
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९५ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित रौतहट, कटहरिया नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय धर्मेन्द्र महरा, २१ वर्षीय दिपेश दास र मकवानपुर, राक्सिराङ–२ का विजय तामाङलाई पक्राउ गरेको छ ।
मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशमा नक्कली नेपाली नोटको बिगबिगी रहेको र यस्तो नोट हेटौँडा, पोखरा र काठमाडौँसम्म पु¥याउन गिरोह सक्रिय भएको पाइएको छ । गिरोहका सदस्यहरुले भारतमा नक्कली नोट छापेर मधेशका जिल्लाहरुसँगै प्रमुद व्यापारिक केन्द्रमा पनि नक्कली नोट पु¥याउने कामलाई तीब्रता दिइएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९५ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेबाट पनि नक्कली नोटको कारोबारीको सक्रियता कायमै रहेको पुष्टि हुन्छ । प्रहरीले रौतहट, कटहरिया नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दिपेश दासलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
प्रहरीले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट उनीहरुलाई पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई मन्दिर क्षेत्रस्थित सडकखण्डमा पैदल हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उनीहरूले नक्कली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४० वर्षीय विजय तामाङबाट लिएको बयान दिएका थिए । बयानका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले तामाङलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।
रौतहटका युवाहरुलाई नक्कली नोट ओसारपसारमा प्रयोग गरिएको पाइएको छ भने नक्कली नोट मकवानपुरको विकट गाउँसम्म पुगेको यो घटनाले पुष्टि गरेको छ । मकावानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ कुनै व्यापारिक कारोबार हुने केन्द्रबजार होइन । सामान्य यातायात सुविधा पुगेको गाउँमा यति ठूलो परिणाममा नक्कली नोट संग्रह हुनु पक्कै गिरोहले सुरक्षित स्थल खोजी गरेको अनुमान प्रहरीको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ ।
सीतामढीमा छापिन्छ नक्कली नोट
मधेशदृष्टि दैनिकले भारतीय भारतीय सीमावर्ती क्षेत्रमा बसेर नेपाली नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय भएको समाचार दुई साताअघि नै प्रकाशन गरेको थियो । गिरोहले भारत, बिहारस्थित सीतामढीनजिकको एक गाउँमा एक हजार दरका नक्कली नेपाली नोट छपाएर नेपालमा बजारीकरण गरिरहेको विषय बाहिर आएको थियो । यो तथ्य नेपाल प्रहरीले नै बाहिर ल्याएको हो । सीतामढीमा लामो समयदेखि जाली नोट कारोबारमा संलग्न महमद सलिमको गिरोहले करोडौँ नक्कली नेपाली नोट छापेर मधेशका विभिन्न नाकाबाट नेपाल भित्र्याउने काम गरिरहेको प्रहरीले नै सार्वजनिक गरेको हो ।
कति नोट छन् बजारमा ?
पछिल्लो छ महिनामा मधेशका नाकाबाट एकहजार दरका १० करोड भन्दा बढी नक्कली नेपाली नोट मधेशसँगै नेपालका विभिन्न ठाउँमा पु¥याइएको अनुसन्धानमा देखिएको कथियो । जाली नोटको कारोबार गर्ने गिरोहले सीमावर्ती सीतामढी नजिकैको एउटा गाउँमा घर भाडामा लिएर भारतीय पैसासँग नेपाली नोट साटने गरेको थियो । सलिमको समूहले एकलाख भारतीय रुपियाँ बराबर तीन लाख नेपाली नक्कली नोट दिने गरेको र यो कार्यमा केही नेपालीको पनि संलग्नता रहेको प्रहरीले बताएको थियो । स्रोतका अनुसार, बारा, सर्लाही, महोत्तरी, सिराहा, हेटौँडा, पोखरा र काठमाडौँ घर भएका नेपालीको समेत जाली नोट ओसारपसार र कारोबारमा संलग्नता छ ।
बैंक कर्मचारीको पनि संलग्नता ?
मधेशका विभिन्न सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकका मुख्य जिम्मेवारीमा रहेका केही कर्मचारीको समेत नक्कली नोट सटहीमा संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो । जिल्ला प्रहरी कार्यालय बाराले सीमावर्ती भारतीय सहरमा जाली नोटको कारोबारमा संलग्नलाई पक्राउ गरेको थियो । बारा प्रहरीले सीतामढीमा पुगेर महमद सलिमको अखडामा छापा मारेर उसलाई पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको थियो ।
तीन महिना जेल सजायपछि उनी कारागारमुक्त भएर पुनः भारतका विभिन्न सहरमा नेपाली नोट छाप्ने मेसिन नै राखेर सक्रिय भएको प्रहरीको भनाइ छ । कलैया, वीरगंज र रक्सौलमा बसेर हुण्डीको कारोबार गर्ने केही व्यक्तिले भारतीय नोटको प्रबन्ध मिलाइदिने गरेको स्रोतको दाबी छ । रक्सौलमा बसेर नेपालमा व्यापार गर्ने दुई जना रक्सौलका व्यापारी पनि कारोबारमा लागेको बताइएको छ ।
कति समातिए जाली नोट कारोबारमा ?
मधेशको सप्तरी, महोत्तरी, सर्लाही, रौतहट र बारामा रहेका केही वाणिज्य बैंक र सहकारीमा समेत जाली नोटको कारोबार हुने गरेको छ । नेपाल प्रहरीले एक वर्षका अवधिमा मधेशका विभिन्न जिल्लामा जाली नोटको कारोबारमा संलग्न ५२ जनलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ । तीमध्ये २ महिला छन् । एक वर्षका अवधिमा प्रहरीले मधेशका ८ जिल्लाबाट २६ लाख ९२ हजार नेपाली नक्कली नोट फेला पारेको छ । भारतका विभिन्न सहरबाट प्रिन्ट गरेर नेपाल भित्र्याएको अवस्थामा प्रहरीले नक्कली नोट बरामद गरेको हो ।
बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार घोडासन र सीतामढीमा नक्कली नोट छाप्ने मेसिन नै राखेर नेपाल पठाउने गरेको सूचनाका आधारमा भारतीय प्रहरीको सहयोगमा संलग्नलाई पक्राउसमेत गरेको बताए । उनले नेपाल प्रहरीले पक्राउ गरेको व्यक्तिलाई भारतीय प्रहरीको जिम्मा लगाएर छोड्नु परेको जानकारी दिए । मकवानपुरमा नक्कली नोटका कारोबारी समातिएको घटनालाई मसिनोसँग अनुसन्धान गरिए नक्कली नोटको कारोबारमा संलग्न अरु सदस्यसम्म प्रहरी पुग्न सक्ने अनुमान गरिएको छ ।






