

डा. लक्ष्मी थापा गुप्ता, डा. गोविन्द बहादुर थापा र इन्दिरा थापाकी छोरी हुन् । कास्कीको पोखरामा विसं. २०३२ असार २१ गते जन्मिएकी लक्ष्मीको बाल्यकाल पारिवारिक मायाममतामा बित्यो । पोखराको महेन्द्र निम्न माध्यमिक विद्यालयबाट विसं. २०४३ मा कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ देखि पढाईलाई निरन्तरता दिन काठमाडौँको पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालय पुगिन् । २०४७ सालमा ७० प्रतिशत अंक ल्याई एसएलसी उत्तीर्ण भइन् ।
बुबा अर्थशास्त्रमा विधावारिधी हुन् भने राजनीतिमा पनि उनको सक्रियता थियो । आमा डा. इन्दिरा नर्सिङमा विद्यावारिधी गरी स्वास्थ्य क्षेत्रमा लामो समय सक्रिय भइन् । लक्ष्मी पनि बाल्यकालमा आमासँग अस्पताल जान्थिन् । आमासँग आउनेजाने गर्दा ‘आमा’ जस्तै स्वास्थ्य क्षेत्रमा योगदान दिन्छु भन्ने कुरा मनमा पलाउन थाल्यो । एसएलसीपछि उच्चशिक्षामा उनले काठमाडौँ युनिर्भसिटी कलेजबाट कक्षा १२ उत्तीर्ण गरिन् । शैक्षिक योग्यता र आमाजस्तै स्वास्थ्य क्षेत्रमा योगदान दिने मनसायमा परिवारका सबैले समर्थन गर्दै प्रोत्साहन पनि पाइन् ।
स्वास्थ्य शिक्षा अध्ययनमै लाग्ने निधो भयो । चीनमा स्वास्थ्य शिक्षा अध्ययन गर्न भाषा अति आवश्यक भएकाले बेइजिङ सहरमा एकवर्ष चिनियाँ भाषा अध्ययन गरिन् सन् १९९५ मा । सौभाग्य नै मानौँ, एमबिबिएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त भयो । मेहनत र परिश्रमले सफलताको बाटोमा पाइला सरिरहँदा सफलताको शिखरसम्मको लामो बाटो सहज बन्दै गयो । त्यहीबेला फेरि नसोचेको दुखःद घटना पनि हुन पुग्यो । दाइको दुर्घटनाको खबरले पूरै परिवार दुःखको कालो बादलमा हराइरहेको थियो । दाइको निधनले मनोबल टुटयो पनि । परिवारले सम्हालिँदै भविष्यको जिम्मेवारी बुझाए । ठुन्छे युनिर्भसिटीमा अध्ययन चलिरह्यो । ‘उसो त अध्ययनक्रममा गाइनोलोजिष्ट (एमडी) को अध्ययन गरिरहेका बेला एमडी सर्जनको अध्ययन गरिरहेका मनोज गुप्तासँग प्रेम सम्बन्धमा गासिन पुगेँ,’ लक्ष्मी भन्छिन्, ‘अन्तरजातीय प्रेम सम्बन्ध भए पनि भविष्यमा परिवारले स्वीकार्य गर्छ भन्ने आत्मविश्वासले त्यो प्रेम सफल बनाउनु थियो र भयो पनि,’ लक्ष्मी भन्छिन्, ‘देश छोडेर एमबिबिएस अध्ययनका लागि विदेश आउँदा केही महिनाअगाडि बुबा डा. गोविन्द बहादुर थापाले छोरी भविष्यमा जीवनसाथी रोज्ने बेला केटा नेपाली र हिन्दू नै हुनु प¥यो भन्नु भएको थियो, त्यो चैँ सम्झिरहेँ ।’बाल्यकालदेखि नै आज्ञाकारी, लगनशील, मेहनती र शिक्षा क्षेत्रमा राम्रो योग्यता प्राप्त भएकाले उनले परिवारबाट हरेक पाइलामा साथ पाइन् । जीवनको निर्णयमा समर्थन पाइन् । एमडी पढाइको दोस्रो वर्ष अध्ययनक्रममा परिवारको सहमतिमा दुवै पक्षबाट उनीहरुको पे्रम स्वीकार्य भयो र धूमधामका साथ टीकाटालो भयो । डा.लक्ष्मी थापा, डा.मनोज गुप्तासँग बाँकी जीवन बिताउने गरी लक्ष्मी थापा गुप्ता भइन् ।

