वीरगंजको कृषि र शिक्षामा लगानी गर्न टर्की इच्छुक

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानबीच भेटवार्ता भएको छ ।

भेटमा महानगर प्रमुख सिंहले आफूहरु वीरगंजको शैक्षिक स्तर वृद्धि गर्न लागि परेको भन्दै त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । नगरको सफाइमा आफूहरु सक्रिय भएर लागेको र परिणाम राम्रै देखिएको भन्दै उनले अब शिक्षा क्षेत्रको सुधारका लागि अघि बढेको बताए । शैक्षिक सामग्री, भौतिक संरचना तथा जनशक्ति अभावमा शैक्षिक क्षेत्र सुधारमा केही अवरोध देखिएको भन्दै महानगर प्रमुख सिंहले त्यसका लागि आवश्यक सहयोगको खाँचो रहेको बताए ।

महानगरप्रमुखकै सभाकक्षमा भएको भेटमा समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानले वीरगंजमा आफूहरु कृषि र शिक्षामा लगानी गर्न इच्छुक रहेको बताए । उनले आफूहरु परिणाममुखी काम गर्न तयार रहेको भन्दै महानगरले कृषि र शिक्षामा आवश्यक प्रस्ताव पेश गरे यथाशक्य सहयोग गर्न तयार रहेको पनि बताए ।

यसअघि एजेन्सीले वीरगंज १४ बहुअरीमा पुनःनिर्माण गरेको सुफा आइडियल एकेडेमीको महानगरप्रमुख सिंहले उद्घाटन गरेका थिए । टर्की सहयोग समन्वय एजेन्सीले एकेडेमीलाई आवश्यक शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ । महानगर प्रमुख सिंहसँग भेट गर्न टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख अलीसहित दक्षिण एसिया डेस्क प्रमुख तारिक मेटे, ढाका संयोजक मर्ट बरिस र ओनुर ओजतुर्क आएका थिए । महानगरप्रमुख सिंहले टर्कीबाट आएको टोलीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्नुका साथै मायाको चिनो प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button