मानव अधिकार आयोग सूचनाप्रति आजपाको आपत्ति

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा)ले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनमा पार्टी अध्यक्ष प्रभु साहमाथि कारबाही गर्न सिफारिस गरेको घटनाप्रति आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साहद्वारा शुक्रबार जारी विज्ञप्तीमा राष्ट्रिय मानव अधिकार आयोगले अध्यक्ष साहमाथि लगाएको आरोपलाई आधारहिन र पूर्वाग्रही भनेको छ । आजपाको बढ्दो प्रभाव, सक्रियता एवं लोकप्रियताबाट आतंकीत भई पार्टी अध्यक्षको चरित्र हत्या एवं मानमर्दन हुने किसिमले आएको निराधार सम्प्रेषणलाई आयोग वा यसमा संलग्न पदाधिकारीले यथाशीघ्र सच्चाई सार्वजनिक गर्न माग गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यही माघ १५ गते मानव अधिकार उल्लंघन गर्नेहरूको नामावली सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०७९/०८० र चालू आर्थिक वर्षमा गरिएका कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै आयोगले मानवअधिकार उल्लंघनका घटनामा जोडिएका राजनीतिक दलका नेता कार्यकर्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी लगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगले सिफारिस गरेका नामहरुमा पार्टी अध्यक्ष प्रभु साहको समेत नाम उल्लेख भएकोमा आपत्ति जनाउँदै आजपाले भनेको छ, ‘अपरिपक्व एवं लापरवाहीपूर्ण सम्प्रेषणप्रति स्वयं पार्टी अध्यक्षले असन्तुष्टि एवं आक्रोशका साथ’ कुन घटनामा कहिले र कसको मानव अधिकार हनन भएको हो ? भनि सत्य, तथ्य सार्वजनिक गरी अपराध प्रमाणित गर्न आयोगका पदाधिकारीहरुलाई खुला चुनौतीसमेत दिइसकेको सन्दर्भमा आयोग अब मौन बस्न मिल्दैन ।’

पार्टी प्रवक्ता साहद्वारा जारी विज्ञप्तीमा भनिएको छ , ‘अध्यादेशको चोर बाटो र भागबन्डाको राजनीतीमा केवल निगाह र कृपादृष्टिको भरमा महत्वपूर्ण एवं संवेदनशील संवैधानिक आयोगमा नियुक्ति लिने र कुनै अमुक व्यक्ति वा पार्टीको लंगोट बनि सम्मानित संस्थाको समेत मानमर्दन हुनेगरी हुर्मत लिने तथा समाजको एउटा प्रतिष्ठित व्यक्ति एवं पटक पटक जनअनुमोदित प्रतिनिधिको चरित्र हत्याको दुस्प्रयास गर्ने छुट कसैलाई पनि छैन ।’ मानव अधिकारको रक्षा र विधिको शासनसहित सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि आजपाले निरन्तर वकालत गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button