

१. परिचय
बालबालिकाहरुका निम्ति लेखिएको साहित्य नै बालसाहित्य हो । यो बालबालिकाकाहरुबाट लेखिएको पनि हुनसक्छ, प्रौढहरुबाट लेखिएको पनि हुनसक्छ । बालबालिकाहरुबाटै बालबालिकाहरुका निम्ति लेखिने साहित्यको गुण र मात्रा अमेक्षकृत कमै हुने हुँदा सामान्यतः प्रौढहरुद्वारा विभिन्न उमेरका बालबालिकालाई लक्ष्य गरी लेखिएको साहित्यलाई नै हाम्रा प्रयोजनका निम्ति बालसाहित्य भनिएको छ । बालक भनिए तापनि तिनलाई शिशु, बालबालिका र किशोरकिशोरीका रुपमा छुट्याउनुपर्छ । तिनका लागि लेखिने साहित्यलाई पनि बेग्लाबेग्लै नाम दिन सकिन्छ । जस्तैः शिशुसाहित्य, बालसाहित्य र किशोरसाहित्य ।
बालसाहित्यको व्यापक परिभाषाअनुसार बालसाहित्यमा बालबालिकाका निम्ति तयार गरिएको कुनै पनि श्रव्य, दृश्य तथा पाठ्यसामग्रीलाई लिइन्छ भने सीमित परिभाषाअनुसार केवल कविता, कथा, नाटक, उपन्यास आदि सिर्जनात्मक साहित्यका विधालाई मात्र लिइन्छ । व्यापक परिभाषाअनुसारको बालसाहित्यलाई बालपुस्तक पनि भन्ने गरिन्छ । यसमा पाठ्यपुस्तकलाई समावेश गरिएको छैन ।
चूडामणि बन्धुद्वारा नेपाल बालसाहित्य समाजको १५औँ वार्षिक सम्मेलन तथा राष्ट्रिय बालसाहित्य सम्मेलन (सिद्धार्थनगर, भैरहवा, २०५९ पुस २७ र २८ गते) मा प्रस्तुत गरिएको “बालसाहित्य” शीर्षकको कार्यपत्रमा बालसाहित्यको यही परिचय दिइएको छ । आजसम्म यसलाई अधिकांश बालसाहित्यकारले मान्दै आएका छन् ।
२. विषय प्रवेशः
आठ जिल्ला रहेको मधेश प्रदेशमा समग्र भाषा र साहित्यको अवस्था खासै उत्साहजनक छैन, त्यसमा पनि बालसाहित्यको अवस्था भने झनै कमजोर छ । यहाँबाट एउटा पनि नियमित बालसाहित्यिक पत्रिकाको प्रकाशन नहुनु यसको ज्वलन्त उदाहरण हो । यद्यपि देशको जेठो साहित्यिक पत्रिकाको प्रकाशन यहीबाट भएको थियो । श्यामप्रसाद शर्माले ‘सेवा’ नामक साहित्यिक पत्रिकाको प्रकाशन वि.स. २००४ मा वीरगंजबाट गरेका थिए ।
मधेश प्रदेशको पहिलो बालसाहित्यिक कृति कुन हो ? यस विषयमा पृथक विचार पाइन्छ । एकथरिले श्यामप्रसाद शर्माको २००३ मा वीरगंजबाट प्रकाशित ‘स्वास्थ्यरक्षा’ पुस्तिका बालसाहित्यको दृष्टिकोणले उपयुक्त छ भन्ने मानेका छन् भने कतिपयले यसलाई गैरसाहित्यिक पुस्तिका मानेका छन् । श्यामप्रसाद शर्माको यो कृति ‘देशभक्त’को नामबाट प्रकाशित थियो । यसै गरी साहित्यकार प्रेमा शाहको रचनालाई बालसाहित्यको क्षेत्रको पहिलो औपचारिक कृति मानिएको पाइन्छ ।
