चोर समात्न चोरकै अभिनय

[mashshare]

‘पीडित मुद्दा प्रक्रियामा नजाँदा चोरी घटनामा संलग्न रहेकाहरु उम्किने र पछि अदालतसम्म मुद्दा गएपछि विभिन्न कारणले प्रमाण अपुग हुँदा प्रहरी पछि हट्नु पर्ने अवस्था आउदा चोरहरुको मनोबल झनै वृद्धि भएको छ, चोरीका घटनाले निरन्तरता पाएको छ ।’

-विश्वराज खड्का, प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय धनुषा

मधेशदृष्टि
जनकपुरधाम ।

धनुषामा केही सातादेखि चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले ‘चोर’को भेषमा चोर समात्ने अभियान चलाएको छ । प्रहरीले चोरीको आरोपमा तीन दर्जनलाई समातिसकेको छ ।

प्रहरी उपरीक्षक विश्वराज खड्काले विभिन्न स्थानबाट चोरीको घटनामा संलग्न ३२ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । बिहीबार प्रहरी उपरीक्षक खड्काले पत्रकार सम्मेलन गरी चोरीको आरोपमा पक्राउ परेकामाथि सार्वजनिक तथा अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।

उनले चोरहरुलाई समात्न जिल्लाभरमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको प्रहरी टोली खटाइएकोसमेत बताए । भने, ‘चोरलाई समात्न प्रहरी नै चोर बनेर पनि खटिएको छ ।’

उनले सानातिना चोरीको घटना वृद्धि भएको स्वीकार्दै भने, ‘चोरीको घटनामा पीडित पक्षले आफ्नो सामग्री पाउन उजुरी मौखिक वा सामान्य उजुरी दिने र पछि चोर समातिएपछि पीडितले आफ्नो सामग्री लिई मुद्दा प्रक्रियाका लागि कारबाही प्रक्रिया अघि नबढाउँदा प्रहरीलाई समस्या भएको छ ।’ उनले थपे, ‘पीडित मुद्दा प्रक्रियामा नजाँदा चोरी घटनामा संलग्न रहेकाहरु उम्किने र पछि अदालतसम्म मुद्दा गएपछि विभिन्न कारणले प्रमाण अपुग हुँदा प्रहरी पछि हट्नु पर्ने अवस्था आउदा चोरहरुको मनोबल झनै वृद्धि भएको छ, चोरीका घटनाले निरन्तरता पाएको छ ।’ प्रहरी उपरीक्षक खड्काले चोरीको आरोपमा पक्राउ परेकालाई सार्वजनिक मुद्दा वा अभद्र व्यवहारको मुद्दा लगाएर भए पनि कारबाही प्रक्रियामा लैजाने गरिएको बताए ।

विभिन्न आरोपमा सात पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरीको घटनामा संलग्न सात चोरलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

चोरी गरेर भाग्दा भाग्दै समातिए
धनुषा प्रहरीले चोरी गरेर भाग्दै गरेको अवस्थामा चोरीको आरोपमा एक जनालाई बुधबार विभिन्न सामग्रीसहित पक्राउ गरेको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ स्थित कपिलेश्वर बस्ने ३५ वर्षीय रञ्जित दास यसरी पक्राउ परेका हुन् ।

बुधबार दिउँसो अन्दाजी साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्हीस्थित बेचु साहको घरमा प्रवेश गरी दराजको ताल्चा तोडी सामान चोरी गरेर भाग्नेक्रममा स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
चोरीको आरोपमा पक्राउ परेका दासले साहको घरबाट सुनको मंगलसुत्र २ थान, सुनको जन्तर १ थान, चाँदीको बाला ४ थान, चाँदीको बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १÷१ थान र चाँदीको ब्रासलेट १ थान चोरी गरेर भागिरहेका थिए ।

उनी प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमा सवार भई भाग्नेक्रममा प्रहरीले पक्राउ परेका हुन् ।

मोटरसाइकल चोरी
बिहीबार मध्यान्ह १२ बज जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट वडा नम्बर–१७ का २१ वर्षीय संजिव राम र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका २८ वर्षीय इन्दल रामलाई प्रहरीले पक्राउ गरेको छ ।

ज.१२ प. ६६० नम्बरको मोटरसाइकल चोरी गरेर लगिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मास्टर किई दुई थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

घरमा मान्छे नभएका बेला चोरी
वैशाख १७ गते राति अन्दाजी १ बजे संकटमोचन मन्दिरपछाडि रहेको मान्छे नभएको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एम्बुस थापेर बसिरहँदा २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्मद राजा खानलाई चोरीको आरोपमा पक्राउ गरेको थियो ।

घरको ताल्चा फुटाई घरभित्र प्रवेश गरी चोरी गर्ने क्रममा उनीहरूलाई घेराउ गरी प्रहरीले नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता गौतमले बताए । यस घटनामा पनि चोरलाई समात्न प्रहरी नै चोर बन्नु परेको थियो ।

चोरीको आरोपमा दुई नियन्त्रणमा
वैशाख २६ गते मंगलबार राति अन्दाजी १२ बजे घरको ताल्चा फोड्ने औजारसहित दुईजना पक्राउ परे । चोरीको आरोपमा पक्राउ पर्नेमा राजकुमार यादव र सोनु सहनी रहेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूको साथबाट हेक्साब्लेड १ थान, पिलास १ थान, फलामको रेन्चु ४ थान बरामद भएको धनुषा प्रहरीका प्रवक्ता गौतमले बताए । यता विभिन्न स्थानमा पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अधिकांश पक्राउ परेका आरोपितलाई पक्राउ गर्ने अभियानलाई तिव्रता दिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button