

कथा
कम्प्युटर कसैले खोलेको छैन, आज कोठामा ल्यापटपको आवाज पनि सुनिदँैन । नत मोबाइलमा गेम खेलेको आवाज नै कतै आएको छ, आर्या कोठामै छे तर चहलपहल केही छैन । आर्याको आमालाई कान न्यानो भएकोजस्तो नलागेको त पक्कै हैन तर पनि सधैँ मोबाइल र ल्यापटपमा झुन्डिने आर्याको २–४ दिनदेखिको आनीबानी देखेर उनकी आमा सरस्वती पनि अचम्मित भइरहेकी छिन् । तर उनले आर्याको बाबालाई बताएकी छैनन् । मनमनै सरस्वती छोरीले मोबाइल चलाउन कम गरेको देखेर खुशी नलागेको त होइन तर झन छोरी टोलाएर बसेको देखेर भने मन खल्लो पारिरहेकी छिन् ।
‘मै त्यस्तो नि रातदिन मोबाइल चलाईस् भनेर रिसको सुरमा केही पो भनेँ कि ?’ आर्याको आमा सरस्वती मनमनै आफैँसँग फत्फताइन् ।
हुन पनि ८ कक्षामा पढ्ने छोरी स्कूलबाट फर्कनेबित्तिकै मोबाईल र ल्यापटपमै टाँस्सिइरहने बानी देखेर सरस्वती मात्र होइन आर्याका बाबासमेत आजित थिए । बाहिर गलत संगत नगर्ने, गाउँ डुल्न नजाने छोरीको बानी सुरुमा त राम्रै लागेको थियो तर कोठाभित्र मोबाइल र ल्यापटपमा हद भन्दा बढी झुन्डिने बानी हटाउन आर्याको बाबाआमालाई मुस्किल परिरहेको थियो । हुन त आर्याको पढाई नराम्रो थिएन । तर गृहकार्य सक्नेबित्तिकै होस या प्रोजेक्ट वर्कको बहाना या साथीसँग नोट पठाउन लगाउने निउँमा आर्या मोबाइलमै झुन्डिन्थिन्, फेसबुक, ह्वाट्स्एप, युट्युब अनि अनेकौँ साइट र एप आर्यालाई झुमाउथे । नयाँ–नयाँ भिडियो, सिरियल, प्र्यांक भिडियो, फेसबुक स्टाटस, ग्रुप च्याटले आर्यालाई लोभ्याउथे । आर्यालाई राम्रा युट्युबरका भिडियो हेर्दा त्यस्तै बन्न मन प¥थ्र्याे, फेसबुकमा राम्रा मान्छे देख्दा त्यस्तै बनेर फोटो खिचाउन मन प¥थ्र्याे ।
‘आर्या, ए छोरी ! आइजो न बाहिरफेर यसो हेर् ! घाम हेर्, रुख पात हेर ्! यो संसार मोबाइल र ल्यापटप भन्दा नि बाहिर पनि छ होई ।’
आर्या त्यसो त झट्ट जवाफ दिइहाल्ने केटी हो तर केही दिनदेखि आर्याको व्यवहार एकदमै परिवर्तन भइरहेको थियो । उसले जवाफ फर्काउन, उत्तर दिन, घर बाहिर निस्कन बिल्कुल छाडेकी थिइन् । हुन त किशोरावस्थामा लागेको छोरीको आनीबानी हल्का फरक आउनु सरस्वतीलाइ सामान्य नै नलागेको हैन तर पनि पछिल्लो केही दिनदेखिको हुलिया सामान्य थिएन, आर्या पढ्न जानसमेत नमान्न थालेकी थिइन्, कोठामा ढोका थुनेर मात्र बस्ने, त्यस्तो सफासुग्घर गर्ने आर्या एकदमै बेवास्ता गर्ने भएकी थिइन् । सरस्वतीको विचारमा मोबाइलले