मधेशमा दुई मन्त्रीको शपथ तयारी, माओवादीद्वारा असन्तुष्टि

[mashshare]

किरन कर्ण
जनकपुरधाम ।

मधेश प्रदेशमा छ दलीय गठबन्धनको बैठक जारी रहेकै समयमा एक्कासी केही दलका सांसदलाई मन्त्री बनाउन लागेको खबरप्रति नेकपा माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार रातिसम्म चलेको बैठक सकारात्मकरुपमा अघि बढिरहँदा आज पुनः बस्ने भनी गरिएको निर्णयलाई मुख्यमन्त्री सरोजकुमार यादवले बेवास्ता गर्दै मन्त्रिमण्डल विस्तार गर्नु दुःखद रहेको माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

उनले भने, ‘आज बस्ने बैठकबाट मन्त्रालय विस्तारका लागि टुंगो लगाउने कुरा थियो, तर एकाएक कांग्रेस, एकीकृत समाजवादीलगायतका केही साथीलाई मन्त्री बनाई आजै शपथग्रहण गर्ने भएपछि बैठक पनि अन्योलमा परेको छ ।’

‘‘बैठक बसेर लोसपासहितका दललाई पनि मन्त्रालयमा सहभागी गराउँदै अघि बढेको भए सकारात्मक सन्देश पनि जाने थियो, तर यसरी मुख्यमन्त्रीजीले बैठकलाई समेत गरेको ओभरटेक दुःखद हो,’ संसदीय दलका नेता साहले भने ।

आजै कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यसका लागि आज दिउँसो एक बजे शपथग्रहणको समय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोकेको छ ।

तर एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माओवादी केन्द्रसँग कुनै किसिमको सरसल्लाह नभएको बताइएको छ ।

यता लोसपालाई राज्यमन्त्रीका लागि मुख्यमन्त्रीले अफर गरेपनि गठबन्धनको बैठक बसेर मन्त्रालयको विषयमा सहमति जुटाउन आग्रह गरेको लोसपाका नेताले जानकारी दिए । यसले गठबन्धनमा खटपट हुन सक्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button