खुल्यो कृषि विश्वविद्यालयको ताला

[mashshare]

मधेशदृष्टि
राजविराज ।
सप्तरी, राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा लगाइएको ताला १८ दिनपछि बिहीबार खोलिएको छ । जनमत पार्टीले विभिन्न माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेको थियो । मधेश कृषि विश्वविद्यालयको तालाबन्दीमा दुवै पक्षबाट भएको कमिकमजोरी सच्याउँदै भएको भूल स्वीकार गर्दै जनमत पार्टीको माग एक महिनाभित्र सम्बोधन गर्ने सर्वपक्षीय सर्वदलीय सहमतिपछि ताला खोलिएको जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए ।

उनले कृषि विश्वविद्यालयको कमीकमजोरीका कारण भएको तालाबन्दी र माघ ८ गते भएको घटनाप्रति भूल स्वीकार गर्दै यस्तो घटना आगामी दिनमा नहुने प्रतिवद्धता आएको बताए । यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीले ७ बुँदे माग राखेर गरेको तालाबन्दीका विषयमा एक महिनाभित्र सर्वपक्षीय रुपमा अध्ययन गरेर अगाडि बढ्ने प्रतिबद्धतापछि तालाबन्दी खोलिएको जानकारी दिए । उनले विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको दुखद घटना आगामी दिनमा नदोहरिने प्रतिबद्धता समेत जनाइएको बताए ।

सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाली कांग्रेसका सभापति रामदेव साह, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक कुमार मण्डल, नेकपा एमालेका सचिव देवनाथ यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष प्रताप नारायण चौधरी, जसपा अध्यक्ष केदार यादव, लोसपाका अध्यक्ष सुनिल कुमार झा, जनमत जिल्ला इन्चार्ज रामगमन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अरुण कुमार देव, राप्रपाका सहसचिव सुरेश कुमार साह, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइरालालगायतको सहभागिता थियो ।

तालाबन्दीका कारण पठनपाठन प्रभावित बन्न पुगेको, फर्म रजिष्टे«शन, नयाँ भर्ना लगायतका कामका साथै विश्वविद्यालयको दैनिक कामकाज सबै ठप्प भएको थियो । जनमत पार्टीले विश्वविद्यालयको भवन शिलान्यस कार्यक्रमको प्रमुख अतिथिमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई बनाएको विरोधमा तालाबन्दी गरेको थिए । झडप र आन्दोलनबीच माघ ८ गते भवन शिलान्यास भएको थियो । विवादपछि जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button