
अनिल पोखरेल
राजविराज ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तलबभत्ता माग गर्दै मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका छन् । तीन महिना बित्दासमेत शिक्षक, कर्मचारीले तलब नपाएको भन्दै पालिकाका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीले सामूहिक र्याली , विरोध प्रदर्शनसहित आन्दोलन गरेका छन् ।
कञ्चनरूप नगरपालिकाको प्राङ्गणमा धर्ना बसेका शिक्षक कर्मचारीले नगर प्रमुख ललन प्रसाद गुप्ता र शिक्षा शाखा संयोजक नवराज खड्काका कारण समयमा तलबभत्ता निकासा नभएको आरोप लगाए । आन्दोलनरत शिक्षकले कञ्चनपुर नगर परिक्रमा गरी तलबभत्ता निकासाका लागि दबाब दिन धर्नामा बस्नु परेको प्रधानाध्यापक महेश परियारले बताए । तलब निकासा गर्ने विषयमा कञ्चनरूप नगरपालिकाले कुनै चासो नराखेकाले माघ १७ गते बुधबार १० बजे बिहान नगरपालिकाको गेटमा तालाबन्दी गरिने संघर्ष समितिका अध्यक्ष प्रधानाध्यापक गजेन्द्र प्रसाद चौधरीले बताए ।
उनले तीन महिना बित्दासमेत शिक्षक, कर्मचारीले तलब नपाउँदा माघ ९ गते नगर प्रमुख ललन प्रसाद गुप्ता, उपप्रमुख मुनाकुमारी पोखरेललाई तलब निकासासम्बन्धी ज्ञापनपत्र बुझाइएको र समस्या समाधान नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जानकारी दिए । शिक्षा शाखाका प्रमुख नवराज खड्कालाई तलब निकासाबारे जानकारी गराउँदै माघ १५ गतेसम्म निकासाको व्यवस्था मिलाउन आग्रह गर्दा पहल नभएको परियारले गुनासो गरे ।
उनले शाखा प्रमुखलाई धर्नामा आएर आफ्नो विचार राखिदिन पटकपटक आग्रह गर्दासमेत आउन नमानेको बताए । धर्नामा बसेका शिक्षक, कर्मचारीलाई नगर उपप्रमुख मुनाकुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको पनि समर्थन रहेको बताइएको छ । यता, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले नगर प्रमुख ललन प्रसाद गुप्ताले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि अख्तियारी नदिँदा कर्मचारी तलबभत्ताबाट वञ्चित हुनुका साथै पालिकाको विकास निर्माणका कार्यसमेत रोकिएको बताए ।






