
एसपी गौरब
सर्लाही ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका– ७ बाट भन्सार छली लुकाई छिपाई ल्याईएको छ बोरो प्याज स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मंगलबार बिहान करिब ८ बजे नेपाल भारत सीमा क्षेत्र स्थित त्रिभुवननगरबाट आएको यात्रु बसको पछाडिको डिकीबाट निकालेर ठेलामा हाली लैजाँन लाग्दै गर्दा स्थानीयले शंका लागि कहाँबाट ल्याएको प्याज हो भनी सोधखोज गर्न थालेपछि शंकास्पद रहेको भन्दै नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीको जिम्मा लगाएका छन् ।
ठेलावालाहरुलाई यो कसको प्याज हो कहाँबाट आएको भनी स्थानीयले सोध्दा ईश्वरपुर नगरपालिका स्थित चौलिखाबाट आएको बताएका र कसको हो भनी सोध्दा लालबन्दी मरिण चोक भित्र गोपाल किराना पसलको हो भनेपछि साथमा विल बिजक समेत नरहेको भन्दै छ बोरा अर्थात तीन किन्टल प्याज नियन्त्रणमा लिएर स्थानीयले ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाएका छन् । बिहान करिब ८ बजे नियन्त्रणमा लिएको छ बोरा प्याज अन्दाजी १५ हजार बराबरको रहेको भए पनि सर्लाही प्रहरीले अहिलेसम्म पनि विवरण सार्वजनिक गरेको छैन । केही स्थानीयका अनुसार यस प्रकारका किराना पसलहरुका साथै लालबन्दीका आलु प्याजका पसलहरु, किरानाका सामानका पसलहरुबाट लालबन्दी प्रहरीले कमिसन असुल्ने गरेको छ । त्यो प्याजवाला साहु गोपाल किराना पसलबाट पनि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक हरिबोल केसीका विश्वास पात्र हबल्दार विरेन्द्र कुमार मेहताले कमिसन उठाउने गरेका स्थानीयको आरोप छ ।
हबल्दार मेहता सिभिलमा नहिडेपनि क्युआरटीको रुपमा प्रहरीको युनिफर्म लगाएरै कमिसन असुली रहेका केही प्रमाणहरु प्राप्त भएको छ । यो विषयमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक केसीलाई जानकारी गराउँदा उनले बेवास्था गरेका कारण पनि हबल्दार मेहताको मनोवल झन बढेको पाईएको छ । हबल्दार मेहता पटक पटक यस्तै विवादमा पर्दै आएका भए पनि प्रहरी निरीक्षक केसीलाई जसरी पनि पैसा चाहिने भएकोले उनैलाई विश्वास गरेर असुलीको नाईके बनाएका छन् भने प्याजको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई समेत जानकारी भएको भए पनि विवरण सार्वजनिक नगर्नुको प्रहरी माथि स्थानीयको झन शंका बढेको छ ।
यता, भारत सरकारले प्याज कारोवारमा निकै कडाइ मात्रै नभई निकासी रोकेको भए पनि त्यो प्याज सिमानाबाट कसरी नेपाल प्रवेश गर्यो र करिब ३० किलो मिटर माथि पुर्व पश्चिम लोकमार्गसम्म प्याज आउँदा पनि सडक खण्डमा पर्ने प्रहरी चौकीहरुका साथै प्रहरी कर्माचारीहरुले बेवास्था गरेका हुन कि कमिसनको खेल हो भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन् ।






