
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विद्यार्थीबाट १ रूपैयाँ मात्र शुल्क लिएर ट्युसन पढाउँदै आएका धोबिनी गाउँपालिका–१ घोडदौडका समाजसेवी शिक्षक रामाधार राउत कुर्मीको स्वास्थ्य अवस्थाबारे गम्भीर चासो लिँदै कुर्मीको स्वास्थ्योपचार र जीविकोपार्जनको लागि आवश्यक प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन
मधेशदृष्टि
वीरगंज, १९ वैशाख ।
प्रत्येक बालबालिकासँग एक रुपैयाँ मात्र शुल्क लिएर ग्रामीण क्षेत्रका बालबालिकालाई ट्युसन पढाउने पर्सा, धोबिनी गाउँपालिकाका रामाधार राउत कुर्मीको स्वास्थ्य अवस्था नाजुक भएको छ । उनको उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत चिन्ता व्यक्त गरेका छन् ।
पाँच दशकदेखि एक रुपैयाँ शुल्क लिएर गाउँको प्राथमिक तहमा पढ्ने बालबालिकालाई ट्युसन पढाउँदै आएका कुर्मी पछिल्लो समय बिरामी परेका हुन् । पर्साको ग्रामीण क्षेत्रको शैक्षिक अवस्था नाजुक रहेका बेला पाँच दशकदेखि एक रुपैयाँमा टयुसन पढाउँदै आएका कुर्मीको तत्काल स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको नेकपा माओवादी केन्द्रका नेता सलाउद्दिन अहमदले जानकारी दिए ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीबाट १ रूपैयाँ मात्र शुल्क लिएर ट्युसन पढाउँदै आएका धोबिनी गाउँपालिका–१ घोडदौडका समाजसेवी शिक्षक रामाधार राउत कुर्मीको स्वास्थ्य अवस्थाबारे गम्भीर चासो लिनुभएको र कुर्मीको स्वास्थ्योपचार र जीविकोपार्जनको लागि आवश्यक प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिनुभएको छ,’ माओवादी केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले भने, ‘प्रधानमन्त्रीको निर्देशनपछि उनकै गाउँ पुगेर कुर्मीलाई भेटघाट गरी उपचारका लागि वीरगंजको गण्डक अस्पतालमा लिएर आएका छौँ ।’
कुर्मीले ग्रामीण क्षेत्रको शैक्षिक अवस्था माथि उकास्न पु¥याएको योगदानको राज्यले कदर गर्दै उनको उपचारसँगै जीविकोपार्जनको समेत थप व्यवस्था गर्नु पर्ने देखिएको माओवादी नेता अहमदले बताए ।