चीनबाट एमबिबिएस÷एमडी पढाई पूर्ण गरी नेपाल फर्किइन् । त्यही साल नेपाल मेडिकल काउन्सिलको परीक्षा पनि उत्तीर्ण भइन् । उनको कडा मेहनतले सफलताको शिखरसम्मको बाटो खुल्दै गए र उनी अघि बढ्दै गइन् । परिवारको मायाममता र साथ त पाएकै थिइन्, त्यसमाथि उनले कडा मेहनत र परिश्रम गरी सफल प्रसूती रोग विशेषज्ञ(गाइनोलोजिष्ट) बन्ने सपना पनि साकार पारिन् ।
सन २००४ को नोभेम्बरमा लक्ष्मी र मनोज वैवाहिक सम्बन्धमा गाँसिए । मनोज तराईको पर्सा, पोखरिया, जगतपुरका हुन् । विवाहपछि कर्मघरमा आइन् लक्ष्मी । बुहारी अन्तरजातीय भए पनि सबैले खुशी र भव्यरुपले स्वागत गरे । ‘पहाडमा हुर्के पनि मधेशको संस्कृतिसँगै परिवारका सबै परम्परा अपनाउँदै गएँ,’ उनले भनिन्, ‘२००५ सम्म काठमाडौँ थापाथलीमा १ वर्ष इन्टरर्नसीप गरेँ, त्यसपछि २००८ सम्म लगनखेलको पाटन हस्पिटलमा काम गरेँ, २००६ मा त आमा भएँ, यसरी नै जिन्दगी चलिरहेको छ ।’
२०६२/६३ को मधेश आन्दोलनका बेला स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलद्वारा स्वास्थ्य मन्त्रालयबाट पर्साको वीरगंज उपमहानगरपालिकाअन्तर्गत नारायणी उपक्षेत्रीय अस्पतालमा नियुक्त भइन् लक्ष्मी । नेपाल सरकारको जागिर पाएर जति खुशी थिइन्, त्योभन्दा बढी उनी दुई वर्षको छोराका लागि चिन्तित थिइन् । ‘एकातर्फ समाज र कामप्रति कर्तव्य अनि अर्कातर्फ सानो छोराको लालनपालनको चिन्ताले मन भारी भइरह्यो,’ उनले भनिन्, ‘त्यतिखेर मधेशको अवस्था पनि तनावग्रस्त थियो । त्यस्तो अवस्थामा पहाडबाट तराईमा सानो छोरा लिएर कसरी जाउँ भन्ने कुरा मनमा खेलिरह्यो ।’
‘मन बुझाउनै सकिनँ, नारायणी उपक्षेत्रीय अस्पताल नजाने जिद्दी गरेर माइत पुगेँ,’ उनले भनिन्, ‘मनको भारी बुबा डा.गोबिन्द बहादुर थापासँग बिसाएँ, बुबाले त काम र समाजप्रतिको जिम्मेवारी र कर्तव्य पालना गर्न सम्झाउनु भयो ।’ अरु बेला झैँ परिवारले मनोबल बढाइदिए लक्ष्मीको । दुईवर्षको नाति माइतमै छाडेर नारायणी अस्पताल जान बुबाको सुझाव आयो । बुबाको कुराले प्रभावित भएर लक्ष्मी झरिन् तराई, वीरगंजमा । काठमाडौँदेखि लामो यात्रापछि वीरगंज आइपुगिन् र राति नै ड्युटीमा दुई गर्भवतीको सफलतापूर्वक अपरेसन गरिन् र सबैको मन जित्ने कोशेढुंगा सावित भयो यो कर्म । ‘सुरुमा त भोजपुरी भाषा बोल्न र बिरामीलाई बुझाउन गाह्रो भयो,’ उनले विगत सम्झिइन्, ‘विस्तारै भोजपुरी बोल्न सिक्दै गएँ र सरल हुँदै गयो ।’

नारायणी उपक्षेत्रीय अस्पतालमा काम गर्दागर्दै विसं. २०१० मा महाराजगंज टिचिङ हस्पिटलबाट १५ दिने टिओटी तालिम प्राप्त गरी यस्तै तालिम नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि आवश्यक ठानेर डाक्टरलाई १५ दिन, एमबिबिएसलाई ७५ दिन र स्टाफ नर्सलाई ६० दिन तालिम दिइन् ।
लक्ष्मीले विसं. २०७६ असोज २७ गते प्रभु हस्पिटल सञ्चालनमा ल्याइन् । सरकारी जागिरसँगै प्रभु हस्पिटलको जिम्मेवारी बढ्दै जाँदा उनले सरकारी जागिरबाट बिदा हुने विचार गरिन् । विसं. २०७८ मा जागिर छाडेर प्रभु हस्पिटलको जिम्मेवारीमा अभ्यस्त छिन् । १२ वर्ष नारायणी उपक्षेत्रीय अस्पतालमा उनको योगदान रह्यो । कास्कीकी छोरी पर्साको डाक्टर बुहारी बनेर लक्ष्मी नर्स, डाक्टर हुँदै अस्पताल सञ्चालकसम्मको यात्रामा खुशी छिन् ।







