गैरनेपालीका नाममा ७५ प्रतिशत नेपाली ग्राहक, क्यासिनोले बनाउँदै कंगाल, निम्त्याउँदै आत्महत्या

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

प्रकरण १ः
बारा, कलैया घर भई कलैयामा किराना पसल गरी बस्ने एक व्यवसायीलाई जुवाको यस्तो लत लाग्यो कि, उनले वीरगंजमा रहेको क्यासिनोमा २८ लाख रुपैयाँ हारे । अहिले उनी पछुताइरहेका मात्र छैनन्, डिप्रेसनमा गएका छन् । पसल नै बन्द गरेका बसेका छन् ।

प्रकरण २ः
बाराकै, फेटा, भलुहीका एक भद्रभलाद्मीमा गनिने व्यापारी क्यासिनोको कुलतले बिल्लीबाठ भएका छन् । उनलाई जिन्दगीदेखि पछुतो छ । परिवारलाई धोका दिएकामा पश्चात्ताप छ । अनि गाउँघरको क्यासिनोले हैसियत सडकमा पु¥याएकोमा आक्रोश र जिन्दगीको गम्भीर गल्ती भनेर आत्मग्लानी पनि छ । तर भन्ने कहाँ, गर्ने के ? आफैँ सडकमा छन् ।

प्रकरण ३ः
घर नजिकै सीमावर्ती सहर नेपालको वीरगंजमा क्यासिनो छ । साथीभाइसँग जाने लत पनि बस्यो । गाइयो, रमाइलो गरियो । तर दिनदिनै क्यासिनोमा हार्दै गएपछि आर्थिक अवस्था टाट पल्टियो । गाउँघरकाले त के घर परिवारकैले थाहा पाएनन् कि, कसरी यस्तो भयो ? सबैले चासो लिन थाले । सोधपुछ र हारको तनावले भारत, मोतिहारीका क्यासिनो ग्राहकले आत्महत्या गरे । पछि थाहा पाए परिवारले कि उनी वीरगंजको क्यासिनोले यो अवस्थामा पुगेका रहेछन् । उनले विवाह भएको एक महिना नबित्दै विवाहमा आएको २० लाख नगद, सुनचाँदी, मोटरसाइकल समेत बिक्री गरेर किङ्स क्यासिनोमा जुवा खेले । सबै हारे । विक्षिप्त बनेर मोतिहारी पुगेर रेलको लिकमा आत्महत्या गरे ।

यी त केही उदाहरण हुन् । उसो त वीरगंजमा सञ्चालित क्यासिनोमा दैनिकरुपमा दर्जनौँ ग्राहक पुगेकै छन् । जात्रा, मन्दिर पनि होइन, धेरै जना पुग्न र देखिनलाई । त्यहाँ गएर सेल्फी हान्ने, टिकटक बनाउने कुरा पनि भएन दुनियाँलाई देखाउनलाई । पैसावाला थोरै तर चाँडै बिग्रन, सिध्दिन चाहनेलाई घरआँगनमै जुवाघर (क्यासिनो) चलाइदिएपछि ‘साथीसँग छु,’ ‘साथीकहाँ जान्छु,’ ‘एकैछिनमा आइहाल्छु,’ ‘आज नआउन पनि सक्छु’ भनेर घरपरिवारलाई ढाँटेर क्यासिनो पुग्नेहरु अहिले चुर्लुम्म डुबेका छन् । चाडपर्वका बेला साथीभाइको ऋण तिर्न नसक्ने अवस्थामा छन् । यस्ता थुप्रै उदाहरणहरु मधेशदृष्टिमा आइपुगेका छन् । राति किन ढिलो घर आएको भन्दै घरमा चर्किने झगडाले वरपरको सद्भावमै समस्या आएको छ । यी सबैको कारण हो वीरगंजका क्यासिनो अर्थात् जुवाघर ।

वीरगंजमा गैरनेपालीलाई सेवा दिने भनेर क्यासिनो सञ्चालनमा छ । राति २ बजेसम्म सञ्चालनमा रहने यस्ता क्यासिनोले गैरनेपालीका नाममा वीरगंज, हेटौँडा, बारा, रौतहटका नेपालीलाई पनि छिराएर आर्थिकरुपमा बेहाल बनाएको छ । क्यासिनो जाने कुलतले आर्थिक अवस्था एकाएक कमजोर भएर सडकमा पुग्ने क्रम बढेको छ । हेर्दाहेर्दै सामाजिक हैसियत भएकाहरु सडकमा आइपुगेपछि कारण खोज्दा राति हराउने र क्यासिनो पुग्नेहरु नै यस्तो अवस्थामा पुगेको पाइएको छ । भारतीय ग्राहकका लागि भनेर खोलिएका क्यासिनोले वीरगंज आसपासमा मान्छे मात्र बिगारेको छैन, भारतीयले त आत्महत्या गरेका छन्, नेपाली पनि त्यही नियतीमा पुग्दैछन् ।

