पर्साका पालिकामा ६९६.४ करोड बेरुजु, कार्यालय प्रमुख तथा लेखा प्रमुखले लगे १ अर्ब रुपैयाँ

[mashshare]

अनिल पोखरेल
वीरगंज ।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७९ ले पर्साका १४ पालिकामा ६ अर्ब ९६ करोड ४३ लाख ३२ हजार रुपैयाँ बेरुजु देखाएको छ । बेरुजुमध्ये पालिकाहरूमा २०७९ असार ३२ गतेसम्म कार्यरत कार्यालय प्रमुख तथा लेखा प्रमुखको नाममा १ अर्ब ३३ करोड ५७ लाख ५५ हजार ९ सय ६३ रुपैयाँ ३२ पैसा बेरुजु देखिएको छ ।

लेखापरीक्षण प्रतिवेदनअनुसार सबैभन्दा बढी वीरगंज महानगरपालिकामा ३ अर्ब ३४ करोड ६३ लाख २ हजार रुपैयाँ बेरुजु छ । दोस्रोमा जगरनाथ गाउँपालिकामा ५५ करोड ४ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

पालिकाहरूले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ ।

पर्साका पालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको लेखा परीक्षण प्रतिवेदनले देखाइको छ । पालिकाको लेखापरीक्षणबाट स्रोत र साधन प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवाप्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेकोलगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनले औँल्याएको छ । धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।

वीरगंज महानगरपालिकाको गत आर्थिक वर्षसम्म २ अर्ब ६६ करोड ८४ लाख ९२ हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा अद्यावधिक बेरुजु ३ अर्ब ३४ करोड ६३ लाख २ हजार रुपैयाँ रहेको २०७९ को प्रतिवेदनमा उल्लेख छ । महानगरपालिकामा कार्यरत कार्यालय प्रमुख लक्ष्मी पौडेल र लेखा प्रमुख रूपनारायण राउतका नाममा मात्रै ६७ करोड ७८ लाख ९ हजार ७ सय ११ रुपैयाँ ४८ पैसा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

पर्सागढी नगरपालिकामा पनि गतवर्षसम्म २२ करोड ४६ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएको छ भने विगत वर्षदेखि हालसम्म अद्यावधिक बेरुजु रकम २७ करोड ८ लाख ७२ हजार रुपैयाँ छ । कार्यालय प्रमुख भरत प्रसाद यादव र लेखा प्रमुखद्वय श्याम नारायण भगत माली र सन्तोष कुमार कुशवाहाका नाममा ४ करोड ६२ लाख ३८ हजार ८१ रुपैयाँ बेरुजु रहेको छ ।

पोखरिया नगरपालिकाको गत आर्थिक वर्षसम्म ३१ करोड ७८ लाख ९८ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ मा अद्यावधिक बेरुजु ४० करोड ३१ लाख ३५ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुखहरू अशोक कुमार रौनियार, सन्देश कुमार यादव, अशोक कोइराला र लेखा प्रमुख मनोज कुमार तिवारीका नाममा ८ करोड ५६ लाख ३२ हजार ९ सय ७५ रुपैयाँ बेरुजु छ ।

बहुदरमाई नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा विभिन्न शीर्षकमा २६ करोड १४ लाख ४ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक गर्दा ३१ करोड ४७ लाख ७ हजार रुपैयाँ रहेको महालेखा प्रतिवेदनमा उल्लेख छ । त्यसका साथै कार्यालय प्रमुख विदुर प्रसाद उप्रेती र लेखा प्रमुखका नाममा उपेन्द्र कुमार साहले ५ करोड ३५ लाख ३ हजार ४ सय ६३ रुपैयाँ ११ पैसा बेरुजु राखेका छन् ।

कालिकामाई गाउँपालिकाको गतवर्षमा १२ करोड १६ लाख २९ हजार रुपैयाँ बेरुजु रहेकामा समायोजन र सम्परीक्षणबाट फर्छ्यौटसम्मको अद्यावधिक बेरुजु १६ करोड ५३ लाख २२ हजार रुपैयाँ छ । कार्यालय प्रमुख जयचन्द्र साह र लेखा प्रमुख अभिषेक कुमार साहका नाममा ४ करोड ३६ लाख ९४ हजार ३ सय ७७ रुपैयाँ बेरुजु रहेको छ ।

छिपहरमाई गाउँपालिकामा विगतका वर्षमा २२ करोड ८९ लाख ९९ हजार रुपैयाँ बेरुजु रहेकामा २ लाख ५ हजार रुपैयाँ फर्छ्यौट भएको छ भने अरु बेरुजु थपिएर २५ करोड ५२ लाख ७१ हजार रुपैयाँ बेरुजु देखिएको छ । कार्यालय प्रमुख देवनाथ साह र लेखा प्रमुख बुद्धि सागर मरहठ्ठाका नाममा २ करोड ६४ लाख ७६ हजार ८ सय ६३ रुपैयाँ बेरुजु रहेको छ ।

जगरनाथपुर गाउँपालिकामा गतवर्षसम्ममा ४० करोड २० लाख १७ हजार रुपैयाँ बेरुजु बाँकी रहेको र आर्थिक वर्ष २०७८–७९ मा समायोजन र सम्परीक्षणबाट फर्छ्यौटपछि अद्यावधिक बेरुजु ५५ करोड ४ लाख २० हजार रुपैयाँ छ । कार्यालय प्रमुखहरू कृष्ण नन्दन राय यादव, राज कुशवाहा, सन्दिप कुमार पटेल र लेखा प्रमुख सन्देश कुमार कुशवाहा तथा सञ्जय पटेलका नाममा १४ करोड ८४ लाख २ हजार ९ सय २५ रुपैयाँ बेरुजु रहेको छ ।

