
मधेशदृष्टि
वीरगंज ।
सर्लाही प्रहरीले बिहीबार झोलामा भेटिएको नक्कली नोट गन्नै समय लाग्यो । नक्कली नोट बरामद भएको दिन राति अबेर मात्रै विवरणसहित सूचना जारी गरेको थियो । दिउँसो ३ बजेतिर हरिवन–११ कडरिया चोक नजिकमा पूर्व जाँदै गरेको प्र०२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र भारतीय मोटरसाइकल चेकजाँच गर्न खोज्दा दुवै चालक भाग्न खोजेपछि रौतहट, माधवनारायण–२ का ३६ वर्षीय संजय सहनीले बोकेको झोलामा नक्कली नोट फेला परेको हो । २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दरका नक्कली नोट बरामद भएको थियो । बलरा–७ का २३ वर्षीय अम्रेन्द्र महराका साथबाट प्लाष्टिकसहित ११ ग्राम ३ सय ३० मिलि ग्राम प्लाष्टिकबाहेक ८ ग्राम ८ सय १० मिलिग्राम लागुऔषध गाँजा पनि बरामद भएको थियो ।
पछिल्लो समय मधेशका विभिन्न जिल्लामा नक्कली नेपाली नोटको बरामद क्रम बढेको छ । कतै खाजा खाइरहेको अवस्थामा भेटिएका हजारका नोट नक्कली परेका छन् त कतै किनबेचक्रममा नक्कली नोट भेटिन थालेको हो । मधेशदृष्टि दैनिकले साउनको अन्तिम साता नै मधेशका धेरै जिल्लामा करिब १० करोड रुपैयाँ भन्दा बढीको नेपाली नोट बजारमा गएको प्रक्षेपण गरेको थियो । यति मात्र होइन, भारतीय सीमावर्ती सहरमा नेपाली नोट छापिने गरेको, मधेशका केही बैंक र सहकारी तथा लघुवित्तमा समेतमा नक्कली नोट मिसिएको समाचार पनि हामीले छापेका थियौँ ।
मधेशको राजधानी जनकपुर, आर्थिक नगरी वीरगंजसँगै गाउँगाउँमा नक्कली नोट पुगेको पाइएको छ । यसको प्रभाव हेटौँडा बजारसम्म पुगेको पाइएको थियो भने नारायणगढ र काठमाडौँसम्म पनि नक्कली नोट मिसिएर पुगेको पाइएको थियो । यसको असर जताततै नक्कली नोट बरामद हुन थालेको मात्रै छैन, झोलामै नक्कली नोट बोकेर खुलमखुला हिँड्ने काम भइरहेको पाइएको छ । मधेशसँगै देशका विभिन्न जिल्लामा नक्कली नोट एक हजार र पाँचसय रुपैयाँका पाइन थालेका छन् ।
साउन यता नक्कली नोट बरामदका केही सूचनाहरु यस्ता छन्, यसले संकेत गर्दैछ कि, तपाईंसँग भएको नोट नक्कली त छैन ?
साउन २३ गते
बुटवल उपमहानगरपालिका–११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका–९ बस्ने साहिल थापा मगरलाई १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित पक्राउ ,
भदौ ३ गते
सुनसरीको रामधुनी नगरपालिकाबाट १७ हजार ५ सय नक्कली नोटसहित रामधुनी वडा–१ का ३६ वर्षीय रोशन चौधरी पक्राउ , उनका साथबाट ५ सय रुपैयाँका ३५ थान नक्कली नोट बरामद ।
भदौ १६ गते
हेटौँडा उपमहानगर–१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरका ९५ थानसहित रौतहट, कटहरिया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया–१ बस्ने २१ वर्षीय दिपेश दास पक्राउ ,
भदौ २१ गते
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित गोरखाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा पक्राउ । एक लाख नक्कली नेपाली नोट बरामद ।
असोज ५ गते
सुनसरी, इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित
संखुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र मकालु गाउँपालिका–६ का अजय राई पक्राउ ।
कात्तिक १७ गते
झापा, सितुमारीबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ । भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हकबाट एक हजार दरका तीन थान नेपाली नक्कली नोट बरामद ।
कात्तिक २४ गते
मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित हेटौँडा–६ का ३० वर्षीय देवराज चौलागाईंलाई पक्राउ गरेको थियो । उनका साथबाट नेपाली नक्कली रुपैयाँ ५ सय दरका २० थान नोट बरामद ।
कात्तिक २५ गते
काठमाडौँ महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोर पक्राउ ।
पर्सा, वीरगंज महानगरपालिका–८ घण्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित बारा कलैया उपमहानगरपालिका–३ का २५ वर्षीय उमेशकुमार पटेल र वीरगंज महानगरपालिका–३१ कोनियाका२३ वर्षीय ऋषि पटेल पक्राउ ।
मंसिर ५ गते
नक्कली नेपाली रूपैयाँसहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा पक्राउ । ३ लाख ४९ हजार नक्कली रूपैयाँ बरामद । यस्तै, काठमाडौँ, शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुङ्गा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे पक्राउ । सिर्जनाको साथबाट एक हजार दरको १ सय ४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद ।
मंसिर १३ गते
नक्कली नोट लिएर कारोबार गरेको आरोपमा धादिङको गजुरी गाउँपालिका–४ का सन्तोष चेपाङ पक्राउ । एक हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान नोट बरामद ।
मंसिर १४ गते
नक्कली नोटसहित कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथ पक्राउ । एक हजार दरका तीन थान नक्कली नोट बरामद ।
पुस १९ गते
१८ लाख ४३ हजार रुपैयाँ नक्कली नोटसहित रौतहट, गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप जैसवाल पक्राउ ।
पुस २६ गते
काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालिका–१० घर भएकी २५ वर्षीया मनिषा न्यौपाने पक्राउ ।
माघ १७ गते
सर्लाही, मलंगवा– ३ नगरपालिका चोकबाट स्थानीय नसारु खान र नसारा खातुन नक्कली नोट बोकेर कुखुराको फुल किन्न खोज्दा पक्राउ ।






