
मधेशदृष्टि
जनकपुरधाम ।
मधेशमा दलितमाथि हुदै आएको विभेद अहिले सम्म पनि कम हुन सकिरहेको छैन । आफ्नो शान र रुतवा देखाउनैका लागि कानुन मिचेर गरिबको सम्पती समाप्त गर्ने प्रपञ्च अरु कहि कतै होइन मधेश प्रदेशको राजधानी जनकपुरधाममै भइरहेको देखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा बर्षो देखि फुसको छाप्रो बनाएर जीवन निर्वाह गर्दै आएका एक डुम परिवारलाई उनकै घरका अगल बगलमा रहेका जनकपुरधामका कहलिएका दुइ ठुला घरानाले बाटो फराकिलो बनाउने नाममा आफ्नो महल र जग्गा बचाएर उनको आधा भन्दा बढि जग्गा मिचेर सडक निमार्ण गर्न लगाई पिछडिएका एक डुम परिवारलाई समाजबाटै विस्थापित गर्ने प्रपञ्च गरिरहेको आरोप लागेको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको पछाडीमै रहेको बस्तीमा कुनै समय नगरपालिकाले समाजको रक्षार्थका लागि ८ धुर ३ कनमा जग्गा छुट्याएर बस्न लगाएको थियो । तर त्यहाँ पुस्तौँदेखि फुसको छाप्रो बनाएर दिनेश मलिक डुम बसोबास गर्दै आएका छन् । सामाजिक परम्परा अनुसार हिन्दु धर्मावलम्बीहरुको विभिन्न पर्व, पूजा अर्चना तथा श्राद्धकर्मका लागिसमेत डुम समुदायले बनाएको विभिन्न बांसको समाग्रीले पाप मोक्ष प्राप्तिका लागि प्रयोग गर्ने र समाजको देखभालसमेतको जिम्मा लिने हुनाले डुम समुदायलाई गाउँसमाजमा उनी आफ्नो समुदायका लागि रैथाने राजा नै कहलाउने गर्छन् । जसले गर्दा गाउँसमाजमा विगतमा हरेक समुदायको परम्परागत पेसा अनुसार बसोबास गराइने गरिन्थ्यो भने आफ्नो सीपकला कौशल अनुसार बासले डाला, चंगेलालगायतका विभिन्न सामग्रीहरु बनाएर जीवन निर्वाह गर्दै आएका छन् । समाजमा विगतको तुलना भन्दा अन्य जाती समुदायमा उत्थान भएपनि यस समुदायमा भने उत्थान हुन सकेन । हातका कलासीप र सुंगुर पालन नै डुम समुदायको मुख्य पेसा हो । यस काममा स–परिबारसहित अन्य सदस्य पनि साथ दिने गर्छन् ।
आफ्नो कम आम्दानीबाट पनि खुसी साथ जीवन निर्वाह गर्दै आएका डुम परिवारलाई सडक बनाउने नाममा समाजमा भरभलादमी कहलाउनेहरुले छुवाछुतको नाममा विभेदको शिकार बनाएका छन् ।
कुनैबेला तत्कालिन जनकपुर नगरपालिकाले टोल, समाज सुरक्षाका लागि जानकी मन्दिरको पछाडी बसोबास गर्न लगाएको थियो । भने अहिले समाजमा ठुला मान्छे भनाउँदाहरुले गुठीकै जग्गा अतिक्रमण गरी बसोबास गर्दासमेत टुलुटुलु हेरिरहने जनकपुरधाम उपमहानगरपालिकाले कमजोर निरीहका रुपमा आफ्नो कामप्रति लगनशील रहेका डुम समुदायलाई स्थानीय तहबाटै विभेदको शिकार हुनुपरेको छ ।
सो जग्गाको कुतसमेत तिर्दै आएपनि जनकपुरधाम उपमहानगरपालिकाले भेदभाव गरी धनाढ्यको घर र जग्गा बचाउनका लागि डुमको घर भत्काई उठीबास नै गराउन लागि परेका छन् ।
