तस्करको नियन्त्रणमा बरिष्ठ हवल्दार

[mashshare]

नेपाल भारत सिमा क्षेत्र भन्दा करिब दुई सय मिटरभित्र भारतीय बजारमा गएर तस्करसँग कमिसन बार्गेनिङ गरिरहेको अवस्थामा विवाद भएपछि तस्करले घेरेर बरिष्ठ हवल्दार छविलाल साहलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको प्रहरी स्रोतको भनाई छ ।

एसपी गौरव
सर्लाही ।
नेपाल प्रहरीका एकजना बरिष्ठ हवल्दारलाई हतियारसहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार छविलाल साहलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

उनी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका प्रमुख घुमुवा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत बरिष्ठ हवल्दार साहलाई भारतीय सुरक्षाकर्मीले आइतबार बिहान ९ बजे पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट चिनियाँ पेस्तोलसहित नियन्त्रणमा लिएका थिए । नेपाल भारत खुला सिमा नाका प्रयोग गर्दै तस्कर भेट्न बरिष्ठ हवल्दार साह गएको समयमा तस्करसँग विवाद भएपछि तस्करले नै नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीलाई बुझाएका हुन् ।

प्रहरी बरिष्ठ हवल्दार साह जिल्ला प्रहरी कार्यालय सर्लाहीको सम्पर्कमा रहेको र बाँकी विषयमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए । तर नेपाल भारत सिमा क्षेत्र भन्दा करिब दुई सय मिटरभित्र भारतीय बजारमा गएर तस्करसँग कमिसन बार्गेनिङ गरिरहेको अवस्थामा विवाद भएपछि तस्करले घेरेर बरिष्ठ हवल्दार साहलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको प्रहरी स्रोतको भनाई छ ।

त्यसपछि भारतीय सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई खबर गरेपछि माथि खबर नगर्नु भन्दै समन्वय गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीका बरिष्ठ सई अरुण यादव गएर बरिष्ठ हवल्दार साहलाई नेपाल ल्याइएको प्रहरी स्रोतको दाबी छ । प्रहरी बरिष्ठ हवल्दार साह जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक धितालका विश्वास पात्र र विशेष घुमुवा हुन् । तनहुँबाट सर्लाही सरुवा भएर आएका प्रहरी बरिष्ठ हवल्दार साह पटकपटक सर्लाही आउनु र घुमुवा नै बस्नुमा प्रहरी उपरीक्षकहरुको समेत विशेष संरक्षणहात रहेको सहजै आंकलन गर्न सकिन्छ ।

को हुन प्रहरी बरिष्ठ हवल्दार साह ?
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पटकपटक आएका र प्रहरी संगठनकै बद्नाम गराउने गरी घुमुवा बसेर कमिसन असुल्ने कार्यमा संलग्न प्रहरी बरिष्ठ हवल्दार साहको घर रौहतट, मौलापुर हो । उनी पटकपटक गरी योसहित तीनपटक अन्यन्त्र सरुवा भएको भए पनि सर्लाही आउन र घुमुवा बस्न सफल प्रहरी कर्माचारी हुन् ।

छोटो समयमै तीनपटक जिल्ला प्रहरी कार्यालय सर्लाही आई घुमुवा बस्न सफल उनलाई कसले संरक्षण गरेको हो भन्ने विषयमा प्रष्ट नभए पनि हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक धिताल तत्कालीन अवस्थामा धनुषामा प्रहरी नायव उपरीक्षक हुँदा प्रहरी बरिष्ठ हवल्दार साह जवान थिए । सो समयदेखि नै उनीहरु बीच राम्रो सम्बन्ध रहेको र उनकै कारण पुनः सर्लाही आएर घुमुवा बसेर कमिसन असुलीमा लागेको प्रहरी स्रोतको दाबी छ ।

तत्कालीन प्रहरी प्रमुख आइजिपी ठाकुर ज्ञवालीसँग राम्रो सम्बन्ध रहेका बरिष्ठ हवल्दार साह सई बच्चु राउत कुर्मी, सई तिलधारी साह, सई मोहन राउत, असई प्रमोद यादव, असई मनोज यादव र असई राम नरेश साह तेलीसँग बसेर घुमुवा बनी असुली चलाएको एक प्रहरी अधिकारीले बताए । जसमध्ये असई राम नरेश साह तेली हाल बर्खास्त भएका छन् भने असई मनोज यादव निलम्बनमा परेका छन् भने प्रहरी बरिष्ठ हबल्दार साह ५ वर्ष धनुषा, केही वर्ष महोत्तरी र अहिले सर्लाहीमा घुमुवा बसेका छन् ।

सर्लाहीको पर्साबाट अर्काकी श्रीमती र छोराछोरीसहित दोस्रो बिहे गरेका प्रहरी बरिष्ठ हवल्दार साहलाई तत्कालीन प्रहरी प्रमुख आइजिपी शैलेन्द्र खनालले कारबाहीका लागि प्रहरी प्रधान कार्यालय तानेर ग्रेड घटाएर पहाडी जिल्लामा दरबन्दी बनाई पठाएका भए पनि उनी विभिन्न माथिल्ला निकायबाटै आशीर्वाद पाएर पटकपटक सर्लाही आई घुमुवा बस्न सफल व्यक्ति हुन् ।

पहिलो विवाह गरिसकेका प्रहरी बरिष्ठ हवल्दार साहले सर्लाहीको पर्साबाट अर्काकी श्रीमती र छोराछोरीसहित लिएर वीरगंजमा कोठा खोजेर राखेका थिए तर अहिले उनीहरुलाई जनकपुरमा कोठा खोजेर राखिएको छ ।

करिब दुई महिना पहिला तनहुँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही सरुवा भएर आएका प्रहरी बरिष्ठ हवल्दार साह आएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक धिताललाई खुसी पारेर घुमुवा बस्न सफल भएका हुन् ।

माघ ९ गतेको मधेशदृष्टि दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button