जिराभवानी गाउँपालिकामा २६ करोड ८९ लाख ५८ हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ मा अद्यावधिक बेरुजु ३१ करोड ९९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कार्यालय प्रमुख प्राण महतो र लेखा प्रमुख लक्ष्मण गौतमका नाममा ५ करोड १० लाख ३५ हजार १ सय ७६ रुपैयाँ ९५ पैसा बेरुजु रहेको छ ।

ठोरी गाउँपालिकामा २२ करोड ११ लाख ७९ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु बढेर २४ करोड ८५ लाख २८ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ र लेखा प्रमुख बुद्धिसागर मरहठ्ठाका नाममा २ करोड ७३ लाख ४८ हजार ९ सय ९९ रुपैयाँ बेरुजु छ ।

धोबिनी गाउँपालिकामा बेरुजु २० करोड ३२ लाख ६० हजार रुपैयाँबाट बढेर अद्यावधिक बेरुजु २३ करोड ४१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख राजु प्रसाद साह, महमद नवाज हुसैन र लेखा प्रमुख रञ्जन कुमार कर्णका नाममा ३ करोड ९ लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बेरुजु छ ।

पकहामैनपुर गाउँपालिकामा १० करोड ७८ लाख ९८ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु १३ करोड ५५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख रमेश सुवेदी र लेखा प्रमुख निरञ्जन प्रसाद पटेलका नाममा २ करोड ७६ लाख ७७ हजार ४ सय ८० रुपैयाँ बेरुजु छ ।

पटेर्वासुगौली गाउँपालिकामा १३ करोड ३१ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेकामा समायोजन र सम्परीक्षणपछि अद्यावधिकमा १८ करोड ४९ लाख १५ हजार रुपैयाँ बेरुजु छ । कार्यालय प्रमुख सन्देश कुमार यादव र लेखा प्रमुख सोनु कुमार सोनी, अखिलेश कुमार सहनीका नाममा ५ करोड १७ लाख २३ हजार ५ सय ७५ रुपैयाँ बेरुजु छ ।

विन्दबासिनी गाउँपालिकामा १९ करोड ३६ लाख ५९ हजार बेरुजु रहेकामा अद्यावधिक बेरुजु बढेर २० करोड ८८ लाख ३७ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख श्यामबाबु साह, राजु प्रसाद साह, अमित कुमार गिरी, मुन्ना साह रौनियार र लेखा प्रमुख मिथलेश कुशवाहाका नाममा १ करोड ७१ लाख ४८ हजार ३ सय ८६ रुपैयाँ ७८ पैसा बेरुजु रहेको छ ।

सखुवाप्रसौनी गाउँपालिकामा २७ करोड ८२ लाख ३२ हजार रुपैयाँ बेरुजु छ भने अद्यावधिक बेरुजु ३२ करोड ६३ लाख ६२ हजार रुपैयाँ छ । फछर्यौट गर्न बाँकी रहेको सम्पूर्ण रकम असुल फछर्यौट गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । कार्यालय प्रमुख भोजेन्द्र कुमार चौधरी, सन्देश कुमार यादव, देवनाथ साह र राजेश प्रसाद रौनियारका नाममा ४ करोड ८१ लाख ३० हजार ४ सय ४४ रुपैयाँ बेरुजु छ ।

स्थानीय तह                                             अद्यावधिक बेरुजु
वीरगंज महानगरपालिका                            ३ अर्ब ३४ करोड ६३ लाख २ हजार रुपैयाँ
पर्सागढी नगरपालिका                                २७ करोड ८ लाख ७२ हजार रुपैयाँ
पोखरिया नगरपालिका                               ४० करोड ३१ लाख ३५ हजार रुपैयाँ
बहुदरमाई नगरपालिका                             ३१ करोड ४७ लाख ७ हजार रुपैयाँ
कालिकामाई गाउँपालिका                          १६ करोड ५३ लाख २२ हजार रुपैयाँ
छिपहरमाई गाउँपालिका                           २५ करोड ५२ लाख ७१ हजार रुपैयाँ
जगरनाथपुर गाउँपालिकामा                       ५५ करोड ४ लाख २० हजार रुपैयाँ
जिराभवानी गाउँपालिका                           ३१ करोड ९९ लाख ९३ हजार रुपैयाँ
ठोरी गाउँपालिका २४ करोड                      ८५ लाख २८ हजार रुपैयाँ
धोबिनी गाउँपालिका                                 २३ करोड ४१ लाख ९३ हजार रुपैयाँ
पकहामैनपुर गाउँपालिका                         १३ करोड ५५ लाख ७५ हजार रुपैयाँ
पटेर्वासुगौली गाउँपालिका                         १८ करोड ४९ लाख १५ हजार रुपैयाँ
विन्दवासिनी गाउँपालिका                          २० करोड ८७ लाख ३७ हजार रुपैयाँ
सखुवा प्रसौनी गाउँपालिका                       ३२ करोड ६३ लाख ६२ हजार रुपैयाँ
स्रोतः महालेखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button