को को सकिए ?
गैरनेपालीका लागि भनिए पनि नेपाली पनि क्यासिनोमा जाने गरेको लुकेको छैन । प्रहरी प्रशासनले नदेखेजस्तो गर्ने र क्यासिनो व्यवस्थापनले नेपाली नआएको रिपोर्ट गर्ने पुरानै चलन हो । यसरी हुलिया लुकाएर क्यासिनो पुग्नेहरुमा थिए केही वीमा कम्पनीमा स्थानीय प्रमुखहरु । उनीहरु अहिले बिल्लीबाठ भएका छन् । क्यासिनोमा जाने भनेको पैसा हुनेहरु हो, क्यासिनोका ग्राहक ७५ प्रतिशत नेपाली नै हुने गरेको लुकेको छैन । केही समयअघि सन्दिप सरावगीले ४९ लाख रुपैयाँ जितेपछि क्यासिनो ‘नेपालीका लागि पनि हो’ भन्ने पुष्टि भएकै छ ।

वीरगंजमा सञ्चालित क्यासिनोहरु
क. बाराको सिमरास्थित इच्छा होटलको स्माइल कलेक्सन
ख. वीरगंजको दियालो लर्डस्मा किङ्स
ग. हिमाल वाटरपार्क एन्ड भिलेजको क्यासिनो
घ. वीरगंजको होटल सुरजको रक इन्टरनेशनल
ङ. सिएमजीको भिस्वा
च. क्लार्क रिसोर्टको ह्यापी आवर

पर्वतारोहण, होटल तथा अनुगमन शाखाका प्रवास भट्टराइका अनुसार मधेश प्रदेशमा चारतारे २ वटा र पाँचतारे १ वटा होटल छन् । उनका अनुसार चारतारेमा वीरगंजका दियालो र हिमाल वाटरपार्क एन्ड भिलेज छन् भने पाँचतारेमा एउटा मात्रै सिमराको इच्छा होटल छ ।

चारतारे होटलको मापदण्ड
क. क्षेत्रफलको ४० प्रतिशतमा संरचना बनाउनु पर्ने ।
ख. होटलले दिने सुविधा लबीबाटै थाहा पाउने गरी उल्लेख हुनुपर्ने ।
ग. ३० वटा देशको झण्डा राख्न मिल्ने पोल राख्नुपर्ने
घ. अन्तर्राष्ट्रिय मापदण्डका खेल खेल्न मिल्ने सुविधा हुनुपर्ने ।

चारतारे र पाँचतारे होटलमा मात्रै क्यासिनो सञ्चालन गर्न पाउँने क्यासिनो नियमावलीमा व्यवस्था छ । नियमावली विपरीत क्यासिनो सञ्चालनमा रहँदा र नेपालीलाई नै ग्राहक बनाउँदा पनि प्रहरी प्रशासन रमिते बनेको चैँ पक्का हो । दियालो होटलको क्यासिनोका सञ्चालक अनिल रुँगटा हुन् भने क्लार्क रिसोर्टका सञ्चालक सुनिल खेतान हुन् ।

के हुन्छ यहाँ ?
वीरगंजका सबै क्यासिनोमा ‘कार्ड गेम’ र ‘डेक्रेट कार्ड गेम’ हुने गरेको छ । यो खेलाउन मिल्दैन । एकातिर खेलाउन नमिल्ने गेम, अर्कातिर गैरनेपाली भनेर नेपालीहरु नै ७५ प्रतिशत ग्राहक । अनि थोरैथोरै कमाइ भएपछि क्यासिनो छिर्नेहरुको बेहाल, बिल्लीबाठ र आत्महत्या अनि परिवारको बिचल्ली । यस्ता क्यासिनोले नेपाली बिगारिरहँदा प्रहरी प्रशासनले किन नियन्त्रणको प्रयास गरेन ? के उनीहरुलाई लाग्ने गरेको ‘महिनावारी’ चार्ज सही हो त ? होइन भने सर्वसाधारणले राति १० नबज्दै बत्ती निभाएर सुत्नु पर्ने, अपराधको उद्योग चैँ त्यसपछि सुरु हुने ? स्रोतको दाबी छ, ‘दियालो लर्डस्मा त एकजना प्रहरी अधिकृतको पनि साझेदारी छ भने वीरगंजदेखि सिमरासम्म चर्चा छ ।’ उनले नै क्यासिनोमा एउटा टेबलसमेत बुक गर्ने गरेका छन् । नेपाली ग्राहक छिराइएकोबारे बारा र पर्सा प्रहरीलाई राम्रो जानकारी छ । नेपाली ग्राहक छिरे पनि कुनै ‘एक्सन’ नलिन क्यासिनो सञ्चालकहरुले प्रहरी प्रशासनलाई ‘मोटो रकम’ बुझाउने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button