छोरी बिगारेको थियो तर पढाईलाई आवश्यक पर्छ भनेर मोबाइल फिर्ता पनि लिन सकेकी थिइनन् उनले । पटकपटक बोलाउँदा पनि छोरी नबोलेको देखेर सरस्वती भित्रै गइन् । आर्या भित्र सिरकमा गुटुमुटु परेर सुतेकी थिई, ऊ आँशु र पसिनामा डुबेकी थिई, आमाले विस्तारै निधार छामिन्, निस्लोट ज्वरोले भतभती पोलिरहेको थियो । आर्या झस्की, सरस्वतीले सञ्चो भएन भन्नु पर्दैन भनेर फुस्फुसाइन् र छोरीलाई झट्ट सिटामोल ल्याएर दिइन्, पानीपट्टि गरिदिइन् । आर्याका बाबा अफिसबाट समयमै आइपुगे । आर्यालाई लिएर मेडिकल लगेर औषधी लिएर आए ।
आर्यालाई ज्वरो त भोलिपल्टै ठिक भयो तर आर्या ठिक भइन । आर्यालाई बिल्कुल आफ्नो वास्ता थिएन, न त खाने खेल्ने, विद्यालय जान पनि बिल्कुल मन गर्दैन थिइन् । आर्याले मोबाइल, ल्यापटपसमेत हेर्न छाडेकी थिइन् । सरस्वतीले बोलाउदा आर्या झस्कन भएकी थिइन् । यसले आर्याको बाबाआमालाई थप चिन्तित बनाइरहेको थियो ।
‘तिम्लाई केही थाहा छ त किन छोरी यस्तो हुँदै गएकी हो ?’ आर्याका बाबाले सरस्वतीलाई सोधे ।
‘खै !’ सरस्वतीसँग कुनै उत्तर थिएन । उनी भित्रभित्रै डराउन थालिसकेकी थिइन् तर आर्याका बाबालाई केही नभएजस्तो देखाइरहेकी थिइन् । ‘खै आज म तँसँगै सुत्छु है !’ आर्याको आमाले भनिन् । आर्याले विस्तारै स्वीकारोक्ति भावमा मुन्टो हल्लाइन् । ज्वरो त निको भएको थियो तर आर्या ठिक थिइनन्, आमालाई नजानिँदो डरले पिरोलिरहेको थियो । अघिपछि एक्लै ढ्याम्म ढोका लगाएर सुत्ने आर्या आमासँग च्याप्प टाँस्सिएर सुतेकी थिई, सरस्वतीलाई धेरैपछि आफ्नी छोरीलाई अँगालोमा च्यापेर सुत्दा पनि आनन्द आइरहेको थिएन, आर्या कहिले बर्बराउने त कहिले झस्किने गरिरहेकी थिइन् । सरस्वतीले आर्याका बाबालाई भनिन् । दुवैले छोरीलाई रातभर कुरिरहे ।
मयुरको प्वाँख लगाएको धामीले ढ्यांग्रो ठटाएर नबुझिने स्लोक उच्चस्वरमा फलाके, आर्या घोसेमुन्टो लगाएर बसिरहेकी थिइन् । धामीले मोबाइल खुब चलाउँछे भनेर सोधे, आर्याका बाबाले विस्तारै हजुर भनेर मुन्टो हल्लाए । उनीहरुलाई धामीझाँक्रीमा विस्वाश नभए पनि छोरीका लागि आएका थिए । छोरीलाई मोबाइल, ल्यापटपबाट कसैले बिगार पारिदिएको र यसैका कारण पढ्नलेख्न मन नलागेको अनि छोरी झस्किने, बर्बराउने गरेको धामीले बताए । धामीले भनेबमोजिम कालो हाँस काटियो । बिगार फुकेर खुवाइयो तर छोरीलाई बीसको उन्नाइस् भएन ।