२७ कात्तिक २०८० का दिन रौतहटको चन्द्रपुरमा महाकवि देवकोटा जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा सर्लाहीका साहित्यकार पार्थमणि भट्टराईले अञ्जुदेवी भट्टराईद्वारा रचित ‘रामु र श्यामुको बहादुरी’ बालउपन्यासलाई मधेश प्रदेशकै पहिलो बालउपन्यास तथा बालसाहित्यिक कृति बताएका थिए । भट्टराई नै कार्यक्रमका प्रमुख अतिथि थिए । यसअघि गत दशैँमा पनि मसितको एक साक्षात्कारमा भट्टराईले यस कृतिलाई मधेश प्रदेशको पहिलो बालउपन्यास बताउँदै मलाई लेखिकाबाट उपहार दिन लगाएका थिए ।
यस कृतिमा पहिलो संस्करण २०२९, हाम्रो प्रकाशन, ललितपुर भनिएको छ भने दोस्रो संस्करण २०७९, सन्दर्भश्री प्रकाशन, हरिवन, सर्लाही भनिएको छ । कृतिकार भट्टराईले पचास वर्ष पहिले प्रकाशित भएको कृतिलाई पुनः प्रकाशन (दोस्रो संस्करण) गरिएको बताउने गरेकी छन् जसलाई कृतिमा पहिलो र दोस्रो संस्करणको वर्ष लेखिएकाले पुष्टि गर्दछन् । ललितपुरबाट पहिलो संस्करण र सर्लाहीबाट दोस्रो संस्करण प्रकाशन भएको यस कृतिमा उल्लेख गरिएको तथ्यलाई विचार गर्दै बालसाहित्यको इतिहास अध्येताहरुले यसको उचित निक्यौल वा मूल्यांकन गर्ने छन् । मधेश प्रदेशको बालसाहित्यका अध्येतालाई सजिलो होस् भनेर यस कृतिको यहाँ चर्चा गरिएको छ ।
३. कृतिको विषयवस्तुः
३.१. कथानकः
आफ्नो घरलाई बेच्ने सल्लाह रामुका बुबाआमाले गरेको सुन्छ रामुले । उसलाई नमिठो लाग्छ । घर बेच्न नहुने भन्ठान्छ । ऋण लागेको हुन्छ । रामुलाई घर बेचेर अन्यत्र जाने कुरा नमिठो लागेको हुन्छ । मनको बह रामुले साथीसित पनि कहन्छ । साथीले जागिर खाने सल्लाह दिन्छ । प्यारो घरलाई जोगाउन आफू कमाउन जाने निधो गर्छ । सोही बेहोराको एउटा चिठी लेखेर निस्कन्छ । ऊ जागिरको खोजी गर्छ । बडो मुस्किलले उसले सर्कसमा जागिर पाउँछ । सर्कसमा श्यामु नामको बालक हुन्छ । ऊ टुहुरो हुन्छ । दुवै जना साथी हुन्छन् । रामु सर्कसमा निकै मिहिनेत गर्छ । श्यामुले रामुलाई सबै कुरा सिकाउँथ्यो । एक दिन शनिवारको दिन रामुले आफ्नो घरमा आफूले जागिर पाएको कुरो चिठीमा लेख्छ । विस्तारै रामु सर्कसमा राम्रो चटक देखाउने र उफ्रन सक्ने बन्दछ ।
एक दिन सर्कसमा आगो लाग्छ । सबै ज्यान जोगाएर भाग्छन् तर रामु चाहिँ हुलमुलमा भाग्दा लडेर मर्न बेर लाग्दैन भन्ने विचार गरी श्यामुलाई पनि एक छिन रोक्छ । अनि सर्कसका जनावरहरु आगोको चपेटमा आउन लागेको देखेर बचाउँछ । दुवैको बहादुरीले जनावरहरु जोगिन्छन् तर दुवै जना चारैतिरबाट आगोको लप्कामा घेरिन्छन् । दमकलले आगो निभाउन थाल्दा बाटो पाएर दुवै साथी निस्कन्छन् । रामु र श्यामुले गरेको ठूलो बहादुरीको खबर गोरखापत्रमा फोटोसहित छापिन्छ । रामु आफ्नो घर जान्छ श्यामुलाई लिएर । सर्कसका मालिक र सर्कसकै मोटी आइमाई रामुको घर पुग्छन् । उनीहरु रामुलाई इनाम दिन्छन् । इनामको पैसा रामुले बालाई दिन्छ । पैसाले आफ्नो घर जोगिन्छ र रामु ध्यान दिएर पढ्न थाल्छ ।
