
निरन्जनकुमार साह
जनकपुरधाम।
जनकपुरधाममा वैचारिक बहसमा सक्रिय रहनेबीच मधेश मानसको आयोजनामा विभिन्न विषयमा बहस भएको छ । जनकपुरधामको गंगासागर डिलमा भएको बहसमा पहिलो सत्रमा २५ वर्षपछिको जनकपुरधामबारे चर्चा भएको हो । पहिलो सत्रका वक्तामध्ये जनकपुरधामका मेयर मनोजकुमार साहले जनकपुरधामलाई नयाँ रिङ्गरोडमा समेटेर भारतको अयोध्यासम्म रेलसेवा, राजर्षिजनक विश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र हरित वातावरणका लागि वृक्षारोपणसहितका विविध विषय कल्पना गरे ।
जनकपुरधामका उपप्रमुख किशोरी साहले नगरप्रमुखको सपनामा समर्थन जनाउँदै जनकपुरधाममा सुधार भएको र अझै गर्नुपर्ने काममा सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
मधेश प्रदेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले प्रदेशको सहयोगमा संघीय सरकार बाधक रहेको भन्दै अझै पनि केन्द्रिकृत सोच हावी रहेकाले चाहेको जस्तो विकास गर्न नसकिएको बताइन् । सत्रका अर्का वक्ता प्रा.डा. भोगेन्द्र झाले अतीतविनाको योजना कामै लाग्ने नसक्ने भन्दै योजना बनाउँदा अतीतलाई नबिर्सन आग्रह गरे। झाले जनकपुरधामको विकास गर्दा फराकिलो सोचका साथ दीर्घकालीन मजबुत योजना बनाउनु पर्ने बताए । डा. झाले जनकपुरधाममा फराकिलो पारिएको सडक र बनाइएका ढल दीर्घकालीनरुपमा मजबुत नरहेको बताए । उनले जनकपुरधामको अतीत शिक्षा पनि रहेको र अहिलेको शिक्षा बर्बाद भएकाले सबै सरकारले सोच्नुपर्ने बताए ।
दोस्रो सत्रः मधेशको निराशाभित्र लुकेको आशा
यस सत्रका वक्ताहरु दुई समूहमा विभाजित भए । पूर्वमन्त्री ज्ञानेन्द्र कुमार यादव संघीयता मधेशका लागि अपरिहार्य रहेको र कुनै विकल्प नरहेको तर्क गर्दा मधेश आन्दोलनकै अगुवा विभा ठाकुर र सरोज कुमार मिश्रले त्यसको प्रतिवाद गर्दै जनताले सपनामा देखेको संघीयता र अहिलेको संघीयता फरक रहेको बताउदै व्यापक असन्तुष्टि व्यक्त गरे।
यद्यपि पूर्वमन्त्री यादवले संघीयता पक्ष शक्तिले पनि संघीयता कार्यान्वयन भन्दा अन्य विवादमा फसेकाले समस्या र असन्तुष्टि देखिएको बताए । ठाकुर र मिश्रले मधेश आन्दोलनका अगुवा युवाको हालत बिजोग हुँदा पनि मधेश केन्द्रित दललाई कुनै प्रभाव नपर्दा संघीयताप्रतिको आकर्षण घट्दै गएको र संघीयता पक्षधर आवाज बुलन्द हुन नसकेको बताए ।
राजनीतिक विश्लेषक राकेश मिश्रले संविधान निर्माणक्रममा संघीयता पक्षधर मुख्य मधेश केन्द्रित दलहरुकै कमजोरी भएको बताए । संविधानमा संघीयताको हितका लागि कुनै पनि बुँदा नरहेको अवस्थामा लाइन लागेर संविधान घोषणामा मत खसालेका मधेशी नेताहरुले प्रदिप गिरी र प्रभु साह जस्तो साहस देखाउन नसक्दा गल्ती भएको पनि बताए ।
तेस्रो सत्रमा विचारक सिके लाल
तेस्रो सत्रका एकल वक्ता विचारक सिके लालले छठ पर्वको सामाजिक तथा सांस्कृतिक महिमाको बखान गरे । छठ पर्वमा प्रकृति पूजा, प्रयोग र पदतिका साथै छठले बसाएको सामाजिक सद्भाव, एकता र अनेकानेक विशेषताको विषयमा बोलेका लाल छठबाट वर्तमान राजनीतिक दलका नेताहरु पाठ सिकेर राजनीतिमा पनि सुधार गर्नुपर्ने सुझाव दिए।
परम्परागत छठले विभेदको अन्त्य गरिसक्दा पनि वर्तमान राजनीतिक दल र सरकारले किन गर्न सकिरहेको छैन ? भावसहितको उनको मन्तव्यले धेरै थोक दर्शाइरहेको थियो । छठ पर्वमा पुरोहित, मन्त्र कुनै पनि सहजकर्ता र समन्वय नरहेको भन्दै लालले यस पर्वमा वर्तालु र प्रकृति सूर्य देवता र छठी मईयाको बीचमा सीधा संवाद हुने पर्व रहेको बताए ।
छठमा मन्त्र हुँदैन उनले भने, ‘लोकगीत र जनहित हुने पर्व हो यो ।’ समाजमा ठूला र साना जातको वर्गीकरण रहेको अवस्थामा छठले सबैलाई एक ढिक्का पारेकाले यो पर्व वर्ण र लिङ्ग बिमुख पर्व रहेको उनले बताए । सिके लालले भने, ‘पहिला आफूलाई ठूला जात भन्नेले छठ गर्थेनन्, पछि बग्दै गरेको नदीमा गर्न थाले र पानीको बहावअनुसार स्थान व्यवस्थापन गर्थे, पछि पोखरीमा पनि छठ हुन थालेपनि विभेद आफैँ समाप्त भयो र छठ विस्तारित पर्व बन्यो ।’ तिनै सत्रको सहजीकरण मधेश मानसका अगुवा मनोज साह, नविन झा र अनुज मिश्रले गरेका थिए ।