नचाहँदानचाहँदै पनि आर्यालाई भूतले तर्साएको खबर एक कान, दुई कान मैदान हुँदै गाँउभर फैलियो । आर्यालाई सरस्वतीले निधारमा हात राखेर सोध्ने प्रयास नगरेकी होइनन् तर त्यस्तो बोल्ने आर्या दोहोरो बोल्नसमेत छाडिसकेकी थिइन् । स्कूल नगएको एक हप्ता भइसकेको थियो, मोबाइल, ल्यापटपको भूतले आर्यालाई मात्र तर्साएको थिएन । आर्याको चिन्ताले आर्याको आमाबाबालाई समेत चिन्तित बनाएको थियो । आर्यालाई के भइरहेको छ भनेर सोध्दा उनले कुनै जवाफ दिनसकेकी थिइनन्, तर जे भइरहेको थियो, केही शंकास्पद पक्कै थियो ।
आर्या मोबाइल र ल्यापटप एकदमै चलाउने केटी, उसका बाबा आमाले जति भने पनि आर्या अलिकति पनि मान्दै मान्दैन थिइन् मोबाइल कम चलाउन । गेम खेल्नु, अनलाइनमा बसेर च्याट गर्नु, नयाँ एप्लिकेसन डाउनलोड गर्नु उसका सौख थिए, युट्युबमा फिल्म, कार्टुन र चर्चित युट्युबरका भ्लग सबै आर्याले हेरिभ्याउथिन् । पढाइमा राम्रै भएकाले होमवर्क गर्न मुस्किलले आधाघण्टा लाग्थ्यो आर्यालाई र बाँकी सबै समय मोबाइल र इन्टरनेटले लिन्थ्यो । आर्यालाई अनलाइनमा धेरै बस्दा के कस्ता बेफाइदा हुन्छन्, वास्तै थिएन । धेरै मोबाइल चलाउदा आँखा कमजोर हुन्छ र कम उमेरमा अनलाइन गेम खेल्न हुन्न अनि फेसबुक टिकटकजस्ता एप अभिभावकको निगरानीविना चलाउन हुन्न भनेर हेक्कै थिएन । अरुले नजानेको कुरा सर्च गरिगरी मक्ख पर्थिन् आर्या । आर्यालाई साँझबिहान घर बाहिर जान एकदमै डर लाग्थ्यो, केही वर्षअघि साँझ पधेरोबाट आँउदा तर्सेर आर्या एक हप्ता बिरामी नै भएकी थिइन् । त्यसपछि आर्याको हलुको छाया छ भनेर उसकी आमाले आर्यालाई साँझ बाहिर खेल्न नजान भनेकी थिइन् र उसको खेल्ने साथीका रुपमा मोबाइल र ल्यापटपले स्थान लिएपछि त कर गर्दासमेत आर्या बाहिर खेल्न जान मान्न छाडेकी थिइन् । ‘बाहिर साँझ खेल्न गयो भने भूत आँउछ, मलाई डर लाग्छ म त जान्नँ,’ आर्याको जवाफ सधैँ एउटै हुन्थ्यो ।
घरमा अवस्था झनै नराम्रो हुने देखेपछि आर्याको बाबाआमाले अस्पताल लगे, अस्पतालमा मनोसामाजिक परामर्श कक्ष थियो, आर्या एक्लै थिइन्, उसका बाबाआमा बाहिरै बसे, एकजना महिला डाक्टर आउनुभयो र आर्यासँग कुरा गर्न थाल्नुभयो । आर्यासँग गरेको कुराकानी कसैलाई नभन्ने वाचा गर्नु भयो । आर्यालाई के–के गर्न मन पर्छ, डाक्टर अमृताले सोध्नु भयो, आर्याले मोबाइल खेल्न मन पर्ने बताएपछि डा. अमृताले आर्यासँग मोबाइलमा गेम खेल्दै कुरा गर्न थाल्नुभयो र गेम खेल्दाको फाइदा अनि बेफाइदा बताउनु