‘लुटरेचर’

व्यंग्य

[mashshare]
सञ्जय साह मित्र

लिटी’ ‘र’ ‘चोखा’ खाँदै ‘साहित्य’ पढिरहेको थिएँ । साहित्यलाई ‘लिटरेचर’ भनिएको रहेछ । मेरो ध्यान ‘लिटी र चोखा’तिर थियो । अनि मलाई लाग्यो – ‘लिटरेचर’ शब्द ‘लिटी र चोखा’बाट उत्पन्न भएको हो । जतिखेर मैले साहित्य सुनेको थिइनँ, त्यतिबेला पनि मैले लिटरेचर सुनेको थिएँ । त्यस बखत मलाई लागेको थियो – जलचर, थलचर र उभयचर जस्तै कुनै प्राणी वर्गको सिग्नेचर होला लिटरेचर । अहिले जब म सिग्नेचरसित रमाउँछु, तब मलाई थाहा भयो साहित्यलाई नै भनिन्छ लिटरेचर ।
नानीदेखि लागेको बानी सितिमिति कतै जाँदैन । मलाई लिटरेचर र सिग्नेचर पानीमा नुन वा चिनी जे घोलिए पनि घुल्ने जस्तो लाग्दैन । बरु पानीमा तेलको नदेखिने मिश्रण होला तर लिटरेचर र साहित्य एक ठाउँमा मिल्ने होला भनेर पत्याउनुभन्दा पहिले अत्याउँछ । कसरी उही हुन सक्ला ।
‘साहित्य’ को अर्थ त ‘स्वाहित्य’ हुन्छ । अनि त भनिन्छ – स्वान्तः सुखायः । साहित्य शब्द पनि त ‘सहितस्य साहित्यम’ बाट प्रादुर्भाव भएको हो । पहिले शब्दको कुल, खानदान र जरो खुट्याउने चलन थियो । आजभोलि शब्दको अनुहार र आम्दानी हेरेपछि जस्तोसुकै शब्दसित लगनगाँठो कसिन्छ । म यसको विरोध गर्छु । साहित्य लेख्ने साहित्यकारहरु ‘अरुको रहित’ र ‘आफ्नो हित वा सहित’ खोज्छन् । यो नै धर्म हो साहित्यको । मैले पढ्दै गरेको किताबमा साहित्यलाई ‘लिटरेचर’ नभनेको भए म नयाँ किसिमले अथ्र्याउने विचार गरिसकेको थिएँ – ‘साह’ शब्दमा ‘इ’ प्रत्यय लागेर ‘त’ जोडिएपछि ‘साहित्य’ बन्दछ । यो ‘साह’हरुले गर्ने कर्म हो वा ‘साहले नै संसारमा सबैभन्दा पहिले हित गरेकाले साहित्य जन्मिएको हो’ भनेर दाबी गरिदिन्थे । मलाई विश्वास छ, मैले अझै दाबी गरिसकेको छैन तर जुन दिन यसरी पूरा प्रमाणका साथ दाबी गर्छु तब तपाईंहरुलाई पनि मेरो कुरो मान्न करै लाग्ने छ । ‘साह’ बाटै ‘साहित्य’ र ‘मित्र’बाट ‘मित्रेचर’ बनेको हो । यही ‘मित्रेचर’ शब्द कालान्तरमा अपभ्रंश भएर ‘लिटरेचर’ बनेको हो । मेरो लागि तपाईंले यदि यस्तो दाबी गरिदिनुहुन्छ भने मैले पनि तपाईंको लागि कुनै विधाको ठोकुवा गर्छु । अनि कसरी वेद तथा पुरानमा तपाईको विधा लुकेर रहेको थियो भन्ने कुरा म प्रमाणित गर्छु । थेसिस लेख्छु त्यसैमा ।
उसो त लिचरबाट लिटरेचर र लिचरले लेख्ने साहित्यलाई लिटरेचर भनिन्छ भन्ने मान्यता राख्नेहरु पनि छन् । तर, आजभोलि मान र सम्मानको युगको विकास भएकोले साहित्यकारलाई लिचर भन्नुहुँदैन । यद्यपि जबसम्म साहित्य रहन्छ तबसम्म त्यसलाई लिटरेचर भनिन्छ र जबसम्म साहित्यलाई लिटरेचर भनिन्छ तबसम्म यो लिचरकर्म हो वा लिचरहरुको कर्म हो भन्ने धारणा पनि कतिपय क्षेत्रमा रहिरहन्छ ।
अस्ति यस्तै विषयमा चर्काचर्की हुँदा बल्ल मैले थाहा पाएको हुँ । चर्काचर्की पनि एक जना विद्वानबीच भएको हो र ? एक जना संस्कृत, एक जना अंग्रेजी र एक जना नेपाली साहित्यका विद्वानबीच भएको हो । जहाँ विद्वानहरु भेट हुन्छन् कि त त्यहाँ एउटा विधा उत्पन्न हुन्छ या त विवाद हुन्छ । नेपाली साहित्य विदेश पलायन भइरहेजस्तै दिनका दिन एउटा न एउटा विधा पनि उत्पादन गरिरहेको दृष्टान्त सबैले देखेकै हौँ । बरु साहित्य नहोस् तर नयाँ विधा अवश्य होस् । अनि लिटरेचर चाहिँ यही लिचरेचर हो कि सिग्नेचर हो भन्ने द्विविधामा फस्छ ।
