
मधेशदृष्टि
वीरगंज ।
छठ पर्वमा घुमुवाबाट उठाइएको रकम मागेका सिपाहीलाई गोली हानेर घटना लुकाउने प्रहरी चौकी इन्चार्ज असइलाई महोत्तरी प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । घटना कार्तिक ३० गतेको भए पनि मधेश प्रहरीका डिआइजी र महोत्तरीका एसपीले पनि यो घटना बिहीबार मात्रै थाहा पाएका हुन् ।
कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असइ बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका हुन् । उनले ‘बढ्ता बोलिस भने गोली हानेर मारिदिन्छु’ भन्दा सिपाहीले ‘यो कुरा म डिआइजी, एसपी साहेबलाई भनिदिन्छु’ भनेपछि असइ आक्रोसमा आएका थिए । सिपाहीले ‘ल गोली हान्न सक्ने भए हान्नू’भन्दा असइले आफ्नै पेस्तोलबाट गोली हान्दा सिपाहीले छल्दा पाखुरामा लागेको हो ।
घटना यतिमा सीमित भएन
साहलाई पाखुरामा गोली हानेर घाइते बनाएपछि असइ यादवले घटना लुकाउन भारतको सीतामढी पुर्याएका थिए । सीतामढीमा उपचार हुँदा साहले घरमा खबर पनि गर्न पाएनन् । उनी अलि निको भएपछि ‘यो कुरा कसैलाई नभन्नु, खर्च दिउँला’ भनेर त्रास देखाएपछि सिपाहीले ‘कतै भन्दिनँ परिवारमा खबर गरिदिनू’ भनेपछि साहका दाइलाई असइ यादवले बोलाएका थिए । यो सबै काममा असइका भाइ घुमुवा सहायक हवल्दार राम अयोध्या यादवले दाइको अपराध लुकाउन सहयोग गरेका थिए ।
साहका दाइ सीतामढी अस्पताल पुगेर केही पैसाको प्रलोभनमा घटना लुकाउने भनेपछि उनीहरुले सिरहाको कुनै अस्पतालमा साहलाई लगेका थिए भने त्यहाँबाट यो घटना चुहिएर मधेश प्रहरीका डिआइजी जनक भट्टराई र महोत्तरीका एपी प्रकाश मल्लसम्म घटना पुगेपछि असइ यादवलाई हिरासतमा राखेर कारबाही सुरु भएको छ ।
यता असइ यादवलाई कारबाहीबाट जोगाउन घुमुवा सहायक हवल्दार राम अयोध्या यादव शक्तिकेन्द्र धाउन थालेका छन् । आफ्नै प्रहरी जवानलाई त गोली दाग्ने असइले जनतामा कस्तो सेवा दिए होलान्, प्रहरी सेवाकै बदनाम गराउने काममा सक्रिय यादवलाई सख्त कारबाही होस् भनेर मधेश प्रदेशमा इमानदार भएर काम गरिरहेका कैयौँ सइ, असइहरुले मधेशदृष्टिमा फोन गरेर घटनामा संलग्न यादवलाई हदैसम्मको कारबाही माग गरेका छन् । मधेशका डिआइजी र महोत्तरीका एसपीलाई बदमास असइ जोगाउने काममा नलाग्न र कुनै दलका नेताको दबाबमा नपर्न पनि अपिल गरेका छन् ।






