जसपामा समानान्तर घोषणापछि कारबाहीको तयारी

[mashshare]

अनिल पोखरेल
राजविराज ।

जनता समाजवादी पार्टी (.जसपा) नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले पार्टीविरोधी क्रियाकलापमा संलग्नमाथि कारबाही गर्ने बताएका छन् । जसपा सप्तरीद्वारा राजविराजस्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टीमा बसेर अन्तरघात गर्ने नेताकार्यकर्तामाथि कारबाही हुने बताए । ‘केही व्यक्तिले कार्यकर्ता झुक्याएर गुटको भेला गरी अवैधानिक समिति गठन गरी घोषणा गरेको सार्वजनिक भएको छ,’ उनले भने, ‘यस्तो कार्य जसपाको विधानविपरीत र पार्टीविरोधी हो, शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले उनीहरूमाथि छानबिन गरी कारबाही गर्ने निर्णय गरिसकिएकोछ, कारबाही प्रक्रिया अगाडि बढाउँछौ ।’

कतिपय कार्यकर्ता अन्योलमा परेर गएको हुनसक्ने बताउँदै अध्यक्ष यादवले उनीहरूलाई सफाइको मौका दिइने तथा पार्टीलाई कमजोर पार्ने योजनामा जानिजानी गुट भेला आयोजना गर्नेको पहिचान गरी कारबाहीस्वरुप पहिलो चरणमा स्पष्टिकरण सोधिने बताए । उनले चित्तबुझ्दो जवाफसहित आत्मालोचना नगर्ने कार्यकर्तामाथि पार्टी विधानअनुसार कारबाही हुने स्पष्ट पारे ।

अध्यक्ष यादवले जिल्लास्तरीयसम्मकालाई जिल्लाबाटै कारबाही हुने र माथिल्लो तहका लागि प्रदेश र केन्द्रमा नाम सिफारिस गर्ने जिल्ला समितिको निर्णय बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उनले जिल्ला कार्यसमिति निष्क्रिय भनी लगाएको आरोप निराधार रहेको टिप्पणी गरे । ‘पार्टीको तीनमहिने संगठन विस्तार अभियानको तत्कालीन पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले असोज २२ गते उद्घाटन गरेपछि जिल्लाभर पार्टीको सांगठनिक गतिविधिले तीव्रता लियो,’ उनले भने, ‘निष्क्रिय भनी आरोप लगाउने व्यक्तिहरू नै गाउँपालिकास्तरीय संगठन विस्तार अभियानमा मसँगै पूर्णरुपले सहभागी थिए, मनगढन्ते आरोप लगाएर हुन्छ ? यो सरासर पार्टीलाई कम्जोर पार्ने रणनीति मात्रै हो ।’

कार्यकर्तालाई झुक्याउने उद्देश्यले पार्टी केन्द्रीय अध्यक्षको फोटो र पार्टीको झण्डा दुरुपयोग गरेको बताउँदै अध्यक्ष यादवले शुभकामना आदानप्रदान कार्यक्रम भनी ब्यानरमा उल्लेख गरी कार्यकर्तालाई बोलाएर समानान्तर समिति घोषणा गरेको आरोप लगाए । पार्टी संगठन निर्माणको कार्यले गति लिएको देखेर त्यसलाई रोक्न पार्टीविरोधी मानसिकता भएकाले गतिरोध सिर्जना गर्न पार्टी विरुद्ध क्रियाकलाप गरेको उनको आरोप थियो ।

पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउँदै अध्यक्ष यादवले पार्टीविरुद्ध हुने कार्यक्रममा उपस्थित नहुन नेताकार्यकर्तालाई आग्रह गरे । पत्रकार सम्मेलनमा पार्टी जिल्ला उपाध्यक्ष हरेराम यादव, उपसचिव शम्भु कुमार यादवलगायतका जिल्लास्तरीय नेताकार्यकर्ताको उपस्थिति थियो । जसपा असन्तुष्ट पक्षका भेलाले पार्टीको केही शीर्ष नेताहरूको उपस्थितिमा कार्तिक २२ गते पार्टीका जिल्ला उपाध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समानान्तर जिल्ला समिति घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button