
मधेशदृष्टि
बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित विक्रम आधारभूत विद्यालयमा प्रअ गुडीकुमारी शर्माकी पति हेमन्त शर्माले नक्कली प्रअ बनी छनौट भइसकेका उम्मेदवारको नाम प्रकाशित नगर्न आफैँले विद्यालय तोडफोड गराएका छन् ।
प्रावि राहतमा लिखित, मौखिक परीक्षामा उत्तीर्ण अजिताकुमारी यादवको नाम प्रकासित नगर्न यस्तो घटना गराइएको हो । यादवको नियुक्ति प्रक्रियामा प्रअलाई पतिले हस्ताक्षर नगर्न दबाब दिइ केही व्यक्तिलाई ल्याएर विद्यालयको पुररानो फर्निचर तोडफोड गराउनुका साथै कागजात पनि हराएको बहाना निकालेर बदमासी गरिएको सफल उम्मेदवार अजिताकी पति चन्द्रमोहन यादवले बताए ।
वैशाख २० गते पत्रिकामा विज्ञापन निकालिएको थियो भने २१ जनाले फाराम भरेका थिए । २० जना परीक्षामा सहभागी भए । २४ गते एक घण्टाको अब्जेक्टिभ परीक्षामा ७ जना उत्तीर्ण भएका थिए । ३ घण्टाको लिखित परीक्षामा तीनजना मात्र उत्तीर्ण भएका थिए । ‘एक नम्बरमा मेरी पत्नीको नाम थियो,’ यादवले भने, ‘मौखिक परीक्षामा पनि अजिता एक नम्बरमा नै नाम लिकाल्न सफल भएकी थिइन् ।’
विद्यालयमा कुनै प्रकारको झैझगडा नभएको भए पनि तोडफोडपछि ३ विद्यार्थीलाई नक्कली बिरामी बनाई वीरगंजस्थित बयोधा अस्पतालमा नाटकीय रुपमा भर्ना गराई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमरामा आफूसहित केही व्यक्तिमाथि निवेदन दिई शिक्षक छनौट प्रक्रिया निस्तेज पार्न खोजेको यादवको भनाइ छ ।
‘बिरामी भनिएका विद्यार्थीलाई १ हजार ७ सयको औषधी, कुर्न गएका कुरुवालाई १७ हजार रुपैयाँको खाजाको खर्च विवरणले पनि प्रष्ट हुन्छ कि बालक घाइते नभइ नक्कली बिरामी बनाएको हो,’ यादवले भने ।
‘प्रावि राहतको सूचना निकाल्न नक्कली प्रअले ४ हजार रुपैयाँ माग गरेपछि लक्ष्मी विकास बैकको खाता नम्बर ०२९१०४००५३७३५४०००००१ बाट पैसा दिएको हुँ,’ उनले भने, ‘मौखिक परीक्षामा अजिताले नाम निकालेपछि हेमन्त शर्माले ४ लाख रुपैयाँ घुस मागेपछि आफुले सो रकम दिन नमानेपछि यस्तो बदमासी भएको हो ।’
उनले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । परीक्षाको अन्तिम नजिता निकाल्नुको सट्टा अतिरञ्जित गर्ने प्रअ गुडी र उनका पति हेमन्तलाई कारबाहीको दायरामा ल्याउन अपिल गरे ।
प्रअ गुडी शर्माको कुर्सीमा समेत पति हेमन्त बसेर हातमा लठी लिई विद्यार्थीलाई पठनपाठन गराउने गरेको बताइएको छ । वडा नम्बर २० का वडाअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष रसुल मिया अन्सारीले विद्यालयमा चन्द्रमोहन पक्षधरले कुनै प्रकारको तोडफोड नगरेको बताउँदै बिगतको दिनमा वडा कार्यालयमा हुलहुज्जत गर्ने, तोडफोड गर्ने समूह नै प्रअ गुडीको श्रीमान हेमन्त शर्माको इशारामा विद्यालय तोडफोडमा उत्रिएको बताए ।
विद्यालयमा स्थायी शिक्षक हुँदाहुँदै राहत शिक्षिका गुडीलाई प्रअ बनाउनु पनि कानुन विपरीत रहेको बताइएको छ । जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख श्यामबाबु प्रसादले २ जना विज्ञ, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र स्वयम् परीक्षामा सरिक भएकामा ४ जनाको टिमले अजिता यादव लिखित र मौखिक परीक्षामा समेत पहिलो स्थान ल्याउन सफल भएपछि प्रअ गुडीले असहमति जनाएपछि रिजल्ट निकाल्नमा असहज भएको बताए ।
प्रअ गुडी शर्मासँग बुझ्दा पतिले ४ लाख रुपैयाँ नमागेको र ४ हजार रुपैयाँ पतिको खातामा आएको स्वीकार गरिन् । लिखित, अब्जेक्टिभ र मौखिक परीक्षामा विज्ञबाट अजितालाई बढी नम्बर प्राप्त भई पास भएको स्वीकार गर्दे मौखिक परीक्षामा विद्यालय व्यवस्थापन समिति अध्यक्षले बढी अंक दिएको प्रअ गुडीले आरोप लगाइन् ।