३.२ परिवेशः
प्रस्तुत ‘रामु र श्यामुको बहादुरी’ बालउपन्यासमा काठमाडौँको परिवेश रहेको छ । अन्य कुनै ठाउँको नाम खासै उल्लेख नरहेको भए पनि शनिवारको दिन प्रमुख दुई पात्र रामु र श्यामु शनिवार पशुपतिनाथको दर्शन गर्छन् भन्ने वाक्यले काठमाडौँको भौगोलिक परिवेशमा कथानकले विचरण गरेको संकेत गरेको छ । यद्यपि कथानकको आरम्भमा ग्रामीण परिवेश देखाइएको छ ।
केही महिनाको सामयिक परिवेश ओगटेको छ कथानकले ।
उमेर नखुलाइएको बालक रामुलाई देखेर सर्कसमा मालिकहरुले दूध खाने बालकको जस्तो सर्कसमा के काम गर्ने भन्ने भाव देखाइएको छ । यद्यपि उसले आफ्नो साहसले गर्दा काम पाएको छ । काम पाएर उसले निरन्तर साहस प्रदर्शन गरेको छ । झन् आगो लागेपछि अरु मानिस जहाँ ज्यान जोगाउँदै भाग्छन्, त्यहाँ रामु आफ्नो उमेर र बुद्धि दुवैभन्दा माथि उठेर साहसिक निर्णय र काम गर्दछ । यही निर्णयलाई कार्यान्वयन गर्दा उसको सपना पूरा हुन्छ ।
यसरी यस कृतिमा सामान्य नियोजित र काल्पनिक आन्तरिक परिवेशको आयोजन गरिएको छ भने कथानकलाई पुष्टि गर्न ठाउँ ठाउँमा चित्र पनि दिइएको छ । चित्रको आकार निकै सानो छ तर विषयवस्तुसित मिल्दो चित्र परेकाले सान्दर्भिक हुन आउँछ । कृतिभित्र कथानकसँगै विभिन्न उपशीर्षकसँग सातओटा चित्र रहेका छन् ।
बालसाहित्यिक सामग्रीमा चित्र हुनु सुनमा सुगन्ध जस्तै मानिन्छ । यस कृतिमा परेका चित्रहरु अन्य विषयवस्तुको भन्दा केही गाढा कालो हुन गएका छन् । विषयवस्तुसित मिल्दो भए पनि त्यत्ति आकर्षक हुन सकेका छैनन् ।
३.३ पात्रयोजनाः
यस बालउपन्यासमा शीर्षक केन्द्रित पात्रयोजना गरिएको छ । मुख्य पात्र रामु रहेको र रामुको सहायक पात्र श्यामु रहेको छ । रामुको बुबा, आमा, सर्कसका मालिक, मोटी आइमाई आदि विभिन्न पात्रहरु कथानकको गतिशीलतासँगै आउने र हराउने गौण पात्रहरु छन् । सहायक पात्र श्यामुको भेट सर्कसमा हुन्छ र रामुकै घरमा इनाम पाएपछि रामु आफ्नो घरमा बस्छ र ऊ फेरि सर्कसमा फर्कन्छ ।
शीर्षकले बहुपात्र विधि प्रयोग गरिएको संकेत गरेको भए पनि वास्तवमा एकल नायकत्वमा कथानक रहेको छ, कृतिको सिर्जन भएको छ ।
रामुको घरका कुकुर र बिरालो, सर्कसका दर्शकहरु, विभिन्न जनावरहरु, केटाकेटीहरु आदि सूच्य पात्रका रुपमा आएका छन् ।
समग्रमा यो बालउपन्यासको आयोजन एकल पात्र विधिद्वारा गरिएको छ ।
३.४ शीर्षक सार्थकताः