भयो । गेममा साइन इन गर्नुपर्ने अवस्था आयो, आर्याले आफ्नो फेसबुक साइन इन गरिदिइन् । डा. अमृताले आर्यालाई फेसबुक चलाउदाको फाइदा–बेफाइदा बताउन अनुरोध गर्नुभयो, आर्याले कुरा गर्न पैसा नलाग्ने फाइदा भएको बताइन् । डा. अमृताले फेसबुक चलाउदा के के बेफाइदा हुन्छ त भनेर सोध्नुभयो तर आर्याले अँध्यारो अनुहार लगाएर घोसेमुन्टोमा बसिन् तर उत्तर दिइनन् । डा. अमृताले आर्याको उत्तर नआउने थाहा पाएपछि कुरा मोड्दै आफूले रातिराती कोही केटा मान्छेसँग च्याट गर्ने गरेको बताउनु भयो यो सुनेर आर्याको अनुहार अँधेरो हुँदै गयो । ‘के तिमीले पनि मैले जस्तै राति कुरा गर्छौ ?’ आर्याले घोसेमुन्टो लगाएर स्वीकारोक्ति जनाइन् । ‘मलाई त त्यो मान्छेले कस्तोकस्तो नराम्रो फोटो पठाउन लगाउँछ, कपडा खोलेर नांगो फोटो पठाऊ भन्छ ।’ आर्या विस्तारै फुस्फुसाई, ‘मलाई पनि ।’
आर्याले सधैँ झैँ बाबाआमा सुतेपछि मोबाइल निकालेर फेसबुक खोलेर हेरिन्, उसले आफ्नो फेसबुकको उमेर १८ वर्ष कटेको बनाएकी थिइन् र युट्युबमा पनि वयस्कले हेर्ने सामग्रीसमेत हेर्न मिल्ने गरी १८ वर्ष उमेर भएको भनेर आफ्नो जिमेल एकाउन्ट बनाएकी थिइन् । युट्युबमा गीत बजाएर आर्या फेसबुकमा नजर दौडाउन लागिन् । उसको फेसबुकमा एउटा रिक्वेस्ट देखिन्, आर्यन शर्मा नामको राम्रो फोटो भएको केटाको रिक्वेस्ट रहेछ, आर्याले रिक्वेस्टलाई बेवास्ता गर्नै सकिनन्, एसेप्ट गरिहालिन् । केटा अष्ट्रेलिया बस्ने १९ वर्षको रहेछ, आर्याले आफु ११ कक्षामा पढिरहेको र चाँडै विदेश जाने योजना भएको बताइन् । रातभर आर्या र केटाबीच च्याट भयो । आर्यालाई उसले आफ्ना राम्रा फोटो पठायो र उसलाई पनि पठाउन अनुरोध गर्यो । आर्याले पनि मान्दै गइन्, बिस्तारै केटाले अश्लील कुराकानी थप्दै गयो । जसले आर्यालाई अफ्ठ्यारो भइरहेको थियो तर आर्यालाई उसले आफ्नो प्रभावमा पारिसकेकाले आर्याले केही भन्नै सकिनन् ।
अनलाइनबाटै केटाले आफूले माया गर्न थालेको बतायो र प्रेमीप्रेमिकामा सबै चल्नुपर्ने शर्तसमेत राख्यो, आर्याले नाई भन्नै सकिनन् । पुनः भोलिपल्ट यही प्रकृया दोहोरियो, आर्यालाई आफू कुन बाटोमा गइरहेको छु भन्ने हेक्कै भएन, माया गर्छु भनेर अनलाइनबाटै केटाले आफ्नो अस्लील हाउभाउको फोटो मात्र हैन गोप्य अंगको फोटोसमेत पठायो र आर्यालाई समेत पठाउन भन्यो । आर्याले मानिनन् तर अनलाइनको प्रेमी आर्यनले मान्दै मानेन, बरु रिसाएर च्याटमा बोल्नै