छठी माताको शक्तिप्रति व्रतालुको अगाध आस्था

[mashshare]

रासस
रौतहट ।

‘आजभन्दा करिब ४५ वर्ष अगाडिको छठ मनाउन छठीघाट जाँदा मेरो छोरा सानै थियो । रातिको समयमा बाबुले छठीमाइको मन्दिरमा अञ्जानबस पिसाव फेरिदिएछ ।’ छठी माताप्रति आफूहरुको आस्था, माताको शक्ति र पर्वको महत्वबारे रौतहटको बौधिमाई नगरपालिका–९, सरमजुवा निवासी ७१ वर्षीय मुरलीधरप्रसाद चौधरीसँग अनगिन्ति अनुभव र घटना जोडिएका छन् ।

पुराना राजनीतिक कार्यकर्तासमेत रहेका उनले भने, ‘बाबुले त्यस्तो गरेपछि मैले तत्काल दुई हात जोडेर छठी मातालाई प्रणाम गर्दै आगामी वर्षको छठमा म आफैँ यसको सजाय भोग्छु, मेरो छोरालाई केही नहोस् भनेर प्रार्थना गरेँ । सङ्कल्पअनुसार अर्को वर्षको छठ पर्वमा घरबाट करिब आधा घन्टाको पैदल यात्रा लाग्ने छठघाटसम्म दण्ड भोगेको थिएँ । माताको कृपाले मेरो बाबुलाई केही भएन ।’ चौधरीले लामो दूरीको बाटोमा पूरै शरीरले नाप्दै ‘लम्पसार पर्दै’ पुगेर छठीमातासँग क्षमा मागे ।

तराई–मधेशको महत्पूवर्ण चाड छठ पर्वका अवसरमा केही वर्षअघिसम्म अहिलेको जस्तो पाण्डाल बनाउने, सङ्गीत बजाउने र सजाउनेजस्ता कार्य नभए पनि परम्परादेखि नै श्रद्धा र भक्तिपूर्वक छठ मनाउँदै आइएको उनले बताए । अहिले सजावटसहित व्यवस्थितरुपमा छठ मनाइनु र तराई–मधेशका हिन्दू धर्मावलम्बीका साथै अन्य भूगोल तथा धर्मका मानिसले छठप्रति आस्था प्रदर्शन गरेको देख्न पाउँदा खुसी लागेको चौधरीको भनाइ थियोे ।

पछिल्ला समयमा छठ पर्वलाई उत्सवकैरुपमा मनाउने गरिन्छ । पर्वका लागि साउन्ड सिस्टमसहित नाचगान र भीडभाड हुने भएकाले सुरक्षा व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले छठ पर्वका बेलामा जिल्लाको बढी भीडभाड हुने स्थानहरु राजपुर, गौर, इस्नाथ, वृन्दावन, चपुर, गढीमाई, देवाही गोनाही, दुर्गा भगवतीलगायत स्थानमा सुरक्षाका लागि आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । पर्वका अवसरमा चोरी र लुटपाट हुनसक्ने भएकाले गस्ती परिचालनसँगै आफू पनि समय समयमा कतिपय स्थानमा पुग्ने गरेको उनले बताए ।

केही दिनअघि बङ्कुर बजारस्थित दुई मोबाइल पसलमा चोरी भएपछि प्रहरी र स्थानीय तहले सुरक्षा व्यवस्थालाई थप चासो दिएका छन् । छठ घाटका लागि जिल्लाको १६ वटा नगरपालिका र दुई गाउँपालिका गरी करिब तीन सय घाट बनिसकेको छ । यहाँका गौरस्थित पोखरीका साथै लालबकैया, बागमती, भकुवा खोला, अणुवा खोला, भरओखर पोखरी, इनारवारी पोखरीमा घाटको सजावट भइसकेको छ भने व्रतालु तथा भक्तजन पूजा सामग्रीसहित छठ घाटतर्फ जान थालेका छन् । बौधिमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवले पालिकाबाट छठको ठूलो महत्व रहेको र यसलाई स्थानीयवासीले उत्सवका रुपमा लिने गरेकाले हरेक छठ घाटमा सरसफाईका साथै शौचालयका साथै सुरक्षा प्रबन्धका लागि पनि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए । यही नगरपालिकाका पूर्वप्रमुख राजीव रञ्जन यादवले आफ्नो व्यक्तिगत पहलमा पनि केही छठ घाटमा टेन्ट र सजावटका लागि सहयोग गरेको उनको भनाइ थियोे ।

बौधिमाई नगरपालिका–८ का पूर्ववडा सदस्य प्रेमादेवी ठाकुरले आफ्ना श्रीमान् र छोराछोरीको सुस्वास्थ्य र दीर्घायुका लागि विगत दुई दशकदेखि व्रत लिँदै आएकीले छठी माताले आफूहरुलाई कल्याण गरेको अनुभव सुनाइन् । दुई दशकअघि आफ्नो सासू बितेपछि ठाकुरले व्रतको जिम्मेवारी सम्हाल्दै आएकी हुन् ।

हरेक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म पृथ्वीका सबै प्राणी र वनस्पतीलाई समानरुपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै सूर्य देवता र छठी देवीको पूजा अर्चना गर्ने गरिन्छ । यस पर्वमा नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिइन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षाबमोजिम फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट अन्त्य हुने जनविश्वास रहेको छ ।

छठ पर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवम् एकताको प्रवद्र्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने अपेक्षा गरिएको छ । तराई–मधेशको महत्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त हुँदा समाजमा चोरी र आपराधिक गतिविधि गर्नेले मौका छोप्ने भएकाले सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । रौतहटको बङ्कुल बजारस्थित दुई मोबाइल पसमा गए राति २० लाख रुपैयाँ भन्दा बढी सामानको चोरी भएको थियो । घटनामा संलग्न व्यक्ति हालसम्म पत्ता लागेका छैनन् ।

भारतको घोडासहान सिमानासँग जोडिएको बजारमा बिहार प्रान्तमा जाँड रक्सी निषेध गरिएकाले मदिरा सेवनका लागिसमेत भारतबाट मानिस नेपाल आउने–जाने गर्दछन् । खुला सिमानाका कारण चोरी र आपराधिक क्रियाकलाप हुने गरेको र यस क्षेत्रमा खटाइएका प्रहरी जनशक्ति र उनीहरुका लागि स्रोतसाधन अपर्याप्त रहेको सुरक्षाकर्मीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button