‘रामु र श्यामुको बहादुरी’ बालउपन्यासको शीर्षक रहेको छ । शीर्षकले रामु र श्यामु दुई प्रमुख पात्रतिर संकेत गरेको भए पनि रामु प्रमुख पात्र र श्यामु सहायक पात्रको रुपमा उपन्यासमा रहेका छन् । उपन्यासको कथानक रामुसँगै घुमेको छ । रामुको घरबाट कथानकको आरम्भ भएको छ र फेरि घुमेर रामुको घरमै गएर वृत्तकारिय शैलीमा कथानक टुंगिएको छ । रामुको घर बेच्ने कुरासँगै कथानक सुरु भएको र नबेचिने निष्कर्षसँगै कथानक समापन भएको छ । रामुको घर नबेचिने भएपछि रामु फेरि विद्यालय जान्छ भने श्यामु फर्केर फेरि सर्कसमा नै जान्छ । सोझो रुपमा हेर्दा सहायक पात्रलाई समेत महत्व दिएर यस बालउपन्यासको शीर्षक राखिएको देखिन्छ जसलाई सार्थक नै मान्नुपर्छ । यद्यपि यसमा मुख्य रुपमा ‘रामुको बहादुरी’ देखिएको छ । उपन्यासको शीर्षक ‘रामुको बहादुरी’ राखिएको भए पनि अन्यथा हुने थिएन ।
३.५ उद्देश्य–सन्देशः
यस बालउपन्यासको पहिलो उपशीर्षकले नै मुख्य उद्देश्य किटान गरेको छ – आफ्नो घरजस्तो रमाइलो र प्यारो अन्यत्र हुन सक्दैन । यही उद्देश्य प्राप्तिको लागि रामुको संघर्ष सुरु हुन्छ । उसले घर त्याग्छ, बाल्यावस्थामा सर्कसमा कठिन काम गर्छ, आगो लाग्दा धेरैको ज्यान जोगाउँछ । इनाम पाएर उसले आफ्नो घर जोगाउँछ । घर जोगिएपछि पुनः पहिलेजस्तो पढाइतिर फर्कन्छ । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसिको भाव सञ्चरण नै यस कृतिको मुख्य उद्देश्य रहेको देखिन्छ ।
यस कृतिका नायक पात्र रामुका पिता शिक्षक हुनुहुन्छ । आमा गृहिणी । एक शिक्षकको परिवारले ऋण लाग्दा घर नै बेच्नुपर्ने अवस्था रहेको देखाइएको छ र एक बालकको शान्त विद्रोह र साहसले घरलाई जोगाएको छ । रामुको साहसलाई दुस्साहस नै भन्नुपर्छ तर रामु उमेरभन्दा बढी जिम्मेवार भइदिएको छ । रामु सर्कसमा हुँदा पनि निकै कठिन संघर्ष गर्छ, कडा परिश्रम गर्छ । सफलता पाउँछ । हो, बालबालिकाले पढाइ होस् वा अन्यत्र, कडा परिश्रम गरेमा सफलता पाइन्छ भन्ने सन्देश यस कृतिले दिएको छ ।
४. लेखिका परिचयः
मधेश प्रदेशमा अञ्जदेवी भट्टराई साहित्यिक क्षेत्रमा परिचित नाम होइन । प्रस्तुत ‘रामु र श्यामुको बहादुरी’ बालउपन्यासको कभर पृष्ठको मुख्य भागमा लेखिको नाम ‘अञ्जुदेवी भट्टराई’ र अन्तिम पृष्ठमा ‘अन्जुदेवी भट्टराई’ लेखिएको छ । कभरबाहेक २४ पृष्ठको यस पुस्तिकामा लेखिका भट्टराईको जन्म २ चैत २००९ मा सिन्धुली जिल्लाको तीनपाटनपैरेमा भएको उल्लेख गरिएको छ । हालको बसोबास सर्लाही जिल्लाको हरिवन नगरपालिका ८ पुरानो बजार रहेको उल्लेख गरिएको यस कृतिको पहिलो प्रकाशन २०२९ मा भएको