
मधेशदृष्टि
वीरगंज ।
२०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन भयो । कसैलाई पनि खाइपाइ आएको सत्ता यसरी गर्लम्म ढल्ला जस्तो लागेकै थिएन । तर वीरगंज महानगरमा भयो त्यस्तै, वीरगंज महानगरले राजेशमान सिंहको नयाँ नेतृत्व पायो । मधेश राजनीतिमा सक्रिय वीरगंजका युवा नेता सिंह मेयरमा निर्वाचित भएपछि पराजितहरुले परसम्म सोच्नै सकेनन्, बरु परैसम्म अब हाम्रो पालो आउँदैन भन्ने मात्रै सोचे ।
२०७९ जेठ १२ गते शपथ लिएका सिंहले शपथ चल्दै गर्दा वीरगंजको घण्टाघरमा बिग्रिएको सडक मर्मत गर्न डोजर चलाए । हक्की स्वभावका सिंहले जेठ १३ गतेबाट महानगरको नियमित काम सुरु गरेको पाचौँ महिनामा वीरगंजमा निकै चर्चामा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले बचत रकम नदिएको गाइँगुइँ महानगरसम्म आइपुग्यो । २०७९ कात्तिक २७ गते ४४ जनाको हस्ताक्षरसहितको संयुक्त निवेदन पर्यो महानगरमा ।
जनताको खुन पसिनाको बचत हिनामिना भएको थाहा पाएपछि सिंहले भोलिपल्टै ऋणी विवरण, बचतकर्ताको विवरण र शेयर सदस्यको विवरणसमेत आवश्यक कागजात महानगरमा बुझाउन पत्र काट्न लगाए । ग्यालेक्सी फोरकेका प्रबन्ध निर्देशक रवि लामिछानेजस्ता हस्तीको साथ र समर्थन पाएको सानो पाइलाले महानगरको पत्रलाई ‘नेप्किन र टिस्यु पेपर’ जति पनि ठानेन । सहकारीमा देखिएको समस्या समाधानका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई २०८० जेठ १६ गते महानगरले बोलायो । दोश्रो पटकको बोलावटमा समेत नआएपछि पुनः छलफलको लागि जेठ २४ गते उपस्थित हुन ताकेता पत्र काटियो । सोही दिन वीरगंज महानगर वडा नम्बर १७ का अध्यक्ष सञ्जीव बहादुर क्षेत्रीको संयोजकत्वमा रहेको सहकारी अनुगमन समितिले सानो पाइलाको स्थलगत अनुगमन गरी सहकारीको अवस्था नाजुक रहेको प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन बुझायो । प्रशासकीय अधिकृतबाट सानो पाइला सहकारी ‘समस्याग्रस्त संस्था घोषणा’को प्रकृया अगाडि बढाउन तोकादेश भयो ।
वीरगंजका बचतकर्ताको रकम हिनामिना भएको थाहा पाएको महानगरले सानो पाइलालाई समस्याग्रस्त संस्था घोषणा किन नगर्ने ? नगर्नु पर्ने भए सोको कारण र प्रमाणसहित उपस्थित हुन राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक सूचना जारी गरेको थियो । महानगरको विभिन्न मितिको लिखित तथा मौखिक निमन्त्रणालाई लत्याएको सानो पाइलाले समस्याग्रस्त घोषणा हुने थाहा पाएपछि भने यसअघिको बैठकमा उपस्थित हुन नसकेकामा माफी माग्दै १५ दिनभित्र श्वेतपत्रसहित उपस्थित हुने भनेर ‘समस्याग्रस्त घोषणा’ नगरिदिन असार ५ गते लिखित अनुरोध गरेको थियो । यद्यपी सानो पाइलाले त्यसपछिको छलफलमा समेत उपस्थिति जनाए ।
सानो पाइलाको बेवास्तापछि महानगरले कारबाही प्रकृया अगाडि बढाएको थाहा पाएका गितेन्द्रबाबु राई (जिबी), कुमार रम्तेल, अश्रफ अली, मन्जीप क्षेत्री र नविन अछामीसमेतको उपस्थितिमा महानगर प्रमुखको कार्यकक्षमा छलफल भई सानो पाइलाको बचतको विवरण, ऋणको विवरण, नाम नामेसी एवम् रकम खुल्ने विवरण ३ दिनभित्र महानगरमा पेश गर्ने, २०८० साउन १५ गते भित्र सानो पाइलाको वित्तिय स्थिति खुल्ने श्वेतपत्र पेश गर्ने र १ लाख रुपैयाँ भन्दा तल बचत रहेको बचतकर्ताको रकम तत्काल फिर्ता गर्न सुरु गर्ने लिखित सहमति भयो ।
सहमतिअनुसार कुनै पनि काम सानोपाइलाबाट सम्पादन नभएपछि वीरगंज महानगरले २०८० भदौ ४ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न, नेपाल राष्ट्र बैंकलाई सञ्चालकहरुको बैंक खाता रोक्का गर्न र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई व्यक्ति पक्राउ गरी कारबाही गर्न सिफारिस ग¥यो । सम्बन्धित नियामक निकायले समेत तत्कालै सबै प्रकृया अगाडि बढाएपछि ग्यालेक्सी फोरके टिभी, सानो पाइला सहकारीलगायत दर्जनौँ कम्पनीको सञ्चालक रहेका जिबी राई फरार भएका हुन् । सानो पाइलाले वीरगंज महानगरको ५ वटा वडामा मात्रै कार्यक्षेत्र अनुमति पाएको भए पनि मेयर सिंहले कार्यभार सम्हाल्दा वीरगंज महानगरबाहेक पर्सा, बारा र रौतहटमा समेत काम गरिरहेको पाइएपछि कारबाहीका लागि सिफारिस गरिएको वीरगंज महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल बताउँछन् ।
लुटको साम्राज्य चलाउन नपाउँदा मेयर सिंहमाथि प्रहार, के हो रवि–जिबी र सिधाकुराको कनेक्सन ?