अहिले उनीहरुलाई सडकमै पुर्याएपछि आफ्नो घर बचाउन दिनैपिच्छे सम्बन्धित निकाय चहारिरहेका छन् । छिमेकी हंसराज मिठाइ पसलका संचालक हंसराज साह र जनकपुरधाम उमपहानगरपालिकाका पूर्व उपमेयर असरगर अलीले आफ्नो घर र जग्गा बचाउनका लागि पैसा र शक्तिको भरमा जम्मा जम्मी आठ धुर रहेको जग्गामा पाँच धुर जग्गा बाटोमै मिसाईदिएपछि उनलाई उठिबास गर्न लागेका छन् । उनको भएभरको जग्गा र घरपनि समाप्त भएको दिनेश मलिक डुम बताउँछन् ।
अहिले उनीहरुलाई सुत्न खान लाउनपनि समस्या भईरहेको छ । घर आँगनमा गाडेको चापाकलपनि बाटोमै गएपछि खानेपानीको समेत समस्या भएको उनले बताए ।
विगतमा सो बाटो बनाउनकालागि सावीकमा रहेको बाटोको वीचबाट आधा आधा दुबै तर्फबाट लिने उपमहानगरपालिको निर्णय गरेको थियो । तर स्थानीय जनप्रतिनिधीकै अगाडी पुलीस प्रशासन लगाएर डोजर चलाएर भएभरको घर भत्काएपछि बाहिर नै सुत्नुपरेको गुनासो समेत गरे । उनले न्याय गरिदिनका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षसंग गुहार माग्दा टुलुटुलु हेर्नु बाहेक कुनै सहयोग नगरेको द ुःखेसो पोखे । उनले भने, ‘पाई पाई जोडेर बर्षौै पहिले जग्गामा घर बनाए र अहिले आएर आफु तल्लो जातमा पनि कमजोर, हेपिएको पिछडिएको गरिब भएकै कारण धनाढ्यहरुले उठीबास गर्न लगाएको प्रपञ्चका अगाडी आफनो घर तोडियो र जग्गा सडकमा मिसाइयो ।’
यता जनकपुरधाम उपमहानगपालिका वडा नम्बर ६ का वडा अध्यक्षका दिनेश प्रसाद साहले जग्गा मिचेको कुरा अस्विकार गरे । सावीक देखि नै सो जग्गा गुठीको रहेको तथा त्याहा पहिले शौचालय रहेको र पछि विग्रेर बन्द भएपछि एक दशक देखि उनीहरुले घर बनाएर बस्दै आएको उनले जिकिर गरे ।
उनले भने,‘मलीकको अझै घर बाटोमा परिरहेको थियो, तर मैले नै समाजिकतामा आएर गरिब मान्छेलाई पनि बस्नुपर्ने बाध्यताका साथ बचाई दिएको हो ।’
दिनेश डुमका हजुर बुवा पुस्ताहरु जनकपुरधाममा घुमिफिरी बसोबास गर्दै आएका थिए । उनको हजुरबुवाहरु अस्थायी बसोबास गर्दै आएपछि तत्कालिन जनकपुर नगरपालिकाका मेयर सुदर्शन लालले जनकपुर नगर टोलको रक्षार्थका लागि बसोबाससहित उनीहरुको जिविकोपार्जनको माध्यम सुंगुर पालन र केही जग्गा कुत तिर्नेगरी उपलब्ध गराइदिएका थिए । त्यसपछि उनीहरु करिब चार पुस्तादेखि जनकपुरधामको जानकीको पछाडी बसोबास गर्दै आएका छन् ।
तर जनकपुरधाम उपमहानगरपालिकाले नै एक्कासी अबैधढंगले आफ्नो निर्णय उल्ट्याउँदै ठुलठुला महल जोगाउनकै लागि समाजमा अति पिछडिएको मानिने डुम समुदायको घर भत्काउनु समाजमा संस्थागतरुपमै विभेद कायम राख्नु अपराध रहेको अधिवक्त कौशलेन्द्र कर्णले प्रतिक्रिया दिए ।






