
मधेशदृष्टि
नयाँ दिल्ली ।
प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरु योजना (पिएम गतिशक्ति मास्टर प्लान) बारे भारतले नेपालका पत्रकारलाई ‘ब्रिफिङ’ गरेको छ । भारतीय उद्योग वाणिज्य मन्त्रालयले मंगलबार नेपालबाट आएको प्रतिनिधिमण्डल्लाई ब्रिफिङ गरेको हो ।
मास्टर प्लानबारे मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धधन विभागका सचिव सुमिता डाउराले प्रकाश पारेकी थिइन् । उनले ब्रिफिङमा समृद्धिको यात्रामा चाँडो पुग्न भारतले पिएम गतिशक्ति मास्टर प्लान बनाएर काम गरेको जानकारी गराइन् । भारतले प्रविधिको उच्चतम प्रयोग गरेको बताउँद नेपालले पनि यस्तो मास्टर प्लान बनाएर काम गर्न सक्ने बताइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मास्टर प्लानबारे छलफल गरेकाबारे पनि ब्रिफिङमा बताइएको थियो । स्वतन्त्र युवा प्रजातान्त्रिक संघका अध्यक्ष अरविन्द महतोको नेतृत्वमा पत्रकारको टोली भारत भ्रमणमा छ । भारतीय टोलीको प्रस्तुतिपछि भ्रमण टोलीका संयोजक महतोले प्रस्तुतिका लागि धन्यवाद दिँदै आवश्यक विषयमा सहकार्य गरेर अघि बढिने बताए ।

भ्रमण टोलीमा वीरगंजबाट वरिष्ठ पत्रकार जगदीश शर्मा, मधेशदृष्टिका अध्यक्ष ध्रुव साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्ण, पत्रकार अनिल तिवारी, श्रवण साह, पुरण साह, निरन्जन साह, गोविन्द महतो, जीवन शर्मा, दिपेन्द्र अधिकारी, नकुल अर्यालसहित १६ जना सहभागी छन् ।