बिहान एउटा मिटिङमा गएको थिएँ । अहिलेसम्म त्यहीँ मिटिङको कुरो मनमा खेलिरहेको छ । कुनै निर्णय भएन । मेरो विद्वता, बुद्धिमानी र तार्किक क्षमताकै कारण कुनै निर्णय वा निष्कर्षमा मिटिङको सेटिङ हुन नसकेको हो । हाम्रो संस्थाले दिने भनेको साहित्यिक पुरस्कार मलाई नदिने रे । म जस्तो विद्वान साहित्यकारलाई पुरस्कार नदिँदा त्यसलाई भाँड्नु नै सर्वथा उचित हुन्छ । अनि घर फर्किनासाथ मैले फेसबुकमा जुन क्रान्तिकारी स्टेटस लेखें, त्यसले पुरस्कार संस्थापकको इज्जत नै धुलो उडाइदिएको छ । साहित्यिक पुरस्कार खोलेर आफ्नो मानिसलाई सम्मान बेच्ने भन्दै कतिपयले अझ बढी उछितो काढिरहेका छन् । सुन्दैछु, बल्ल अहिले साँझतिर दिमाग फिरेको छ रे । अब पुरस्कारको विघटन गर्ने रे । मलाई नदिइने पुरस्कार त विघटन हुनु चाहिँ सुखद ।
अँ, मिटिङकै कुरो हो । एक जना विद्वानले महिलालाई प्राथमिकता दिनुपर्छ भनेका थिए । अर्कोले तुरन्त कुरोलाई कुलोले जस्तै मोडेका थिए र महिलाको कुरो छोडेका थिए । उनले जोडेका थिए – पुरस्कार शब्द नै ‘पुरुष र कार’ शब्दको संयोगबाट बनेको हो रे । महिलालाई दिँदा त पुरुषार्थमा धक्का पुग्छ । महिलालाई ‘पुरस्कार’ होइन सम्मान दिइनुपर्छ । पत्रु नै भए पनि पुरस्कार त पुरुषकार अर्थात् पुरुषलाई नै दिइने हो । तिनको तर्कले तिनले सात जन्ममा नपाएको ताली भएको थियो । लाज लागेर मैले पनि ताली पिटेको थिएँ । तिनले भनेनन् तर तिनको धर्मको मर्म थियो – महिलालाई ‘महिलास्कार’ दिनुपर्छ । विधानमा ‘पुरस्कार’ भएकोले ‘महिलास्कार’ बनाउन मिल्दैन ।
मलाई पहिले कहिल्यै लागेको थिएन कि साहित्यिक पुरस्कारमा पहुँच हुन्छ । जब पहुँच पुग्लापुग्ला जस्तो भएर चाँजोपाँचो मिल्थ्यो तब नै कुनै भाँजो लागिहाल्थ्यो । पुरस्कारको पुरुषार्थ ममा नआउने नै भएपछि मैले पनि पुरस्कारलाई नै तिरस्कार गर्न थालेको थिएँ । यो तिरस्कार भित्रभित्र होइन नि, बाहिर बाहिर मात्र हो । अरुलाई देखाउनको लागि – ‘यो पुरस्कार त आफ्नोले आफ्नोलाई खुसी पार्दै आफू पनि खुसी हुने माध्यम हो’ भन्न थालेको थिएँ । बाहिर देखाउने र भित्र हुने हात्तीको दाँत फरक हुन्छ । बाहिर देखिने दाँतले चपाउँदैन र हात्तीको चपाउने दाँत देखिँदैन । म पनि केही दिन यस्तै दाँत भएको प्राणीमा दरिन पुगेको थिएँ ।
जतिसुकै सरापे पनि सपना त साहित्यकै देख्छु । एक दिन दिउँसै उत्तानो परेर सुतेको थिएँ । सपनामा म त साहित्यिक कार्यक्रममा गएछु । त्यहाँ एक जना ठूला साहित्यकार प्रमुख अतिथि रहेछन् । तिनको भाषणले ममा मोहनी लगाएछ । फूलतिर पुतली आकर्षित भए तानिएछु । तिनले साहित्यलाई अंग्रेजीमा यसरी अथ्र्याएछन् –‘‘लिटरेचर’ प्रदूषित भएर ‘लुटरेचर’ भएको छ ।’
लिचरहरुले साहित्यलाई ‘लिचरेचर’ बनाएको पहिल्यै सुनेको थिएँ । अहिले सुनेँ –‘लुटरेचर’ । कार्यक्रम सकिएपछि उनैसित गएछु उनको घर । तिनले फिका चिया खुवाएछन् । म चिया खाइनसक्दै आएछन् थप दुई जना पाहुना । ती पाहुनालाई पनि तात्तातै चियाले स्वागत भएछ । चिया पिउँदै एउटा पुरस्कारको निर्णय भएछ । पुरस्कारको राशी पाँच हजार रुपैयाँ । अनि पुरस्कारको निर्णय गर्न पाँच मिनेट । निर्णयकर्ताहरुले दश÷दश हजार भत्तामा सही गरेछन् । तिनै जनाले तीस हजार रुपैयाँ बुझेछन् । पाँच हजार रुपैयाँको पुरस्कार आफन्तलाई नै दिने निणय गरेछन् । वाह ! सबै एकै छिनमा मैले चिया खाइनसक्दै भइसकेछन् । अनि मेरो मनमा उब्जेछ – ‘लुट्ने नेचर नै लुटरेचर हो ।’ ‘साहित्य’ र ‘स्वाहित्य’मा फरक भए झैँ ‘लिटरेचर’ र ‘लुटरेचर’ पनि अलग अलग हुन् । बाहिर देखाउन साहित्यको सेवा गरे पनि मेरो मनमा भने स्वाहित्य नै हावी हुन्छ र म बाहिर लिटरेचर भनेर जति चिच्याए पनि मेरो मनमा भने लुट्ने नेचर अर्थात् लुटरेचर नै विद्यमान रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button