
मधेशदृष्टि
सर्लाही ।
सदरमुकाम मलङ्गवामा बुधबार सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गर्नुअघि प्रशासनले दुर्गा मूर्ति परिक्रमा गर्न नदिएपछि सहभागिता कम भएको छ ।
विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच विवाद भएकाले सुरक्षा शतर्कता अपनाउँदै प्रशासनले नै विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरेएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । यस वर्ष सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिए पनि विसर्जनमा सर्वसाधारणको सहभागिता घटेको हो ।
विगत वर्षको मार्गमा दुर्गाजीको मूर्ति घुमाउन सुरक्षाकर्मीले नै नदिएपछि आपत्ति जनाउँदै अधिकांश सर्वसाधारण मूर्ति विर्सजनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिए । यसअघि मलङ्गवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झड्प भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो भने धार्मिक सद्भाव भड्किएका सर्लाहीसहित चार जिल्लामा सिडिओ नै फेर्नु परेको थियो ।
मार्गबारे विवाद भएपछि मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विर्सजन गर्न सर्वसाधारण नआएर ढिलाई भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पङ्कज कर्णले जानकारी दिए । मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विसर्जनका लागि सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।






