हरियो झण्डाले गरेको समृद्धि संकेत

‘रेल्वे सेवा विस्तारमा भारतको सहयोग, अहिले नाफा खोज्ने बेला भएको छैन’

[mashshare]

मुलुकको आर्थिक समुन्नति र व्यापार व्यवसाय प्रवद्र्धनका लागि रेल्वेको महत्वपूर्ण भूमिका हुन्छ, यसको विकास र विस्तारका लागि सरकार प्रतिवद्ध छ ।
प्रकाश ज्वाला
मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

मधेशदृृष्टि
जनकपुरधाम ।
२१ वर्षपछि महोत्तरीको भंगाहा (बिजलपुरा) सम्म रेलसेवा पुनः सञ्चालनमा आएको छ । आइतबार संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हरियो झण्डा फहराउँदै रेलसेवा उद्घाटन गरे ।

जनकपुरधामसम्म रेल सेवा सञ्चालन गरेको १५ महिनापछि रेलसेवा विस्तार गरी भंगाहा स्टेसनसम्म रेल सेवा सञ्चालन गर्न रेल्वे कम्पनी सफल भएको छ ।
निरञ्जनकुमार झा, महाप्रबन्धक, नेपाल रेल्वे कम्पनी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले रेलसेवा विस्तारले नेपाल–भारतबीच थप सुमधुर सम्बन्ध बनेको बताए । ‘रेलसेवा विस्तारले नेपाल र भारत दुवैतर्फका जनताका सामाजिक र सांस्कृकित सम्बन्ध थप मजबुत हुने छ,’ उनले भने, ‘रेल्वे सेवा सञ्चालनले दुवै तर्फबाट आवतजावतमा समेत निर्बाधरुपमा मदत मिल्ने छ ।’

मन्त्री ज्वालाले भारत सरकारले रेल्वे सेवा सञ्चालनमा विभिन्न किसिमको सहयोग गरिरहेको भन्दै अहिले पनि भारतले निरन्रतररुपमा सहयोग भइरहेको बताए । रेल सेवा उद्घाटनक्रममा उनले मुलुकले यातायात क्षेत्रमा फड्को मारेको बताए । बिजलपुरापछि छिट्टै बर्दिबाससम्म र त्यसपछि बाराको निजगढसम्म रेल सेवा विस्तार गर्ने योजना रहेको बताए । उनले निजगढ–काठमाडौँ रेल सञ्चालनका लागि समेत डिपिआर तयार भइसकेकाले रेलको माध्यमबाट त्रिदेशीय सम्बन्ध सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भारतको बथनाहादेखि विराटनगरसम्म छिट्टै कार्गो रेल सेवा सञ्चालन हुने जानकारी दिए । उनले भने, ‘हामी कार्गो रेल सञ्चालनको तयारीमा जुटेका छौँ ।’ उनले थपे, ‘मुलुकको आर्थिक समुन्नति र व्यापार व्यवसाय प्रवद्र्धनका लागि रेल्वेको महत्वपूर्ण भूमिका हुन्छ । यसको विकास र विस्तारका लागि सरकार प्रतिवद्ध छ ।’

त्यस्तै मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले यात्री रेल सेवाले यातायातको क्षेत्रमा सुविधा थपे पनि मुलुकको अर्थतन्त्रलाई टेवा दिन कार्गो रेल सञ्चालनका लागि पनि भारतसँग समन्वय र सहकार्य गरिनु पर्ने बताए ।
त्यसैगरी भंगहा नगरपालिका मेयर सञ्जीव साह तथा रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सेवाको विविध पक्षमा प्रकाश पार्दै यसले समाजदेखि मुलुकसम्म पार्ने प्रभावबारे धारणा राखे ।

जनकपुरधामसम्म रेल सेवा सञ्चालन गरेको १५ महिनापछि रेलसेवा विस्तार गरी भंगाहा स्टेसनसम्म रेल सेवा सञ्चालन गर्न रेल्वे कम्पनी सफल भएको महाप्रबन्धक निरञ्जनकुमार झाले जनाएका छन् । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्र्याक जेठ १८ गते नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

अहिले जयनगर–बिजलपुरा स्टेसनसम्म प्रतिदिन एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी रहे पनि यात्रुको मागअनुसार सेवा थप गर्दै जाने योजना रहेको जनाइएको छ । जयनगर–जनकपुरधाम–कुर्था हुँदै कुल ३५ किलोमिटरसम्म रेलखण्डमा प्रतिदिन दुई पटक रेल्वेसेवा सञ्चालन हुँदै आएको छ । अब जयनगर–बिजलपुरासम्म रेल सञ्चालन हुँदा जयनगर–जनकपुर–कुर्थामा समेत एकपटक सेवा थप हुने रेलवे कम्पनीले जनाएको छ ।

जयनगरदेखि भंगाहा स्टेसनसम्म ५२ किमि रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर खण्ड रेल सेवा सञ्चालनमा आएको छ । बिजलपुरादेखि बर्दिवास खण्डको काम भने अझै अघि बढ्न सकेको छैन ।

रेल सञ्चालन हुँदा स्थानीय खुसी
महोत्तरीको भंगहा(बिजलपुरा)–कुर्था–नेपाल–भारतको सीमावर्ती क्षेत्रअवस्थित जयनगरसम्म रेलसेवा सञ्चालनमा आएपछि स्थानीय खुसी छन् । भंगहा नगरपालिकाको बिजलपुरासम्म रेल सेवा सञ्चालन भएपछि यहाँको व्यापार व्यवसायमा वृद्धि हुनेदेखि पर्यटकीय क्षेत्रसम्म विकास हुने भन्दै स्थानीय व्यापारीदेखि सर्वसाधारण खुसी छन् ।

दुई दशक भन्दा लामो समयपछि रेल सञ्चालनमा आएपछि भंगाहा क्षेत्रमा व्यापक परिवर्तन आउने र यसले सामाजिक तथा आर्थिकरुपमा फड्को मार्ने स्थानीय मनोजकुमार गुप्ताले बताए ।
उनले भने, ‘रेल सञ्चालन भएपछि रेल स्टेसन क्षेत्र वरपर व्यापार विस्तार हुनेछ भने यसले व्यापारसँगसँगै रोजगारसमेत फस्टाउने भएपछि यहाँको विकासले समेत गति लिने छ ।’

त्यस्तै स्थानीय व्यापारी सुनिल चौधरीले रेल सञ्चालन भएपछि स्थानीयस्तरमा उत्पादन भएका विभिन्न सामग्रीहरु सहर लगेर बिक्रीवितरण गर्न सक्ने वातावरण बनेकामा खुसी भए ।

जयनगर–जनकपुरधाम–कुर्था हुँदै कुल ३५ किलोमिटरसम्म रेलखण्डमा प्रतिदिन दुई पटक रेल्वेसेवा सञ्चालन हुँदै आएको छ । अब जयनगर–बिजलपुरासम्म रेल सञ्चालन हुँदा जयनगर–जनकपुर–कुर्थामा समेत एकपटक सेवा थप हुने छ । जयनगरदेखि भंगाहा स्टेसनसम्म ५२ किलोमिटर रेलखण्डमा रेल सञ्चालन हुने छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button