छोड्यो, आफ्नो भर्खरै अनलाइनमा बसेको मायालाई आर्याले त्यसै मर्न दिन सकिनन् र अर्को रात आफ्ना कपडा खोलेर उसलाई फोटोहरु पठाइन् र हेरेपछि सेभ नगर्न अनुरोधसमेत गरिन् । तर अनलाइनमा आँट बढिसकेको आर्याको प्रेमीले भिडियोकल गरेर कपडा खोल्न दबाब दिन थाल्यो, नाई भनेर नमान्दा नांगो फोटो सबै आफूले सेभ गरेर राखेको र अब भनेको नमाने सबैलाई पठाइदिने धम्की दिन थाल्यो अनलाइनबाटै । आर्या छांगाबाट खसे जस्तै भइन् र उनले केही सीप नलागेपछि केटालाई हुन्छ भनिन् । अनलाइनमा भिडियो कलमा उसलाई देखेपछि आर्या झन अत्तालिइन्, उनले कल काटिन् तर उनलाई कल गर्न, म्यासेज रिप्लाई गर्न दबाब आइरहन थाल्यो ।
आर्या पढ्नमा ध्यान दिन छाडिन्, कोहीसँग नबोल्ने, टोलाएर बस्ने बानी झन बढ्दै जान थाल्यो र डराउने, तर्सने मात्र होइन निन्द्रामा समेत आर्या बर्बराउन थालेपछि आर्याको आमाबाबालाई चिन्ताले सताउन थाल्यो । कोठामा एक्लै नबसोस् भनेर आमाले भान्सामा ल्याएर छोरीलाई राख्दै भान्साको काम गर्ने प्रयास गर्थिन् तर आर्या ‘मलाई बोलायो, म गइनँ भने बर्वाद हुन्छु’ भनेर कोठामा गएर चुक्कुल लगाएर बस्थिन् र ह्वाँह्वाँ रुन्थिन् तर उसले आफ्नो समस्या आमालाई बताउन सकेकी थिइन ।
आर्याको समस्या डा. अमृताले पत्ता लगाउनु भयो, मनोसामाजिक परामर्शक्रममा आर्याले आफूलाई सामाजिक सञ्जालमा आर्यन नामको मान्छेले पच्छ्याएको र फकाएर उसले आफ्नो नांगो फोटो लिएको बताइन् । आर्याको कुरा गोप्य हुने, कसैले थाहा नहुने र आर्यालाई विस्वाश दिलाएपछि आर्याले आफ्नो मनका दुखेसो सबै बताउँदै गइन् । अनलाइनमा आर्यन शर्मा नाम गरेको केटा विदेशमा बस्ने नभई आफ्नै पल्लो गाउँको ठूलो मान्छे भएको जब उनले थाहा पाइन्, ती व्यक्तिले आर्यालाई भेट्न आउन दबाब दिएको नत्र नांगो फोटो सबैको अगाडि पठाइदिएर बेइज्जत गर्दिने भनेर धम्क्याएको कुरासमेत आर्याले डा. अमृतालाई बताईन् । आर्याकै बयानका आधारमा अनलाइनबाटै दुव्र्यवहार गर्ने पल्लो गाँउको सफल भन्नेलाई प्रहरीले पक्राउ गर्न सफल भयो । आर्यालाई तर्साउने भूत त अनलाइनबाट आएर आर्यालाई सताउँदो रहेछ, आर्याका अभिभावकले बुझे र आर्याको सुरक्षित अनलाइन व्यवहारका लागि उनीहरुले निगरानी गर्न थाले । आर्यालाई तर्साउने अनलाइन भूत अहिले अनलाइन यौन दुव्र्यवहारको अपराधमा जेलमा छन्, आर्या अहिले आफ्नो पढाईमा अब्बल छिन् र असुरक्षित अनलाइन व्यवहारबाट टाढै छिन् ।






