र ‘स्पेसिफिकेसन’ मिलेको देखिएको र अरु कम्पनीले प्रतिस्पर्धा नै गर्न बन्देज लगाइएको भन्दै मुख्यमन्त्रीको कार्यालयमा उजुरी परेको छ । उजुरीकर्ता नारायण कार्कीले यो प्रक्रियाको टेन्डर नै खरिद ऐन विपरीत भएकाले यस कार्यमा संलग्न निमित्त निर्देशक पाण्डे र बायोमेड इन्जिनियर मिश्रलाई विभागीय कारबाही गर्न माग गरेका हुन् । कार्कीले छानबिन समिति गठन गर्न पनि अनुरोध गर्दै उजुरी दर्ता गराएका छन् ।
के भएको थियो
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानका लागि टेन्डर गरेको थियो । टेन्डर कसलाई पार्ने भनेर पहिले नै सेटिङ मिलाएर टेन्डर आह्वान भएपछि अन्य व्यवसायीले विरोध गरेका थिए । केन्द्रले २० करोड रुपैयाँको सिटी स्क्यान मेसिन खरिदका लागि ‘रुमसहित मेशिनका लागि स्पेलक’ गरेको थियो । केन्द्रले तयार पारेको मापदण्डमा काठमाडौँस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै टेन्डर भर्न मिल्ने गरी टेन्डर गरिएको थियो । दुई जिल्लामा रुमसहित सिटी स्क्यान मेसिनका लागि भएको स्पेसलकमा हस्पिटेकले मात्रै टेन्डर भर्न सक्ने गरी बदमासी भएपछि चौतर्फी विरोध भएको थियो ।
केन्द्रले गरेको टेन्डरमा फर्म भर्न सक्ने मापदण्डमा हस्पिटेकले मात्रै सामान दिनसक्ने मापदण्ड राखिएको थियो । हस्पिटेकले नेपालमा फिलिप्स कम्पनीको सामान बेचिरहेको छ । सोही आधारमा स्पेक लक गरेर सर्लाही र सिरहा अस्पताललाई मेसिन खरिद तयारी भएको हो । हस्पिटेकले सन २०१२ अर्थात १२ वर्ष पुरानो उपकरण मधेशमा जडान गर्ने तयारी गरेको थियो । यसका लागि हस्पिटेककै पूर्व कर्मचारी बन्दना मिश्रलाई करारमा नियुक्त गरिएको तेस्रो सातामै उनले बनाएको मापदण्डका आधारमा टेन्डर गरिएको थियो ।
यो मोडलको सिटी स्क्यान मेसिनको बजार मूल्य ८ करोडदेखि १२ करोड रुपैयाँसम्म पर्न सक्छ । तर एउटा मात्र कम्पनीले किन्न पाउने गरी सेटिङमा गरिएको टेन्डरमा १०–१० करोडका दुई वटा उपकरण खरिदको प्रस्ताव गरिएको थियो ।
कारबाही हुन्छः मुख्यमन्त्री
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सिटी स्क्यान मेसिन खरिद प्रकरणमा बदमासी भएको पाइए कठोर भएर कारबाही गरिने बताएका छन् । आइतबार स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक मनीष पाण्डे र बायोमेड इञ्जिनियर बन्दना मिश्रले बदनियत राखेर टेन्डर आह्वान गरेकाले छानबिन र कारबाही माग गर्दै उजुरी गर्न पुगेका स्वास्थ्य व्यवसायीलाई बदमासी भए कारबाही हुने प्रतिवद्धता जनाएका हुन् । उनले उजुरी दर्ता दर्ता गर्दै प्रमुख सचिवलाई तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री यादवले पछिल्लो समय भन्दै आएका छन्, ‘सरकारले कतै रकम लियो भनेर बदनामी कमाएको छैन, मैले कुनै मन्त्रीसँग पाँच रुपैयाँ मागेको छैन ।’ शून्य सहनशीलताका लागि क्रियाशील रहेका मुख्यमन्त्री यादवले सिटी स्क्यान प्रकरणमा बदमासी भेटिए यसमा जोडिएका कसैलाई नछाडिने आश्वासन दिएका छन् ।
लेखा समितिमा पनि उजुरी
व्यवसायी नारायण कार्कीले मधेश प्रदेशको सार्वजनिक लेखा समितिमा पनि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भएको बदमासी छानिबनका लागि निवेदन दिएका छन् । उनले मधेशदृष्टिसँग भने, ‘निवेदन छाडेको छु, लेखासमितिका सभापति बाहिर हुनु भएकाले दर्ता नम्बर आएको छैन, सोमबार दर्ताका लागि तोक लाग्नेछ ।’ उनले समितिमा पनि सिटी स्क्यान प्रकरणमा देखिएको बदनियतका विस्तृत विवरणसहित उजुरी गरेका छन् ।
अख्तियारमा पनि उजुरी पर्ने
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिटी स्क्यान प्रकरणमा बदनियत राखेको, राज्यधन दुरुपयोग गरेर एउटा व्यवसायीले बाहेक टेन्डर भर्न नपाउने गरी टेन्डर गरेको भन्दै अख्तियारमा पनि स्वास्थ्य उपकरण व्यवसायीले उजुरी गर्ने भएका छन् । ‘हामीले विस्तृत फाइल नै तयार पारेर अख्तियारमा बुझाउन महोत्तरी पुगेका छौँ,’ एक स्वास्थ्य उपकरण व्यवसायीले भने, ‘प्रदेश सरकारमा उजुरी दर्ता भइसकेको छ, अब अख्तियारमा उजुरी दर्ता गर्ने तयारीमा छौँ, सोमबार बिहानै उजुरी दर्ता गरेर निमित्त निर्देशक मनीष पाण्डे र बायोमेड इञ्जिनियर बन्दना मिश्रको बदनियतपूर्ण टेन्डर आह्वाना रोक्न माग गर्ने भएका छौँ ।