बताइएको छ । जन्मको थर घिमिरे रहेको कृतिमा उल्लेख गरिएको छ । २०२४ मा पार्थमणि भट्टराईसित विवाह भएपछि संस्कृतिअनुसार भट्टराई भएकी लेखिकाको यो कृति २०२९ मा पहिलोचोटि प्रकाशन भएको देखिन्छ । लेखिका भट्टराईको यो पहिलो र अहिलेसम्मको अन्तिम कृति हो । अन्य कृति नभएको लेखिका भट्टराई स्वयंको स्वीकारोक्ति छ । पचास वर्षपहिले कृति प्रकाशन भएको र त्यही कृतिलाई पुनः प्रकाशन पचास वर्षपछि गरिएको छ । सम्भवतः साहित्यिक सक्रियता नभएको कारणले मधेश प्रदेशमा भट्टराईको पहिचान लेखिका वा साहित्यकारको रुपमा खासै बन्न नसकेको यथार्थ देखिन्छ ।
५. दाबीको मूल्याङ्कनः
कृतिमा डा. श्याम भट्टराईले ‘नेपाली बालसाहित्यको जेठो उपन्यास हो, रामु र श्यामुको बहादुरी’ भनेर दाबी गरिएको छ ।
यसै गरी लेखिका भट्टराईका श्रीमान् पार्थमणि भट्टराईले सार्वजनिक कार्यक्रममै यस कृतिलाई मधेश प्रदेशको पहिलो बालसाहित्यिक उपन्यास भनेर दाबी गरेका छन् ।
सामान्य रुपमा हेर्दा पहिले यो कृतिको पहिलो प्रकाशन २०२९ मा भएको हो कि होइन ? भन्ने तथ्यलाई विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको प्रमोद प्रधानद्वारा लिखित ‘नेपाली बालसाहित्यको इतिहास’ पुस्तकको दोस्रो संस्करणले यो पुष्टि गरेको छ कि अञ्जनादेवी भट्टराईको ‘रामु र श्यामुको बहादुरी’ २०२९ मा प्रकाशित भएको हो । यो कृति नेपाली बालसाहित्यको पहिलो उपन्यास भने होइन । २०२२ मा प्रकाशित भद्र थापा साबीको साबु नेपाली बालसाहित्यको पहिलो बालउपन्यासको रुपमा रहेको उल्लेख पाइन्छ । यसै गरी मधेश प्रदेशको पहिलो बालसाहित्यिक कृति वा पहिलो बालउपन्यासको विषयमा पनि अनुसन्धान हुनुपर्ने आवश्यकता छ ।
६. निष्कर्षः
मधेश प्रदेशको नेपाली बालसाहित्यको क्षेत्रमा अञ्जना भट्टराईको ‘रामु र श्यामुको बहादुरी’ एउटा उपलब्धि हो । पचास वर्षको उमेर पुगिसकेको यो कृति ‘बालउपन्यास’ भन्दा ‘लघुउपन्यास’ हो । डिमाइ साइजमा २५ पृष्ठको कृतिमा पृष्ठ ५ देखि १९ सम्म मात्र यसको कथाको विस्तार भएको छ जसमा विभिन्न आठ ओटा चित्रहरु यिनै पृष्ठभित्र समाविष्ट छन् ।
रोचक शैलीमा सरल रेखाको जस्तो सलल बगेको यो उपन्यास बालबालिका लागि अहिले पनि उपयुक्त हुने देखिन्छ । यत्ति पुरानो भए पनि बालमनोरञ्जन तथा बालशिक्षा दुवै दृष्टिकोणले यो अझै पनि उपयुक्त रहेको छ । कतिकार भट्टराईलाई धेरैले नचिने पनि यस कृतिले भने कृतिकार भट्टराईलाई नेपाली साहित्यको क्षेत्रमा अमरत्व प्रदान गरिसकेको छ । कृतिकार भट्टराईबाट अझै यस्ता बालसाहित्यिक कृतिको स्वाभाविक अपेक्षा गर्न सकिन्छ ।






