ओली सुध्रिए भने मिठाई बाँडछु : अध्यक्ष नेपाल

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा सुध्रिने कुनै सम्भावना नरहेको टिप्पणी गरेका छन् । ओलीमाथि अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएको हुँदा आफूहरु अलग भएर पार्टी गठन गरेको नेपालले जिकिर गरे । पार्टीको मधेश प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली सुध्रिए भने आफूले मिठाई बाड्ने बताए । उनले भने, ‘ओलीमा अहिलेपनि अहंकारवादी चिन्तन भरिएको छ सुध्रीने कुनै सम्भावना छैन ।’

अध्यक्ष नेपालले आफुले पार्टी स्थापना गर्ने बेलामा आफूलाई छाडेर ओलीसँग जानेहरुको अहिले विजोग भएको जिकिर गरे । उनीहरु अहिले एमालेमा बेहालको अवस्थामा रहेको बताए । उनले आफू जनताको अधिकारको रक्षाको लागि अगाडि आएको बताउदै संविधान र जनताको अधिकार रक्षाको लागि आफनो पार्टी सदैव अग्रसर रहने बताए । नेपालले अहिलेको गठबन्धन संविधान र जनताको अधिकारको रक्षाको लागि नै भएका कारणले यसलाई तोडने विभिन्न खालको षडयन्त्रहरु भईरहँदा समेत गठबन्धन झनै बलियो भएर आएको दाबी गरे ।

अध्यक्ष नेपालले गठबन्धनको माध्यमबाट अहिले संविधान रक्षा गर्ने शक्तिहरु एक भएको बताए । अध्यक्ष नेपालले अहिलेको आवश्यकता गठबन्धन भएको बताउँदै गठबन्धनले नै पार्टीको बेडापार लगाउने हो कि भन्ने नसोच्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले पार्टीलाई विस्तार गर्नको लागि क्रियाशील रहन समेत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष नेपालले भने, ‘गठबन्धन भएको अहिलेको शक्ति संतुलनको आवश्यकता हो यसले सबैको कुरा गर्छ भन्ने होइन् आफनो बलमा समेत पार्टीलाई बलियो बनाउनु पर्छ ।’ उनले शक्ति संतुलनको लागि विचार मिल्नेहरुलाई लिएर सँगै जाने आवश्यकता भएकाले सँगै लगिएको बताए । उनले यसको लागि दलहरुबीचमा सहकार्य भएको र त्यो सहकार्य आगामी दिनमा अझ बलियो भएर जाने दाबी गरे ।

मन्त्रीहरुले जनताको पक्षमा काम गरेको खण्डमा पार्टी बलियो बन्ने बताउँदै यसका लागि जनताप्रति सदैव जिम्मेवारीवोधका साथ काम गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष नेपालले मधेशमा पार्टी विस्तारको निकै सम्भावना रहेको बताउँदै पार्टीलाई विस्तार गरेर मधेशको जनताको हक अधिकारको पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button