आज नेपाल संवत् र म्हःपूजा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नयाँ वर्ष नेपाल संवत् ११४४ आजबाट सुरु भएको छ । नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने यो संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी सुरुवात गराएको इतिहास छ । पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत् मानिएको नेपाल संवत् लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएर पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत् मानेर चलेको थियो । लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।

नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ ।

म्हः(आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button