मधेश र बागमतीमा फैलँदै रात्रीबजार

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज महानगरले सञ्चालन गरेको रात्रीबजारको दोस्रो संस्करण शनिबार सकिएको छ । महानगरले २०७९ चैत मसान्तमा नयाँ वर्ष पारेर तीन दिन रात्रीबजार सञ्चाल गरेको थियो । त्यही बजार सफल देखिएपछि उत्साहित भएर हरेक महिना अन्तिम शुक्रबार र शनिबार वीरगंजमा रात्रीबजार सञ्चालन गरिने निर्णय भएको थियो । सोही अनुरुप दोस्रो संस्करणको रात्रीबजार शनिबार सकिएको हो ।

शुक्रबार र शनिबार लगाइएको रात्रीबजारमा वीरगंज, भारतीय सहर, बारा, पर्सा, रौतहटका अलावा बागमती प्रदेशको हेटौँडा र नारायणगढबाट पनि सहभागिता थियो । ‘रात्रीबजारको दोस्रो संस्करण पनि उत्साहवद्र्धक रह्यो, हामीले सोचेजस्तै सफलता पाइरहेका छौँ,’ महानगरका मेयर राजेशमान सिंहले भने, ‘जनसहभागिता बढ्दो छ, शिथिल अर्थतन्त्रलाई उठाउन यस्ता मेलाहरु सकरात्मक देखिएका छन् ।’ उनले थपे, ‘सिंगो वीरगंज महानगरको टिमको सफलता हो यो, आगामी वर्ष यस्तै जनसहभागितात्मक अरु प्रोजेक्टहरु पनि लिएर आउनेछौँ, जनताको सेवामा हाम्रो टिम अहोरात्र खटिने छ ।’

रात्रीबजारमा वीरगंजका व्यापारिक घराना ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले भने, ‘महानगरपालिकाले प्रारम्भ गरेको रात्रीबजारले व्यावसायिक रुप लिँदै गएको छ, उपस्थिति वृद्धिले वीरगंजको व्यापार व्यवसाय विस्तारमा सहयोग मात्र पुगेको छैन, छिमेकी सहरहरुमा पनि रात्रीबजार चलाउने छलफल र योजना बनेको खबर पाएका छौँ, हामी सबैको उत्प्रेरक हुन पाएकामा गर्व पनि गर्दछौँ ।’

रात्रीबजारमा सर्वसाधारणसँग वीरगंज महानगर प्रमुख राजेशमान सिंह

रात्रीबजारमा स्थानीय उत्पादन, खानाका परिकार, उपभोग्य बजारका अलावा भारतको बंगालबाट मसाज, मेन्दीलगाउने टोली आएर सेवा दिएको थियो । सडकमै मसाज सेवा दिइएको थियो ।

चितवनमा जेठमै रात्रीबजार
चितवन उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाको संयोजनमा चितवनमा पनि जेठ १५ गते रात्रीबजार आयोजना हुने भएको छ ।

वीरगंज रात्रीबजार अनुगमन, अवलोकनमा चितवनबाट आएको टोलीले भरतपुरमा पनि रात्रीबजार सञ्चालनका लागि अनुभव हासिल गरेको छ ।

टोल विकास संस्थाका अध्यक्ष एवम् रात्रीबजार सञ्चालन समितिका संयोजक देवेन्द्र श्रेष्ठले भने, ‘हामी जेठ १५ गते रात्रीबजार लगाउने तयारीमा जुटेका छौँ, निर्धारित समयमै नभए पनि एक दुई दिन तलमाथि होला, तर रात्री बजार लगाउँछौँ ।’ उनले महानगर, संघ, टोल विकास संस्थाका पदाधिकारी र सरोकारवाला समूहले शनिबार बीरगंजको रात्रीबजार अवलोकन गरेर अनुभव लिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button