
मधेशदृष्टि
वीरगंज ।
समाजवादी मोर्चा, नेपालद्वारा भदौ ८ गते वीरगंजमा प्रदेशस्तरीय आमसभा गर्ने तयारी सुरु भएको छ ।
मोर्चाको बैठकले सातवटै प्रदेशमा आमसभा गर्ने निर्णयअनुसार भदौ ८ गते पर्साको वीरगंजमा गरिने आमसभाका लागि तयारी सुरु भएको हो । समाजवादी मोर्चा, नेपालसम्बद्ध पर्साका दलहरूको मंगलबार बसेको संयुक्त बैठकले भदौ ८ गते मधेश प्रदेशको वीरगंजमा आयोजना गरिने आमसभा तयारीका लागि तयारी समिति बनाउने निर्णय भएको छ । जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा निवर्तमान मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतको विशेष उपस्तिथिमा बसेको बैठकले विभिन्न निर्णय गरेको जसपा जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।
बैठकको निर्णयअनुसार समाजवादी मोर्चा, नेपालले गर्ने सन्देश सभा तथा अन्तरक्रियालाई सभ्य, भव्य र सफल बनाउन आआफ्नो पार्टीका सम्पूर्ण तह र तप्का नेताकार्यकर्तालाई कार्यक्रममा सहभागिताका लागि अह्वान गर्ने निर्णय भएको छ । कार्यक्रमलाई व्यव्स्थित बनाउन जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको संयोजकत्वमा सात सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन भएको छ ।
समितिमा नेकपा एसका जिल्ला अध्यक्ष बालगोपाल थापा, शंकरलाल कर्ण, माओवादीका रामदरश प्रसाद कुश्वाहा, सुरेन्द्र गुप्ता, जसपाका जिल्ला सचिव तबरेज अहमदलगायतका छन् । साथै, कार्यक्रमका सूचना र सन्देश प्रवाह गर्न बुधबार मोर्चासम्बद्ध पत्रकारसँग बैठक बसेर छलफल गर्ने निर्णय भएको छ । बैठकमा माओवादी पार्टीका केन्द्रीय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, रामदरश प्रसाद कुश्वाहा, नेकपा एसका शंकरलाल कर्ण र बृजलाल पासवान, जसपा मधेश प्रदेश उपाध्यक्ष बृजमोहन तिवारीलगायतको उपस्तिथि रहेको जानकारी सचिव अहमदले बताए ।





