
मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले शक्ति प्रदर्शन गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको दिन आज (बिहीबार) आजपाले मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको हो । बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायतका मागसहित बिहीबार आजपाले मधेश बन्दको घोषणा गरेको हो ।
मधेश बन्दको घोषणालाई सफल पार्न आजपा निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा प्रदेशको राजधानी जनकपुरलगायत प्रदेशका अन्य जिल्लाहरुमा पनि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बजार र यातायात बन्द गराउँदै हिँडेका आजपाका दर्जनौं नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्द सफल बनाउन भन्दै आजपाका नेता कार्यकर्ताले वीरगंज र जनकपुरमा नाराजुलुस लगाउँदै सडकमा टायर बालेर प्रदर्शन उत्रिएका छन् ।
आजपाले गरेको मधेश बन्दको घोषणाबीच राष्ट्रियसभा निर्वाचन अन्तर्गत जनकपुरमा मतदान जारी छ, भने ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था पनि कडा गरिएको छ ।






